s

गोरखा भर्ती र राष्ट्रियता

अभय श्रेष्ठ

बन्दै गरेको गोरखा स्मारकको ढिस्कोमा उभिएर उनले भने, 'यहीँ उभिएर संसारले सुन्ने गरी हामी हाम्रा पितापुर्खाको रगत, आँसु, पसिना र हाडमासुको हिसाब माग्नेछौँ। अनि सोध्नेछौँ, 'मारिएका हाम्रा पितापुर्खाको हिसाब देखाउन तिमीहरूलाई केले छेक्यो?' गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष पदमबहादुर गुरुङले चस्मा फुकाले मानौँ उनी नांगा आँखाले बेलायत र नेपालका दुवै सरकारलाई चुनौती दिन चाहन्थे।

स्याङ्जाको फेदीखोला–८, सोल्मेडाँडाको ३ सय रोपनी जमिनमा गोरखा स्मारक निर्माणको महत्त्वाकांक्षी योजनामा लागेको गेसो मारिएका ६० हजारभन्दा बढी गोरखाली सेनाको 'आत्मा' लाई शान्ति दिन चाहन्छ। तिनको सम्झनालाई सदा जीवित राख्न चाहन्छ। अनि गोरखा सेनामाथि भएको अत्याचारको कथा संसारलाई सुनाउन चाहन्छ। 

बन्दुकको सिरानी
प्रथम विश्वयुद्धअघि नेपाल सबै हिसाबले समृद्ध थियो। त्यति बेला यहाँको जनसंख्या मात्र ५० लाख थियो। त्यसै बेला बेलायती साम्राज्यको रक्षा र विस्तारका लागि कुल जनसंख्याको झन्डै २५ प्रतिशत नेपाली युवालाई विश्वयुद्धको चारो बनाउन जबर्जस्ती बृटिस सेनामा भर्ती गरियो। बेलायतको प्रलोभनमा परेर र परिवर्तनको अभियानमा झर्झराउँदा तन्नेरीको सम्भावित सहभागिताबाट तर्सेर राणा शासकहरूले अर्काको स्वार्थका लागि तिनलाई युद्धको मुखमा धकेलिदिए। फलतः ती आफ्नै माटोसँग बेखबर भए। त्यो राष्ट्रियता विरोधी शृंखलाले २ सय वर्ष पूरा गर्दैछ। तैपनि नेपाल सरकार कानमा तेल हालेर पामर मुद्रामा चुपचाप छ।

सुगौली सन्धिपछि राणा शासकहरूले राई, लिम्बु, गुरुङ, मगरलाई बेलायती सेनामा भर्तीमा पठाउन सुरु गरेका थिए। नेवार व्यापारी वर्ग। क्षत्री–बाहुन शासक र पुरोहित वर्ग। तामाङ शासकहरूका भरिया। बेलायतलाई सुरा लडाकु चाहिएको थियो। फेला परे यिनै मतुवाली मंगोल जाति। परिणाम के भयो भने यी जातिमा लाहुर जानु, अरुका लागि ज्यान अर्पण गर्नु, बाँचे पनि अंगभंग भएर फर्कनु गौरवमय परम्पराका रूपमा विकसित भए। यिनका असली गौरवमय सांस्कृतिक विविधताचाहिँ ओझेल पर्‍यो। 

