s

हराएका कागजपत्रका हकवाला खोज्दै प्रहरी

लोकेन्द्र प्रसाईं
 
कतार फर्कन केही समय बाँकी रहेका बेला लाजिम्पाट-लैनचोरमा यात्राका क्रक्रमा थानकोटकी रमा लामाको राहदानी हरायो । कतारस्थित कम्पनीले दिएको फर्कने टिकटको पनि समय सीमा नाघ्यो । रमा बेचैन भइन् । कतारमै रहेका रमाका श्रीमान्ले फोन गरी उनको राहदानी प्रहरीकोमा रहेको जानकारी गराए । रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयमा पुगेर राहदानी लिएपछि रमाले प्रहरीसँग भनिन्, 'आस नै मारिसकेको थिएँ । अब कतार फर्किहाल्छु ।'
 
सरकारले उपलब्ध गराउने नागरिकता, राहदानी, सवारीचालक अनुमति पत्र, सवारी दर्ता किताबजस्ता कागजपत्र हराएपछि त्यसको खोजी गर्नेभन्दा प्रतिलिपि निकाल्ने चलन बढेको छ । हराएका सामग्री फेला परे पनि सरकारको खोजी गर्ने र सम्बन्धित व्यक्ति वा संस्थासम्म पुर्‍याउने संयन्त्र छैन ।सर्वसाधारणलाई कागजात बनाउँदा दोहोरो आर्थिक भार, सास्ती एवं दुरुपयोग हुने सम्भावना प्रबल हुन्छ । सर्वसाधारणका हराएका कागजपत्र प्रहरीसमक्ष पुग्ने गर्छ । प्रहरीकोमा पुगेका कागजात समन्वय अभावमा प्रहरी 'युनिट' मै थन्कने गरेकोमा त्यसलाई रोक्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले विशेष अभियान थालेको छ ।
 
महानगरीय प्रहरी कार्यालयले कागजपत्रसँग सम्बन्धित व्यक्ति वा संस्था खोजी गरी बुझाउने गरेको छ । यसका लागि राहदानी विभाग, जिल्ला प्रहरी कार्यालय, सामाजिक सञ्जालको सहयोग लिइरहेको छ । 'यसअघि पनि प्रहरीकहाँ हराएका कागजपत्र आउँथे । तर, कागजात प्रहरी युनिटमै थन्किएर बस्थे । निवेदन एउटा प्रहरी युनिट वा कार्यालयमा आउँथ्यो, उनीहरूको सामग्री अर्को कुनै प्रहरी कार्यालयमा हुन्थ्यो । यसकारण ती कागजपत्र अलपत्र हुन्थे, हराएकाहरू अर्को प्रतिलिपि बनाउँथे', महानगरीय प्रहरी कार्यालय, रानीपोखरी प्रमुख डीआईजी बमबहादुर भण्डारी भन्नुहुन्छ, 'हामीले उपत्यकाभित्र रहेका प्रहरी कार्यालयमा बुझिएका कागजपत्र हरेक दिन महानगरीय प्रहरी कार्यालयमा जम्मा गरी कागजपत्रसँग सम्बन्धित व्यक्ति वा संस्थाको खोजी गरिरहेका छौं।'
 
महानगरीय प्रहरी कार्यालयमा केही वर्षअघि नै 'लस्ट एन्ड फाउन्ड' डेस्कको स्थापना गरेको थियो तर उक्त डेस्क प्रभावकारी थिएन । महानगरीय प्रहरी कार्यालयमा निमित्त प्रमुख भएर आउनुभएका डीआईजी भण्डारीले उक्त डेस्कलाई पुनः सक्रिय बनाउनुभएको छ ।
 
हाल डीआईजी भण्डारीको सचिवालयले यो काम गरिरहेको छ । यसमा तीन-चार जनाको समूह दैनिक खटिइरहेको छ । कागजपत्र फेला परेपछि सम्बन्धित व्यक्तिसम्म पुर्‍याउन कागजपत्र जारी भएको जिल्लाको प्रहरी कार्यालयलाई खबर गर्ने र त्यहाँबाट स्थानीय प्रहरी कार्यालयमार्फत सम्बन्धित व्यक्तिसम्म सूचना पुर्‍याउने काम भइरहेको छ । यसैगरी भेटिएका सामग्रीबारे नेपाल प्रहरीको वेबसाइट तथा फेसबुक पेजमा पनि राख्ने गरिएको छ । यसबाहेक राहदानीको हकमा राहदानी विभागसँग सम्पर्क गरी त्यहाँबाट सम्पर्क नम्बर लिएर सम्बन्धित व्यक्तिसम्म कागजपत्रको जानकारी पुर्‍याउने गरिएको छ ।
 
'कागजपत्र हराएपछि प्रहरीलाई खबरै नगर्ने पनि देखिएको छ । हराएकाले प्रहरीलाई खबर गरेमा हामीलाई भेटिएका कागजपत्र बुझाउन धेरै समस्या पर्दैन', प्रहरी निरीक्षक सुन्दर तिवारी भन्नुहुन्छ ।सामान हराएको वा भेटिएकोबारे बुझ्न हटलाइनको पनि व्यवस्था गरिएको छ । ९८५१२९८८८८ नम्बरमा सम्पर्क गरी हराएका कागजपत्रबारे बुझ्न सकिनेछ ।
 
महानगरीय प्रहरी कार्यालयमा दुई महिनायता मात्र पाँच सय ८५ वटा नागरिकता, एक सय ११ वटा राहदानी, ४४ वटा सवारीचालक अनुमतिपत्र, ७४ वटा सवारी दर्ता किताब जम्मा भएको छ । तीमध्ये २७ जनाले मात्र हराएको आफ्नो सामान यहाँबाट बुझेका छन् । उपत्यकाभित्र प्रहरीले यो अभियान चलाए पनि मुलुकका अन्य क्षेत्रमा भने हराएका सामग्री बुझाउने सरकारी चासो देखिँदैन । महानगरीय प्रहरी कार्यालयमा दैनिक दर्जनभन्दा बढी हराएका सामग्री जम्मा हुने गरेको प्रहरी बताउँछन् ।
 
Published on: 14 June 2017 | Annapurna Post

Back to list

;