s

गोवामा भवन भत्कँदा ५ नेपालीको मृत्य

दक्षिण गोवाको क्यानकोन समुद्री तटछेउ निर्माणाधीन पाँचतले भवन शनिबार अपराह्न भत्कँदा त्यहाँ सुतिरहेका पाँच नेपालीको निधन भएको छ ।

दाङ, गोल्टाकुरी-८ का ३३ वर्षीय ताराबहादुर खड्का, गोल्टाकुरी-७ का ४४ वर्षीय दीपक वली, गोल्टाकुरी-६ का २२ वर्षीय सीताराम विक, फूलबारी-३ का २८ वर्षीय डम्बर नेपाली र २६ वर्षीय दीपक विकको मृत्यु भएको हो । भवन पाँच तलैदेखि भत्कँदा त्यहाँ रहेका कम्तीमा ५० श्रमिक र सुरक्षाकर्मी पुरिएको आशंका छ । आइतबारसम्म १४ जनाको शव निकालिएको छ । दाङका ती पाँच जना रात्री सुरक्षागार्ड काम गर्थे ।

'समुद्री तटमा भवन बनाएर भाडामा दिने क्रममा निर्माणको अन्तिम काम भइरहेको रहेछ,' मृत्यु भएका ताराबहादुरका भाइ गुरुप्रसादले घटनास्थलबाट कान्तिपुरसँग फोनमा भने, 'भवन भत्कँदा मेरा दाइसहितका गाउँले सुतिरहेका रहेछन् । उनीहरूको शव आजै निकालेर मठगाउँस्थित सरकारी अस्पताल पुर्‍याइएको छ ।'

क्यानकोनबाट ६० किलोमिटर टाढाको अर्कै पर्यटकीय केन्द्र पन्जिममा सुरक्षा गार्ड काम गर्दै आएका भाइ गुरुप्रसाद दुर्घटनाको खबर थाहा पाएर दाइको स्थिति बुझ्न शनिबार साँझ घटनास्थल पुगेका थिए ।

'नसोचेको दुर्घटनामा परेर मेरा साइँला दाइ ताराबहादुरको यता ज्यान गयो, भाउजू हीरा भने एक महिनाअघि घरेलु कामदार बनेर कुवेत पुग्नुभएको छ,' गुरुप्रसादले भने, 'उता गाउँमा रहेका बूढा बाआमालाई छोरा बितेको खबर पनि भन्न सकेको छैन, अब यो शवलाई गाउँ कसरी लैजाने होला भन्ने चिन्तामा म छु ।' भवनमा पुरिएका अरू शवहरू पनि उत्खनन गर्ने क्रम जारी रहेकाले सोमबारबाट मात्रै पोस्टमार्टमको सुरु हुने जानकारी पाएको गुरुप्रसादले बताए ।

गाउँमा आठ वर्षअघि बिहे गर्नासाथ ताराबहादुर वैदेशिक रोजगारी खोज्दै गोवा आएका थिए । त्यही बेलादेखि सेक्युरिटी गार्डमा काम गर्दै आएका ५ कक्षा उत्तीर्ण ताराबहादुरले खानबस्नसहित मासिक ६ हजार भारु कमाइ गर्दै आएका थिए । ताराबहादुरका ८ वर्षीय छोरा र ५ वर्षीया छोरी गाउँमा हजुरबा/हजुरआमाका साथमा छन् । गोल्टाकुरी र फूलबारी गाउँकै अरू चार श्रमिक भने एक वर्षयता मात्रै गोवामा सेक्युरिटी गार्डको काममा थिए ।

शनिबार अपराह्नको घटनाबारे दिल्लीस्थित नेपाली दूतावासमा कुनै जानकारी आएको छैन । चार्ज डे अफेयर्स खगनाथ अधिकारीले मृतक नेपालीका बारे तत्काल सोधपुछ गरिने र आवश्यक सहयोग गर्न दूतावास तयार रहेको जनाए । मृतकहरूका आफन्तले 'नेपाल सरकारले सहयोग गरेमा मात्रै आफन्तको शव घरमा लगेर अन्तिम संस्कार गर्न सकिने' जनाएका छन् । गुरुप्रसादले यो घटनापछि भवन निर्माण कम्पनी/ठेकेदारबाट लिन सकिने क्षतिपूर्ति वा अन्य सहयोगबारे पनि आफूलाई केही जानकारी नरहेको बताए ।

दुर्घटनापछि गोवाका मुख्यमन्त्री मनोहर परिकार पनि घटनास्थलमा पुगेर 'भवन निर्माण गर्ने ठेकेदार र कम्पनीलाई तत्काल कारबाहीको दायरामा ल्याउने' आश्वासन दिएका थिए । क्यानकोन प्रहरीले भवन निर्माणका ठेकेदारहरू विश्वास देसाई, जयदीप सइगलसहितका विरुद्ध रिपोर्ट (एफआईआर) दर्ता गरिसके पनि उनीहरू सम्पर्कबाहिर छन् ।

Published on: 6 Jan 2014 | Kantipur

Back to list

;