त्यसरी धपाइएका गोरखाली सेनाको हैसियत बँधुवा मजदुरको जस्तै थियो। संसारले तिनको निधारमा भरिया सेना (मर्सिनरी) को कलंक टाँसिदियो। तैपनि तिनले भारतको सिपाही विद्रोह दबाए। पहिलो र दोस्रो विश्वयुद्धसँगै फकल्यान्डलगायत् अनेकौँ क्षेत्रीय युद्ध लडे। ती सबै युद्धमा नेपाली युवालाई मानव ढालका रूपमा अग्रिम मोर्चामा खटाइयो। बेलायती सेना तिनको छायाँ बनेर सधैँ सुरक्षित स्थानमा रह्यो। हजारौँ गोरखाली सेनाको बलिदानी र अंगभंगको मूल्यमा नाजीवादी, फासीवादी र अनेकौँ सैन्यवादी शक्ति पराजित भए। संसारले शान्ति पायो। बेलायत संसारकै शक्तिशाली देश बन्यो। युद्ध सकियो। घाइते र अंगभग भरिया सेनाको प्रयोजन पनि सकियो। आफ्नो देशको शान बढाइदिने र साख जोगाइदिने गोरखाली सेनालाई बेलायती सेनासरह सुविधा र सम्मान दिनुको साटो बेलायतले तिनलाई खाली हात भारतको सिमानामा ल्याएर छाडिदियो। घाइते सैनिकसँग घर फर्कने खर्चसमेत भएन। संसारलाई थाहा छ, बेलायती समृद्धि तिनकै आँसु, पसिना, रगत र हाँडमासुको जगमा उभिएको हो। बदलामा तिनले सर्वस्व गुमाए। 

आफ्नो स्वार्थ र समृद्धिका लागि कति गोर्खा सैनिक मारिए? कति घाइते र बेपत्ता भए? बेलायतले उसका लागि यसरी छाती थापिदिने गोर्खाको स्थिति सार्वजनिक गर्नुसमेत जरुरी ठानेन। प्रस्ट थियो, त्यो सार्वजनिक गर्दा कानुनअनुसार गोरखाली सेनालाई पनि बेलायती सेनासरह क्षतिपूर्ति दिनुपर्ने हुन्थ्यो। त्यसका लागि ऊ तयार भएन किनभने ती त भरिया सेना थिए।
वैधता सकिएको भर्ती

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले कानुनी लडाइँ नलडेको भए अहिले पाइरहेको पेन्सन पनि गोरखाली सेनाले पाउने थिएनन्। टोनी ब्लेयर सरकारले सन् २००४ सेप्टेम्बर ३० मा सन् १९९७ जुलाई १ पछि सेवानिवृत्त गोरखाहरूलाई मात्र आवासीय भिसा र नागरिकताको सुविधा दिने घोषणा गर्‍यो। यसविरुद्ध परेको मुद्दामा बेलायतको अदालतले सन् २००८ सेप्टेम्बर ३० मा आदेश दियो, 'सबै गोरखालाई बेलायतको आवासीय भिसा देऊ।' सोही फैसलाले नेपाल–भारत–बेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौतासमेत खारेज गरिदिएको थियो।

गोरखा सैनिक र तिनका परिवारलाई बेलायत जान दिए पनि बेलायत सरकारले अर्को कपटपूर्ण तरिका अँगाल्यो। उसले गोरखा सैनिकका १८ वर्षमाथिका सन्तानलाई अत्यन्त महँगो शुल्क २ लाख ६८ हजार ४ सय रुपियाँ असुलेर आवेदन लिने तर भिसा नदिने, भिसा नदिएबापत रकम पनि फिर्ता नगर्ने नीति अँगाल्यो। त्यसविरुद्ध गेसोले हालेको मुद्दामा २०१३ जनवरी २१ मा बेलायती अदालत 'कोर्ट अफ अपिल द मास्टर अफ द रोल्स' ले गोरखा सैनिकका १८ वर्षभन्दा माथिका सन्तानलाई पनि बेलायत जाने ढोका खुलाउन आदेश दियो। आफ्नै अदालतको निर्णय कार्यान्वयन गर्न बेलायत सरकारले चासो दिएको छैन। त्यसविरुद्ध तीनबुँदे मागसहित गेसो आन्दोलनरत छ।

इतिहासकार सुरेन्द्र केसीका अनुसार सन् १८१४–१८१६ मा नेपाल–अंग्रेजबीच भएको लडाइँमा नेपालको पराजयपछि बन्दी नेपाली योद्धाबाट गोरखा भर्ती सुरु भएको थियो।  नेपाल सरकारको अनुमतिबिनै बेलायतले भर्ना थालेको थियो। सन् १८८५ मा नेपाल सरकारसँग स्वीकृति लिइएको थियो। तैपनि वैधता देखिने कुनै सम्झौता भएको थिएन। सन् १९४७ मा भारत स्वतन्त्र भएपछि नेपाल–भारत–बेलायतबीच भएको त्रिपक्षीय सम्झौताले भर्तीलाई औपचारिक मान्यता दिएको थियो। सन् १९५३ मा प्रत्यक्ष सम्झौता भएपछि यो प्रत्येक पाँच वर्षमा नवीकरण हुनुपर्थ्यो। त्यसयता दुईपटक नवीकरण भएपछि यो बेवारिस छ। 

