s

गोविन्द मैनाली अन्ततः निर्दोष

देवेन्द्र भट्टराई

युवती हत्याको अभियोगमा १५ बर्षसम्म अनाहकको जेल सजाय बेहोर्ने नेपाली गोबिन्दप्रसाद मैनालीलाई जापानको उच्च अदालतले 'सम्पूर्ण रुपमा निर्दोष' रहेको भन्दै अन्तिम न्यायिक फैसला सुनाएको छ ।

मैनाली 'पूर्णत निर्दोष' रहेको भन्दै मुद्धा फिर्ता लिनेबारेको सरकारी वकिलको निवेदन गत सोमबार उच्च अदालतमा प्रस्तुत भएपछि बुधबार बिहान बसेको अदालती इजलासलेे यो मुद्धामा अन्तिम फैसला सुनाएको हो । 'सत्यका पक्षमा एकदिन फैसला आउनेछ, न्यायको जित हुन्छ भन्ने विश्वासमा म अडिग थिए',मैनालीले आफ्ना पक्षमा आएको फैसला सुन्नासाथ संखमुलस्थित निवासमा कान्तिपुरसग भने । निवास परिसरमा आएका दुइ दर्जनभन्दा बढी जापानी र अन्य संचारकर्मीलाई बिजयको अभिभावदन गर्दै मैनालीले 'यो जित सम्पूर्ण नेपाली प्रतिष्ठाको जित' भएको बताए ।
 
यो फैसलापछि मात्रै मैनालीले बेहोरेको अन्यायपूर्ण जेल सजायका बिरुद्धमा क्षतीपुर्ती प्रकृया थालिने भएको छ । अबको प्रकृया टुङ्गनि कम्तिमा एक बर्ष लाग्ने जानकारले बताएका छन् । 'झण्डै एक घण्टासम्म अदालती प्रकृया पुरा गरेपछि बुधबार बिहान ११ बजेर ३२ मिनेटमा गोबिन्द निर्दोष रहेको फैसला सुनाइएको छ,'टोकियोबाट गोबिन्द सहयोग समितिका सदस्य राजन प्रधानाङ्गले कान्तिपुरसग भने । आजै टोकियोस्थित बार एशोसिएन कक्षमा फैसलाबारे पत्रकार सम्मेलन गर्न लागिएको जानकारी दिंदै उनले गोबिन्दमाथि भएको अन्यायमा न्यायिक तहबाट केही नबोलिएको र क्षमायाचना नगरिएकोमा यसको बिरोध गरिने समेत पधानाङ्गले जानकारी दिए ।
 
डीएनए परीक्षणसहितका नतिजाबाट निर्दोष देखिएका गोबिन्द चार महिनाअघि नेपाल फिरेर अन्तिम न्यायिक फैसलाको प्रतीक्षामा थिए । गोबिन्द अहिले आफ्नो जेलयात्रा र भोगाइमाथि पुस्तक लेखिरहेका छन् । यसै बर्ष सांगि्रला बुक्सबाट आउन लागेको पुस्तक तथा आजको अदालती फैसलाबारे जानकारी दिन मैनालीले दिउसो २ बजे युनियन हाउसमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।
 
Published on: 7 November 2012 | Kantipur 

Back to list

;