s

गोर्खा भर्तीबारे समितिको अर्घेलो

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिको बैठकले ब्रिटिस सेनामा नेपालका महिलालाई भर्ती नलिन र भर्ती भइसकेकाको हकमा उनीहरूलाई फिर्ता गराउन सरकारलाई निर्देशन दिएको छ । समितिकी सभापति पवित्रा निरौला खरेलको अध्यक्षतामा बसेको बैठकले जारी गरेको यो निर्णय आफैँमा नेपालको राजनीतिक इतिहास, गोर्खा भर्ती र त्यसका परम्परा, नेपाल सरकार र ब्रिटिस सरकारबीचको सम्बन्धको गहिराइमा नपुगी गरिएको अनर्थपूर्ण निर्णय बन्न पुगेको छ । त्यसमाथि भर्ती परम्पराका कारण हरेक वर्ष ब्रिटिस गोर्खामा भर्ती हुने युवकलाई भर्ती हुन नरोक्ने तर उही प्रक्रियाबाट जाने युवतीलाई भर्ती हुन नहुने या भइसकेकाले समेत फिर्ता हुनुपर्ने निर्णय महिला अधिकारका दृष्टिले विभेदपूर्ण पनि देखिन्छ ।

गोर्खा भर्ती उपनिवेशकालीन ब्रिटिस साम्राज्य र नेपालबीचको असमान सम्बन्ध सम्झाइरहने एउटा परम्परा हो । सन् १८१५ देखि थालनी भएको गोर्खा भर्तीको इतिहासमा लाखौँ नेपाली युवाले बेलायती साम्राज्यको सेवा गरेका छन् । अहिले साम्राज्यबाट खुम्चिएर राज्य मात्र रहेको बेलायतले नेपालबाट युवा श्रमशक्तिको आपूर्तिमार्फत आफ्नो सेनामा आवश्यक जनशक्ति पूर्ति गर्ने काम गरिरहेको छ ।

पछिल्लो समय ब्रिटिस गोर्खाले पाउने सुविधालाई ब्रिटिस समकक्षीसरह बनाउन केही पहल भएको भए पनि लामो समयदेखि गोर्खाको सेवा खरिद गर्ने बेलायती परम्परामा सस्तो श्रम खरिद नै मुख्य पक्ष रहेको थियो । एकातिर त्यसले नेपाललाई अर्धउपनिवेश बनाइरह्यो अर्कातिर लाहुरे परिवारमा मात्र होइन, समग्र नेपालमा लाहुरे हुनुलाई एउटा परम्परा र संस्कृतिका रूपमा हुर्कन मद्दत ग-यो ।

गोर्खा भर्तीको परम्परा रोक्ने बहस थाल्नुपर्ने वेलामा युवतीलाई मात्र रोक लगाउन खोज्नु कुनै अर्थमा पनि सान्दर्भिक देखिँदैन । उद्योगी व्यापारीका सन्तानले आफ्नो पुख्र्यौली पेसा धानेर उद्योगपति व्यापारी बनेजस्तो लाहुरेका अधिकांश सन्तान पनि लाहुरे नै हुने बाटो रोजे या अर्थ राजनीतिक संरचनाको थिचोमिचोमा परेर त्यस्तो पेसालाई अपनाउन बाध्य भए । अहिले समय बदलिएको छ । यस्तोे भर्तीबाट भारत र बेलायतसमेतमा गरी ४० हजारजति युवाले रोजगारी पाउने गरेका छन् । पछिल्लो समय केही संख्याका नेपाली फ्रेन्च सेनामा पनि भर्ती हुने गरेको पाइन्छ ।

अरू देशका सेवामा जान कुनै कानुनी सम्झौता भएको छैन, भारत र बेलायतमा जाने परम्परालाई भने नेपालसहित तीन देशबीच सन् १९४७ मा भएको सम्झौताले स्वीकृति दिएको छ । यो परम्परा आफैँमा नेपालका लागि एउटा बोझ हो भने युवा जनशक्तिका लागि एउटा अवसर पनि हो ।

यही परम्परामा पछिल्लोपटक बेलायती सरकारले गोर्खा भर्तीमा युवतीलाई पनि सामेल गर्ने निर्णय ग-यो । केही संख्यामा नेपाली युवतीले बेलायती सेनामा भर्ती भएर सेवा गरिरहेका छन् । यसले गोर्खा भर्तीको कारण समाज र परिवारमा रहेको पुरुष नियन्त्रित शक्ति सम्बन्धलाई भत्काएको छ । महिलाले आफूहरू सशक्त भएको महसुस गरेका छन् ।

शक्ति सम्बन्धका दृष्टिले नेपाललाई उपनिवेशको निरन्तरताको झल्को दिने गोर्खा भर्र्ती बन्द हुनुपर्छ भन्ने माग उठिरहेको भए पनि जहिलेसम्म बन्द हुँदैन, तहिलेसम्म भर्ती भएर जानेहरूको हकहितको सुरक्षाबारे नेपाल सरकारले चासो देखाउनु जरुरी हुन्छ । भर्तीको परम्परा रोक्ने बहस थाल्नुपर्ने वेलामा युवतीलाई मात्र रोक लगाउन खोज्नु कुनै अर्थमा पनि सान्दर्भिक देखिँदैन ।

Published on: 19 February 2019 । Nayapatrika

Back to list

;