बेलायती अदालतले त्रिपक्षीय सम्झौता खारेज गरिदिएपछि गोरखा भर्तीको वैधानिकता सकिएको छ। तैपनि यो रोकिएको छैन। सम्भावित युद्धको बलिका बोका बनाउन बेलायत र भारतले गोरखा रेजिमेन्ट खोलेर वर्षेनि गोरखा भर्ती जारी राखेको छ। भर्तीमा युवा आकर्षण उर्लँदो छ। राई, लिम्बु, गुरुङ, मगर समुदायमा लाहुर जानु गौरवमय परम्पराका रूपमा स्थापित छ। आज यसमा अन्य जातिको पनि आकर्षण बढ्दो छ। 
बन्धकमा राष्ट्रियता हो, गोरखा भर्ती नेपाली विप्रेषणको प्रमुख स्रोतमध्ये एक हो। तर, यसले हाम्रो देशलाई नै 'काट्टो अर्थतन्त्रमुखी' बनाइदिएको छ। त्यसभन्दा आपत्तिजनक कुरा, पराई देशमा सैनिक सेवाले राष्ट्रियतामाथि नै औँला ठड्याउँछ। सम्भावित युद्धका लागि भारत र बेलायतले नेपालमा गोरखा रेजिमेन्ट खोलेर वर्षेनि भर्ना लिइरहेका छन्। त्यसमा नेपाल सरकार कुनै पनि हिसाबले संलग्न छैन। सन् १९४७ को त्रिपक्षीय सन्धि खारेज भइसकेकाले गोरखा भर्तीको वैधता बाँकी छैन। यस हिसाबले नेपालले सेना निर्यात गरेको होइन, बेलायत र भारतले मनखुसी लगिरहेको मात्र हो। यसलाई नरोकेर नेपाल सरकार के हेरिरहेको छ? भविष्यमा नेपाल–भारत वा नेपाल–बेलायत युद्ध भएछ भने गोरखाली सेनाले के गर्लान्? प्रस्ट छ, उनीहरू ठूलो धर्मसंकटमा पर्नेछन्। शपथअनुसार तिनले नेपालीविरुद्ध लड्नुपर्नेछ। इमानदारीपूर्वक लडे पनि तिनको विश्वसनीयतामाथि भने ती देशले सदैव औँला ठड्याउनेछन्। त्यसैले त जति तीतो लागे पनि हामी भूपी शेरचनको कविताको यो अंश सापटी लिएर लाहुरे परिवारलाई सोध्न बाध्य छौँ–

अरुको हाहामा लागेर
अरुको थपडी र नाराले जागेर
अरुले ख्वाएको जाँड र कटले मात्तिएर
'आयो गोर्खाली' भन्दै
(गोरु खालि बन्दै)
युद्धमा हाम्फालेर 
ती मरेका लोग्नेहरूको पेन्सनले
आफ्नो छोराको पास्नी गर्ने ए अभागिनी स्वास्नीहरू!
ती मरेका छोराहरूको आर्जनले आफ्नै चौरासी पूजा गर्ने
ए बूढाबूढीहरू!
ती बितेका साथीहरूका जर्सी लगाएर
रोदीमा सोल्टी फकाउने ए तन्नेरी मान्छेहरू हो!
ती मरेका प्रेमीहरूका कोसेली चुरा लाएर
डोलीमा बस्ने ए बेहुली जेठी–कान्छीहरू हो!
खुबै सुहाएको छ तिम्रो छातीमा
यी तक्मा परम वीरचक्र र भिक्टोरिया क्रसको
तर के आउँदैन यसबाट कहिलेकाहीँ
ओस्सिएको गन्ध तिम्रो आफन्तहरूको लासको?

Published on: 11 July 2013 | Nagarik

Back to list

;