s

गैरकानुनी कामदार फर्किने समय सकियो

- रामचन्द्र गिरी, क्वालालम्पुर
 
गैरकानुनी अवस्थामा रहेका आप्रवासी कामदारलाई स्वदेश फर्किन मलेसियाले दिएको समय बिहीबार सकिएको छ ।
गत जनवरीदेखि डिसेम्बर ३१ सम्मका लागि मलेसियाले उक्त अवसर दिएको थियो । ‘स्वेच्छिक फिर्ती कार्यक्रम’ (थ्री प्लस वान भोलुन्टर्ली डिपोर्टेसन प्रोग्राम) नाम दिइएको उक्त अवसरको सदुपयोग गर्दै १६ महिनायता करिब ४५ हजार नेपाली स्वदेश फर्किसकेका छन् । त्यसरी फर्किनेमध्ये भिसाको म्याद रहेका राहदानी कम्पनीमै छाडेर भाग्नेसमेत छन् ।
कानुनी अवस्थामै रहेका कामदारलाई समेत फर्किन दिइएकामा रोजगारदाता कम्पनीले अध्यागमनसँग गुनासो गर्दै आएका छन् । भागेर घर फर्किने क्रममा केही नेपाली कामदारलाई मलेसियाको अध्यागमनले रोकेका घटना पनि छन् । दूतावासको पहलपछि उनीहरूलाई घर फर्किन दिइएको छ ।
गैरकानुनी कामदार फर्काउन दूतावासले आफैंले व्यवस्था नमिलाउँदा त्यसको बहानामा कतिपय नेपाली दलालहरूबाट चर्को असुली र ठगीमा पर्ने गरेका छन् । दलालको फन्दामा परेर केही नेपाली जेलसमेत परेका छन् । गैरकानुनी कामदार आफैं अध्यागमन कार्यालय पुगेर जरिवाना र आउटपासका लागि तोकिएको रकम तिरी स्वदेश फर्किन सक्छन् । तर, पक्राउ परिने डरले उनीहरूले त्यसो गर्दैनन् । दलालको शरणमा पुग्दा ठगिने गरेका छन् ।
मलेसियामा अझै १० लाखभन्दा बढी गैरकानुनी कामदार रहेको शंका छ । सरकारले त्यो संख्या करिब २१ लाख रहेको बताउँदै आएको छ । अझै करिब १० हजार नेपाली गैरकानुनी अवस्थामा बसिरहेको अनुमान दूतावासको छ ।
उनीहरूलाई फर्काउन मलेसियाले फिर्ती अभियान नै सञ्चालन गर्दै आएको छ ।
पछिल्लो अभियानको म्याद थप्ने/नथप्नेबारे हालसम्म कुनै जानकारी नआएको राजदूत निरञ्जनमान सिंह बस्न्यातले बताए । ‘गैरकानुनी अवस्थामा रहेका नेपालीलाई फर्काउन थप पहल गर्नेछौं,’ उनले भने ।
 
Published on: 3 January 2016 | Kantipur 

Back to list

;