s

हरिवनमा ४२२ लाई रोजगार

टंक क्षेत्री

सर्लाहीको हरिवन नगरपालिकामा सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा ४२२ जनालाई नियुक्त गरिएको छ।शनिबार साँझ हरिवन नगरपालिकाको निर्माणाधिन भवन परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख गणेश प्रसाईं लगायतले काममा खटिनेहरुलाई हेल्मेट, ज्याकेट लगायत सन्दर्भ सामग्री प्रदान गरेका छन्। १० दिनसम्म प्रतिदिन ५१७ रुपैंया पारिश्रमिक पाउने गरी उनीहरुलाई खटाईने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए।

‘यसवर्ष ढिलागरी अख्तियारी आएको र नयाँ नयाँ भएकाले कार्यक्रम सुरु गर्न ढिलाई भएको र आगामी वर्षदेखि भने समयमै सूरु गरिनेछ’ ढकालले भने, ‘यसवर्ष २८ लाख मात्र बजेट भएकाले एकहजार ४९३ जनाले फारम भरेपनि ४२२ जनालाई मात्र रोजगार कार्यक्रममा सहभागि गराईएको छ।’उनीहरुलाई नगरपालिका कार्यालय, वडा कार्यालय, नगर भित्रका सामुदायिक विद्यालय तथा विभिन्न सरकारी कार्यालय हातामा वृक्षारोपण गर्न लगाईने ढकालले जानकारी दिए। ढकालका अनुसार अशोक, धुपी, रक्तचन्दन लगायत विभिन्न फूलका विरुवाहरु रोप्न लगाइने छ। रोजगारमा छनौट भएकाहरु अधिकांश महिला रहेका छन् ।

उपप्रमुख रेणुका पौडेलको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समितिकी उपसंयोजक जमुना पौडेल, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो।२० स्थानीय तह रहेको सर्लाहीमा हालसम्म हरिवन सहित दुईवटा नगरपालिकाले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्न सफल भएका छन्। यसअघि बागमती नगरपालिकाले यो कार्यक्रम लागू गरिसकेको छ।

Published on: 29 June 2019 | Nagarik

Back to list

;