s

हराएकी छोरी ७ वर्षपछि फेला

होम कार्की

सात वर्षदेखि घरेलु काममा जबरजस्ती लगाइएकी पालुङ्गटार–९, गोरखाकी शान्ता परियारलाई साउदी अरबस्थित नेपाली दूतावासले उद्वार गरी  पठाएको छ । शान्ता २०१० डिसेम्बर ४ देखि साउदीको अल अहासास्थित घरमा काम गर्दै आएकी थिइन् । 

उनी एयर अरेवियाको जहाजमार्फत बिहीबार बिहान ९:२० बजे त्रिभुवन विमानस्थलमा आइपुगेकी हुन्। उनलाई लिन दुई बहिनी, आमा साबित्री र बुवा हस्तबहादुर विमानस्थल पुगेका थिए।
 
‘५ वर्षदेखि छोरी सम्र्पकमा थिइनन्। हामी एकदमै चिन्तित थियौं। के भयो? कसो भयो? जिउँदो छ कि मरेको छ भन्नेमा ठूलो तनाबमा थियौं,’ आमा साबित्रीले कान्तिपुरलाई भनिन्, ‘छोरी सकुशल आइन्। परिवारै खुसी छौं।’
 
७ वर्षपछि मिलन हुँदा परियार परिवार एकदमै खुसी देखिन्थे। ‘घरको काम दुखै हुन्छ। मोबाइल हराएकोले परिवारसँग सम्पर्क थिएन,’ शान्ताले भनिन्, ‘कहिले घर जान पाइन्छ भनेर कुरीरहेको थिएँ।’
 
साहुले नेपाली दूतावासमा राहदानी बनाउनको लागि जाँदा उनको अवस्थाबारे जानकारी पाएको थियो। ‘एमआरपी वनाउन शान्तालाई लिएर साहु दूतावास आएको थियो,’ दूतावासका सचिव विजयकान्त राउतले भने,‘घरको काम गर्नको लागि साउदीमा नेपाली महिला राख्न पाउदैन। नेपाल पठाइदिनु भनेर फिर्ता पठाइएको थियो।’
 
दूतावाससँग घर पठाउने भन्दै कवुल गरेपनि साहुलाई शान्तालाई नपठाइ काम लगाएर राखेको थियो। ‘दुई महिना फेरी राहदानी लिन साहु आयो,’ उनले भने,‘एक वर्ष अगाडि नै पठाउनु पर्नेलाई किन नपठाएको भनेर केरकार गरेपछि १७ जनवरीमा शान्तालाई लिएर कफिल हाजिर भएको हो।’
 
कफिलले उनको बक्यौता तलव १५ हजार ४ सय रियाल, टिकट र एक्जिट पत्र ल्याएर दूतावासमा बुझाएपछि शान्ता नेपाल आउन सम्भब भएको हो। परिवारको सम्पर्क पत्ता लगाउन नेपाली साझा मञ्चले सहयोग गरेको थियो।
 
Published on: 8 March 2018 | Kantipur

Back to list

;