s

'हराएका चालीस प्रतिशत बालबालिका भेटिन्न'

नेपालमा हराउने कुल बालबालिकामध्ये ४० प्रतिशत बालबालिका नभेटिने गरेको पाइएको छ। खोजतलास तथा समन्वय केन्द्रको तथ्याङ्कअनुसार हराएकामध्ये करिब ६० देखि ७० प्रतिशत बालबालिका मात्र भेटिने गरेका छन्। भेटिएका कतिपय बालबालिका पनि भेटिए भनेर केन्द्रमा जानकारी नआउने गरेका कारण कति बालबालिका भेटिए भन्ने यकिन तथ्याङ्क नभएको केन्द्रले जनाएको छ। हराएका ती बालबालिकालाई कुनै कारखानामा श्रममा लगाएको वा विदेशमा लगेको हुनसक्ने केन्द्रको अनुमान छ।

विसं २०६३ मा तथ्याङ्क राख्न सुरु गरेको अवस्थामा वार्षिक २५/२६ सय बालबालिका हराउने गरेकामा हाल त्यो सङ्ख्या घटेर वार्षिक १५ सयमा झरेको पाइएको छ। परिवारको बेवास्ता, रमाइलो गर्ने चाहना र कामको खोजीमा उपत्यकामा छिर्ने बालबालिकाको सङ्ख्या करिब पाँच हजारको हाराहारीमा रहेको छ। उपत्यकामा छिरेपछि हराउने बालबालिका पनि उत्तिकै छन्।

कतिपय बालबालिकालाई खोज्नका लागि केन्द्रले सञ्चारमाध्यमको समेत प्रयोग गर्ने गरेको छ। केन्द्रका कार्यक्रम अधिकृत भीमविक्रम शाहीका अनुसार सञ्चारमाध्यमसँगको सहकार्यमा हराएको सूचना प्रकाशित गरेर पनि खोज्नेक्रम जारी रहनेछ। त्यसका लागि नेपाल टेलिभिजन र रेडियो नेपालसँग समन्वय गरिने गरिएको छ।

यस्तै बेवारिसे अवस्थामा भेटिएका बालबालिकालाई प्रहरीले उद्धार गरी समन्वय केन्द्रको जिम्मा लगाउने गरेको छ। आकस्मिक उद्धार र परामर्शका लागि भनेर बाल हेल्पलाइन १०४ निःशुल्क टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको छ। २०६३ साल फागुनबाट सञ्चालनमा ल्याएको सो हेल्पलाइनमा पनि बालबालिका हराएमा उजुरी आउने गरेको छ। उक्त हेल्पलाइन सञ्चालनका लागि सरकारका तर्फबाट वार्षिक रु पाँच लाख प्रदान गर्ने गरेको केन्द्रीय बालकल्याण समितिले जनाएको छ। शाहीले भन्नुभयो,- "हामी आकस्मिक सेवा दिन्छौँ, तर जनशक्ति अभाव छ। रकम थोरै छुट्टाएकाले आवश्यक जनशक्ति पुगेको छैन, त्यसैले सेवा त्यति प्रभावकारी छैन।"

बालबालिकाका क्षेत्रमा कार्यरत सिविनले पनि नेपालका पाँच स्थानबाट हेल्पलाइन सेवा दिइरहेको छ। यस्तै आवाज नामक संस्थाले बालहेल्पलाइन सेवा तीन जिल्लामा सञ्चालन गरिरहेको छ भने अन्य पाँच गैरसरकारी संस्थाले पाँच जिल्लामा सेवा दिइरहेका छन्।केन्द्रको आव २०६७/६८ को तथ्याङ्क अनुसार पूर्वाञ्चलबाट ९१, पश्चिमाञ्चलबाट २०७, मध्य-पश्चिमाञ्चलबाट २०० र सुदूर-पश्चिमाञ्चलबाट १०९ गरी कुल दुई हजार २१६ बालबालिका हराएकामा एक हजार ३०५ जना बालबालिका मात्र भेटिएका थिए।

यसैगरी आव २०६८/६९ को तथ्याङ्क अनुसार एक हजार ५७८ बालबालिका हराएकामा ८८० फेला परेका थिए। हराएका बालकको सङ्ख्या ७७४ थियो भने बालिकाको सङ्ख्या ८०४। भेटिनेमा पनि बालकको सङ्ख्या नै धेरै थियो। भेटिएकामध्ये ५०४ बालक र ३७६ जना बालिका थिए।

हराउनेमा विशेष गरी १४ देखि १६ वर्ष उमेरका बालबालिकाको सङ्ख्या बढिरहेको कार्यक्रम अधिकृत शाहीले बताए। काम गर्नसक्ने उमेर भएकाले यो उमेरका बालबालिकालाई ललाइफकाइ प्रलोभनमा पारेर वा डराइधम्काइ गरेरसमेत विभिन्न काममा लगाउने गरेको देखिन्छ। उनका अनुसार कतिपय अवस्थामा भने घरबाट विभिन्न कारणले भाग्ने तर पछि घर फर्कन नसक्ने स्थितिमा ती बालबालिका हराउने गरेकोसमेत देखिएको छ।

Published on: 31 December 2012 | Nagarik

Back to list

;