s

हराएको तीन महिनामा भारतमा मृत फेला

प्रतिमा बाँस्कोटा

काठमाडौंबाट ३ महिनाअघि बेपत्ता एक युवकको शव भारतको चण्डीगढमा फेला परेको छ । ललितपुरको लेले घर भएका २२ वर्षीय लव सापकोटाको शव चण्डीगढको किसनगढस्थित एक घरमा फेला परेको हो । पुल्चोकस्थित सुमेरु फाइनान्समा काम गर्ने सापकोटा गत मंसिर ११ देखि सम्पर्कविहीन थिए ।

लेलेस्थित घरबाट हिँडेका उनीसँग परिवारको मंसिर १६ मा अन्तिम फोनसम्पर्क भएको थियो । बुवा रामप्रसादले उनी हराएको प्रहरीमा जाहेरी दिएका थिए । चार महिनासम्म केही खबर नपाएको उनको परिवारलाई शुक्रबार उनी पढ्ने लेलेकै हिलटप कलेजबाट फोन गएको थियो । स्कुलमा भारत चण्डीगढबाट मूल प्रवास अखिल भारत नेपाली समाजका उपाध्यक्ष लक्ष्मण खनालले फोन गरेर सापकोटाको शव फेला परेको र घटनास्थलमा प्रहरीले उनको स्कुलको परिचयपत्र बरामद गरेको खबर दिएका थिए । स्कुलले परिवारलाई जानकारी गराएको थियो ।  

भारतीय दैनिक भास्कर र अमर उज्यालालगायत पत्रपत्रिकाले नेपाली युवकको शव फेला परेको खबर छापेका थिए । त्यही खबर पढेर त्यहाँ रहेका नेपालीहरू मनिमजार प्रहरी थानामा पुगेका थिए । 'नेपालीको शव भेटिएको खबर अखबारमा पढेपछि प्रहरी थानामा सम्पर्क गर्न गयौं,' टेलिफोनमा खनालले भने, 'नेपाली भनेपछि मृतकको परिचयपत्रमा रहेको फोन नम्बरमा सम्पर्क गरेका थियौं ।'

खबर पाएपछि मृतकका परिवार आइतबार बिहान प्रहरी सम्पर्कमा आएका थिए । ललितपुर क्राइम ब्रान्चले शवबारे भारतीय प्रहरीसँग जानकारी र फोटो मागेको थियो । उक्त शव चण्डीगढस्थित किसनगढ इलाकाको एउटा घरमा फेला परेको मनिमजार प्रहरी थानाका सबइन्सपेक्टर धर्मपालले कान्तिपुरलाई बताए । उनका अनुसार घरधनीले कोठाभित्रबाट गन्ध आएको बताउँदै प्रहरीमा जाहेरी दिएका थिए । 'कोठाबाट दुर्गन्ध आयो भनेपछि हामीले गएर ढोका फोडेर हेरेका थियौं,' धर्मपालले टेलिफोनमा भने, 'शव केही दिन पुरानो हो ।'

उनका अनुसार शव बरामद भएको घर जय भगवान् नामका व्यक्तिको हो । ती व्यक्तिले मनिमजारा प्रहरी थानालाई दिएको जानकारीअनुसार उक्त कोठामा सापकोटासहित ३ नेपाली युवक बस्ने गर्थे । तीमध्ये दुई जना केही दिनअघि मात्र नेपाल जाने भन्दै हिँडेका थिए । उनीहरू त्यहाँ बिहेपार्टीमा 'वेटर' को काम गर्थे ।

धर्मपालले मृत्युको कारण थाहा हुन नसकेको जनाए । उनले आफन्त आएपछि मात्रै पोस्टमार्टम हुने बताए । शव जबरलाल नेहरू अस्पतालमा राखिएको छ । शवमा नाक र मुखबाट रगत निस्किएर जमेको छ । अनुहारमा नीलो दाग र सुन्निएको छ ।

सँगै भेटिएको हिलटप हाइयर सेकेन्डरी स्कुलको परिचयपत्रका आधारमा शव सापकोटाकै हुनुपर्ने परिवारले ठानेको छ । तर तस्बिरमा धेरै मोटो व्यक्ति देखिएकाले पहिचान गर्न कठिन भएको पिता रामप्रसादले बताए । 'स्विटर र भित्र लगाएको हरियो रङको टिसर्ट मेरो छोराकै हो,' उनले भने, 'तर यति धेरै मोटो थिएन ।' रामप्रसादले छोरो बेपत्ता हुनुअघि थानकोटसमेत कटेर नगएको उल्लेख गर्दै चण्डीगढ घटनाप्रति विश्वास गर्न नसकिरहेको बताए । 'कपडा र परिचयपत्रले मात्रै हो कि भन्ने लागेको छ,' उनले भने, 'त्यही पुगेपछि मात्र सबै थाहा हुन्छ ।' शव लिन मृतकका बुवा, काका र दाजु मंगलबार त्यसतर्फ जाने भएका छन् ।

Published on: 26 February 2013 | Kantipur

Back to list

;