s

हरेक घरका युवा विदेशमा

भरत जर्घामगर 

विष्णुपुरकट्टीस्थित खोरिया टोलको मुसहर बस्तीका घरलौरी युवा वैदेशिक रोजगारीमा गएका छन् । यसबाट अति विपन्न सीमान्तकृत समुदायको जीवनस्तरमा सुधार आएको छ । 

खोरिया टोलका श्याम सदाय अढाई वर्षदेखि वैदेशिक रोजगारीमा मलेसिया गएका छन् । त्यसअघि उनको परिवार सुकुम्बासी थियो । उनकी पत्नी मनोगिया सदाय ऐलानी जग्गाको झुप्रामा तीन छोरा, एक छोरीसहित ६ जनाको गुजारा चलाउँथिन् । अहिले भने उनीहरूको अवस्था फेरिएको छ । 

दुईतले टायलले छाइएको काठको घर बनेको छ । वैदेशिक रोजगारीकै कमाइले तीन बिघा धानखेत पनि जोडिएको छ । ‘गाउँमा हुँदा जनवनमा पतिले ४ सय रुपैयाँ रोजी कमाउनुहुन्थ्यो,’ मनोगियाले भनिन्, ‘छाक टार्नै हम्मे पथ्र्यो, अहिले सुखका दिन सुरु भए ।’ उनका सबै सन्तान महँगो स्कुलमा अध्ययन गर्दै छन् । वैदेशिक रोजगारीबाट धनगढी बजारमा पनि तीन धुर जमिन जोडेको उनले बताइन् । मलेसियाबाट आएर एक वर्षअघि कतार गएका गुरुदयाल सदाले पनि घरघडेरी जोडेका छन् । उनले धनगढी बजारमा १० धुर घडेरी र गाउँमा धानखेत जोडेका छन् । 

वैदेशिक रोजगारीमा पति बिदेसिएपछि महिलाहरू गाउँमा समूह गठन गरी बचतसँगै सीपमूलक काममा लागेका छन् । गुरुदयालकी पत्नी श्यामेक्षीले भनिन्, ‘हामी गाउँमा त्यसै बसेका छैनौं, पतिको कमाइलाई जोगाउन खेतबारीको कामबाट बचेको समयमा सिलाइबुनाइ वा बाँसका सामग्री बनाएर बेच्दै घरखर्च चलाएका छौं ।’ तराईका दलितमध्ये मुसहर समुदाय अति विपन्न सीमान्तकृतमा सूचीकृत छन् । खोरिया टोलका ३५ घर मुसहर समुदायको बस्तीका घरलौरी युवा वैदेशिक रोजगारीमा छन् । यसबाट उनीहरूको आर्थिक अवस्था सुधारिएको छ । 

सबै बालबालिका विद्यालय
वैदेशिक रोजगारीबाट आय वृद्धिसँगै खोरिया टोल मुसहर बस्तीमा विद्यालय नजाने बालबालिका भेटिँदैनन् । ‘विदेशमा रहेका पतीले बालबच्चा विद्यालय पठाउन भनेपछि बस्तीमा विद्यालय नजाने बालबालिका नै छैनन्,’ ललिता सदाय मुसहरले भनिन्, ‘त्यसैले सबै बालबालिका पढन जान्छन्, उता विदेशमा पढेको मान्छेले राम्रो काम पाएको सुनाएपछि आफू निरक्षर भए पनि बालबालिका पढाउन थालेका हौं ।’

बस्तीका ३५ जनाभन्दा बढी बालबालिका विद्यालय जान्छन् । बालबालिका विद्यालय जान थालेपछि उनीहरूले बाल क्लब गठन गरी गाउँघर सफा राख्न थालेको उनले सुनाइन् । जनगणना ०६८ अनुसार नेपालमा मुसहरको जनसंख्या २ लाख ३४ हजार ४ सय ९० छ । तीमध्ये सिरहामा ३९ हजार ९ सय २९ जनसंख्या छ ।

Published on: 22 February 2017 | Kantipur

Link

Back to list

;