s

गृहले भन्यो- भिजिट भिसामा विदेश गएर काम नगर्नू, स्थानीय तहले पनि विदेश जानेको अभिलेख राख्नू

काठमाडौं : गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर श्रम नगर्न आग्रह गरेको छ। गृह मन्त्रालयले विदेशमा रोजगारीका लागि जाने नेपालीहरुले सम्बन्धित निकायबाट प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेरमात्र जान आग्रह गरेको हो।

भिजिट भिसामा विदेश गएर काम गर्दा बिमा, क्षतिपूर्ति, राहतलगायतका सुविधाबाट वञ्चित हुने भएकाले अलपत्र परेका नेपालीहरुलाई उद्दारमा समेत कठिनाइ हुने गृहले स्पष्ट पारेको छ।

गृहले बुधबार विज्ञिप्त जारी गर्दै स्थानीय तहले समेत आफ्नो क्षेत्रभित्रका नागरिक विदेश भ्रमण वा रोजगारीका सिलसिलामा जाँदा त्यस्ता व्यक्तिहरुको अभिलेख राख्न आग्रह गरेको छ।

गृहले भिजिट भिसामा विदेश जानेहरुले घुम्ने प्रयोजनमात्र बनाउनुपर्ने र भिजिट भिसाको प्रयोग गरी श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न आग्रह गरेको छ।

भिजिट भिसामा खाडीलगायत अन्य मुलुक पुगेका नेपालीहरुले श्रम गर्न थालेपछि समस्यामा परेका छन्। गैरकानुनी रुपमा भिजिट भिसामा रोजगारका लागि खाडी पुगेका हजारौं नेपालीहरुले दुःख व्यहोर्न बाध्य भएका छन् भने कतिपय अलपत्र परेका छन्।

गैरकानुनी ढंगले विदेश गएर दुःख पाएका नेपालीहरुको उद्दार गर्नसमेत कठिनाइ हुने गृहले स्पष्ट पारेको छ।

Published on: 28 July 2022 | Annapurna Post

Link

Back to list

;