s

हानिँदै मेघालयतिर

भारतको मेघालयमा १४ वर्ष कोइला काटेर फर्केका साँघुटार ९ का टेकबहादुर प्रधानलाई खानीको कुरा गर्दा दिन बितेको थाहै हुँदैन । ६५ वर्षीय प्रधान कोइला काट्न फेरि मेघालय हिँडे । ज्यान माया मारेर जमिनमुनिको साँघुरो सुरुङमा पसे पनि त्यहाँको वातावरण रमाइलो हुने उनी बताउँछन् । 'गीत गाउँदै र बाजा बजाउँदै पसिना चुहाएर खानीबाट कोइला निकालिरहेका हुन्छन्,' प्रधान भन्छन्, पहिले मलाई पनि डर लाग्थ्यो पछि त सुरुङ नै घरजस्तो लाग्न थाल्यो । त्यसमाथि सल्लाघारीमा कामदारका लागि ठेकेदारले बनाइदिएको पालमुनिको बसोबास झन् रमाइलो हुने उनले बताए । सबै नेपाली भएकाले त्यही छाप्रो आफ्नै टोलजस्तो लाग्छ रे उनीहरूलाई ।

साँघुरो बाटो बनाई जमिनमुनि ८० फिटमुनि पसेर कोइला काट्न नेपालका धेरै कामदार मेघालय र बंगाल पुगेका छन् । कोइला काट्नका लागि जीवनको प्रवाह नगर्ने नेपाली कामदारको कमाइ पनि राम्रै हुन्छ । अरू पेसाभन्दा कोइलामा राम्रो कमाइ हुने भएकाले त्यसैमा बढी आकषिर्त भएका हुन्, प्रधानले भने । कोइलाखानीमा पसेका नेपालीले हरेक दिन घटीमा ८ सय भारतीय रुपैयाँ कमाउँछन् ।

यसका लागि एक जनाले १४ डोको कोइला काट्नुपर्छ । सल्लाघारीको पहाडमुनि सुरुङ बनाएर कोइला काट्नेमध्ये केहीले मेघालयमै ज्यान गुमाइसकेका छन् । पहिले सुरुङमा काम गर्न जमिन अड्याउनका लागि राखिएका कोइलासहितको पहाड काटदै निस्कँदा धेरै दुर्घटना हुने गरेको छ । 'बाहिर निस्कने क्रममा बाँकी झिक्दा ध्यान पुर्‍याएन भने त्यहीँ सास जान्छ,' उनले अनुभव सुनाउँदै भने, कर्‍याककुरुक गरेर पहाड बस्दा सुरुङको वल्लो कुनामा कुदेर आउन सक्नुपर्छ ।

प्रधानमात्र होइन, उनका सन्तानै खानीमा काम गर्न मेघालयमा बसेका छन् । पहिला त थुप्रा थिए अहिले बाकिमैरीका मात्र ३०/३५ जनाले काम गरेका छन् । केही वर्षअघि खासी समुदायले नेपालीको हत्या गरेपछि धेरै छोेडेर देश फर्किएका थिए ।

तर पनि कोइला काटेर धन कमाउने लोभमा नेपाली अझै खासीमा छन् । प्रधानका छोरा वीरबहादुर कोइला कम्पनीका ठेकेदारका रूपमा खासीमै काम गर्दै आएका छन् । त्यहाँ उनको ३ वटा झुल छ । स्थानीय भाषामा कोइला झिक्ने एउटा एरियालाई झुल भनिन्छ । मेघालयको कोइलाखानी भएको इलाकामा खासी समुदायको बसोबास छ । उनीहरू आर्थिक रूपले विपन्न भएकाले कोइला झिक्न लगानी गर्न नसक्ने हुँदा धेरै खानी अर्कालाई भाडामा दिने गरेका छन् । केही नेपालीले खसियाको जग्गा भाडामा लिएर आफैं ठेकेदार बनेर काम लगाउँदै आएका पनि छन् । 

निजी क्षेत्रमा भन्दा सरकारी खानी बढी प्रभावकारी मानिन्छन् । पश्चिम बंगालमा कोइलाको काम गर्दै आएका कठजोरका विनोद अधिकारी निजीको तुलनामा सरकारी कारखानामा काम गर्दा सुरक्षित महसुस हुने बताउँछन् । यस्ता खानीमा कुनै मजदुर दुर्घटनामा परे सरकारले भारु ५० लाखसम्म क्षतिपूर्ति पाउने हुँदा त्यसमा आकर्षण बढी रहेको बताउँछन् ।

जमिनमुनि चट्टानको बीचमा कमेरो खानीजस्तै रहने कोइला कतै ३ र कतै २० फिटसम्म बाक्लो मेसोका रूपमा पाइन्छ । कुनै कुनै जमिनमा खण्डैखण्ड कोइला पाइने हुँदा खानीमा काम गर्न झन् खतरा मोल्नुपर्ने अधिकारी बताउँछन् । एक तलाको काम सकेर फेरि त्यहींबाट अर्को तलामा खोपेर तल जानुपर्ने हुन्छ । त्यस्ता २० तलासम्म पनि कोइला पाइन्छ ।

 Published on: 11 February 2015 | Kantipur

   

Back to list

;