s

गुनासो सुन्न जोहोरबारु पुगेको दूतावासको टोलीलाई कामदारको प्रश्नै प्रश्न

कामदारलाई सहयोग पुग्ने किसिमका कार्यक्रम नेपाली दूतावासले पर्याप्त गर्न नसकेको गुनासो मलेसियाको जोहोरबारुमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिले गरेका छन् ।
 
नेपाली दूतावास मलेसियाले आइतबार जोहोरबारुमा आयोजना गरेको श्रमिक सचेतना अन्तरक्रियामा सहभागी संघसंस्थाका प्रतिनिधिले यस्तो गुनासो गरेका हुन् । श्रमिकको गुनासो सुन्न क्वालालाम्पुरबाट दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेल, श्रम काउन्सेलर बद्रिकुमार कार्की, द्वितीय सचिवहरु विनोद मुखिया र प्रेमराज गौतम लगायतको टोली जोहोरबारु पुगेको थियो । 
 
एनआरएन जोहोरबारु क्षेत्रीय समितिका अध्यक्ष रविलाल अधिकारीले दूतावासले सहयोग गरे आफूहरुले सचेतना कार्यक्रमको संयोजन गर्ने बताउनुभयो । संखुवासभाका चित्रबहादुर थापाले श्रमिक सचेतना कार्यक्रम बढाउन आग्रह गर्नुभयो । 
 
त्यस्तै दूतावास क्वालालाम्पुरमा हुँदा जोहोरबारु जस्ता टाढा रहेका कामदार मर्कामा परेको संघसंस्थाका प्रतिनिधिले बताएका छन् । मलेसियामा व्यवसाय गर्दै आएकी मोरङकी वेदना श्रेष्ठले जोहोरबारुमा पनि दूतावासको सम्पर्क कार्यालय खोल्न आग्रह गर्नुभयो । 
 
श्रेष्ठको भनाईलाई समर्थन गर्दै सहभागीले जोहोरबारुमा दूतावासको सम्पर्क कार्यालय खोलिए कामदार सँगै देशलाई समेत फाइदा पुग्ने बताए । दूतावास क्वालालाम्पुरमा हुँदा अवैधानिक कामदार दूतावास जाने क्रममा पक्राउ पर्ने र दुःख पाउने गरेको पनि सहभागीले गुनासो गरेका छन् । 
 
अन्तरक्रियामा उठेका जिज्ञासाको जवाफ दिँदै कार्यवाहक राजदूत कुमारराज खरेलले सूचना दिने किसिमका कार्यक्रम आउँदो दिनमा आयोजना गर्ने बताउनुभयो । पीडित कामदारले दूतावासमा उजुरी दिए समस्या समाधान गर्न सहयोग गर्ने पनि उहाँले बताउनुभयो । 
दूतावासमा नेपाली कामदारले गरेका सबै उजुरीको समाधान गरिएको खरेलको भनाई छ । जोहोरबारुमा महावाणिज्य दूतावास खोल्न पहल गर्ने पनि उहाँले बताउनुभयो । तत्काल महावाणिज्य दूतावास खोल्न नसकिए अवैतनिक वाणिज्य दूत नियुक्त गर्न सकिने उहाँको भनाई छ । 
 
कार्यक्रममा बोल्दै श्रम काउन्सेलर बद्रिकुमार कार्कीले आफूले पाउने सेवाका बारेमा जानकारी नहुँदा पीडित नेपाली कामदार दूतावास र अन्य वैदेशिक रोजगार सम्बन्धी निकायमा आइनपुगेको बताउनुभयो । 
 
मलेसिया वैध रुपमा बसेपनि श्रमस्वीकृतिको अवधि सकिएपछि नेपालका लागि भने स्वतः अवैधानिक हुने कार्कीले बताउनुभयो । पुनःश्रमस्वीकृति गरेर मलेसिया आउन पाइने भएकाले श्रमस्वीकृतिको अवधि सकिएपछि नेपाल फर्कन उहाँले आग्रह गर्नुभयो । 
 
त्यसैगरी, जाँडरक्सी खाने, धुमपान, लागुऔषधका कारण मलेसियामा दिनहुँ एक जना नेपाली कामदारले ज्यान गुमाउने गरेको तथ्याङ्कले देखाएको छ । दूतावासका द्वितीय सचिव प्रेमराज गौतमका अनुसार काम गर्दागर्दै हुने दुघर्टना, आत्महत्या, क्षयरोग, ग्यासट्राइसिस, निमोनिया जस्ता दीर्घरोग, सडक दुघर्टनाका कारण कामदारको ज्यान जाने गरेको हो । 
 
चेतना तथा जानकारीको कमीका कारण खानपिन, लामो समय काम गर्दा आराम नहुने, शरीरमा पानीको मात्रा कम र जाँडरक्सीको मात्रा बढी हुने कारण हृदयघात र मुटुसम्बन्धी हुने रोग बढेको उहाँले बताउनुभयो । 
 
Published on: 18 February 2018 | Ujyaaloonline

Back to list

;