s

हराएका बालिकाको संख्या बालककोभन्दा दोब्बर

मञ्जु गाैतम

काठमाडौं – चालु आर्थिक वर्षको अहिलेसम्म मुलुकभर एक हजार सात सय १६ बालबालिका हराएका छन्। त्यसमध्ये पाँच सय ४८ जना बालक र एक हजार एक सय ६८ जना बालिका रहेका छन्। बालबालिका खोज तलास समन्वय केन्द्र भृकुटीमण्डपको यो तथ्यांकअनुसार हराउनेमा बालकभन्दा बालिका दोब्बर रहेका छन्।

पछिल्लो ६ महिनामा प्रदेश २ बाट मात्रै चार सय बालबालिका हराएको तथ्यांकमा उल्लेख छ। जसमा बालकको संख्याभन्दा बालिकको संख्या तेब्बर रहेको छ। प्रदेश २ बाट साउन १ गतेदेखि पुष मसान्तसम्म हराएका चार सय बालबालिकामा एक सय ५६ को फेला परेका छन्। तर दुई सय ४४ बालबालिकाको अवस्था बारे केही जानकारी छैन। हराएरमध्ये एक सय ९१ बालिका र ५३ बालकको अवस्था बारे केही टुंगो लाग्न नसकेको खोजतलास समन्वय केन्द्रका इन्चार्ज मोहनबिक्रम दाहालले जानकारी दिए।

हराएका बालबालिका १४ देखि १८ वर्ष उमेरसमूहका रहेको उनले बताए। घरेलु मजदुर, अपराधिक क्रियाकलापमा बालिकाको प्रयोग, बालिका बेचबिखन, इन्टरनेटको दुरुपयोग र यौनजन्य क्रियाकलापमा संग्लन गराउनका लागि बालिका हराउने गरेको केन्द्रको प्रतिवेदनले देखाएको छ। बालबालिका खोजतलास केन्द्रले प्रहरी, केन्द्रीय बालकल्याण समितिलगायतका सरकारी निकायसँग समन्वय गरेर फेला पर्न बाँकी बालबालिका खोज्ने काम गर्दै आएको बताइएको छ।

केन्द्रमा उपलब्ध तथ्यांकअनुसार आर्थिक वर्ष २०६३/६४ देखि चालु आर्धिक वर्षको पुस मसान्तसम्म मुलुकभरबाट २७ हजार दुई सय ९५ जना बालबालिका हराएका छन्। जसमा १२ हजार तीन सय १९ बालक र १४ हजार ९ सय ७६ बालिका रहेका छन्। हराएका मध्ये अहिलेसम्म सात हजार चार सय ३९ बालक र सात हजार एक सय १७ बालिका गरी १४ हजार पाँच सय ५६ बालबालिका फेला परेका छन् भने चार हजार आठ सय ८० बालक र सात हजार आठ सय ५९बालिकाको खोजी भइरहेको समन्वय केन्द्रका इन्चार्ज दाहालले बताए। हराएर फेला पर्नेमा नवजात शिशुदेखि १८ वर्षसम्मका हुने गरेको उनले बताए।

बालबालिका हराएको सूचनाको आधारमा सरकारी निकायसँग समन्वय गरेर बालबालिका खोजतलासको काम गर्ने गरेको इन्चार्ज दाहाल बताउँछन्। ‘परिवारको सम्पर्कमा नभएका बालबालिका दुव्र्यसनमा लागेको अवस्थामा फेला पर्छन,’ दाहालले भने, ‘परिवारको सम्पर्कमा नभएपछि बालबालिका स्वतन्त्र भएर दूव्र्यसमा फसेपछि हामीकहाँ आउन चाहँदैनन्।’ सामान्य रूपबाट सोचेभन्दा फरक ढंगले बालबालिकाहरू सडकमा फेला पर्ने गरेको उनको भनाइ छ।

पछिल्लो ६ महिनामा प्रदेश १ बाट ४४ बालक र एक सय २१ बालिका गरेर एक सय ६५ बालबालिका हराएका छन्। हराएकामध्ये २२ बालक र ५२ बालिकाको फेला परेका छन् भने २२ बालक र ६९ बालिकाको खोजी भइरहेको छ। त्यस्तै बाग्मती प्रदेशमा एक सय २० बालक र एक सय ८५ बालिका हराए। तीमध्ये ६४ बालक र ९७ बालिका फेला परेका छन् भने बाँकीको केही जानकारी छैन।

गण्डकी प्रदेशको तथ्यांकअनुसार ५१ बालक र एक सय ७७ बालिका हराएका छन्। जसमा ३२ बालक र ९१ बालिकाको मात्रै उद्धार भएको छ। बाँकी एक सय चार बालबालिका फेला परेका छैनन्। उक्त तथ्यांकअनुसार गण्डकी प्रदेशमा हराउने बालिकाको संख्या बालककोभन्दा तेब्बर बढी देखिन्छ। प्रदेश ५ मा पनि बालकभन्दा बालिका दोब्बरले हराएका छन्। केन्द्रको तथ्यांकमा प्रदेश ५ मा हराउने बालिकाको संख्या दुई सय आठ रहेको छ।

कर्णाली प्रदेशमा भने हराउने बालक र बालिकाको संख्यामा त्यति फरक रहेको छैन। यहाँबाट ६१ बालक र ६६ बालिका हराएका छन्। तीमध्ये ६९ बालबालिका फेला परेका छन् भने बाँकी ५८ बालबालिकाको खोजबिन भइरहेको छ। सुदूरपरिश्चम प्रदेशमा ९१ बालक र एक सय पाँच बालिका हराएका छन्। तीमध्ये ८१ बालबालिका फेला परेका छन् भने बाँकी एक सय १५ बालबालिकाो खाजी भइरहेको बताइएको छ।

Published on: 3 February 2020 | Nagarik

Link

Back to list

;