s

ग्रिनकार्ड/पीआर लिएका अधिकारीले दिए राजीनामा

ग्रिनकार्ड र स्थायी आवासीय अनुमति (पीआर) लिएका तीन सरकारी अधिकारीले राजीनामा दिएका छन् । वन मन्त्रालयका सहसचिव एवं वनस्पतिविज्ञ डा. खेमराज भट्टराई, मन्त्रालयकै उपसचिवद्वय आनन्द भण्डारी र तुलसीराम शर्माले राजीनामा दिएको स्रोतले जनायो । 
 
डीभी र पीआर लिएका कर्मचारीलाई बर्खास्तसम्म गर्ने नयाँ कानुनी व्यवस्था आएपछि निजामती प्रशासनका सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृत, नायब सुब्बालगायतले राजीनामा दिन थालेका हुन् । सहसचिव भट्टराईसँग क्यानडा र भण्डारीसँग बेलायतको पीआर छ भने शर्मासँग अमेरिकाको ग्रिनकार्ड छ । शर्मा केही समयअघि मात्र अमेरिकाबाट फर्किएका थिए । भट्टराई मन्त्रालय मातहतको तालिम प्रमुख थिए भने भण्डारी मन्त्रालयको वैदेशिक समन्वय महाशाखा र शर्मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा योजना तथा व्यवस्थापन शाखामा कार्यरत थिए । 
 
वन मन्त्रालयकै प्रशासन महाशाखा प्रमुख सहसचिव किरणराज शर्माले भने केही दिनअघि अमेरिकाको ग्रिनकार्ड त्यागेका छन् । डीभी र ग्रीनकार्डवाला कर्मचारीले घरायसी तथा स्वास्थ्य समस्यालाई कारण देखाएर राजीनामा दिने गरेका छन् । केही दिनअघि अर्थ मन्त्रालयका राजस्व सचिव नवराज भण्डारीले राजीनामा दिएर अमेरिका गएका थिए । 
 
सहरी विकास मन्त्रालयका सहसचिव महेन्द्र सुब्बाले समेत ग्रिनकार्डकै कारण राजीनामा दिएका छन् । करिब एक महिनाअघि निजामती सेवा नियमावली २०४९ चौथो संशोधन गरी विदेशको ग्रिनकार्ड, डीभी र पीआर लिएका कर्मचारीलाई बर्खास्त गर्ने व्यवस्था गरिएको छ ।
 
Published on: 16 August 2015 | Kantipur
 

Back to list

;