s

गिट्टी कुट्दै गरेका श्रमिकलाई दोसल्ला ओढाएर सम्मान

अनिल भण्डारी

सिन्धुली- कमलामाई नगरपालिका ६ की मसिना बयलकोटी यहाँको ग्वाङ खोलामा गिट्टी फुटाउदै थिइन्। उनलाई अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको पत्तो थिएन। उनलाई त्यस्ता दिवस आउन् जाउन् ख्याल र मतलब हुँदैन थियो। बिहान बेलुका खान जोहो गर्न सदाझै आइतबार पनि उनि गिट्टी फुटाउन ग्वाङ खोलाको किनारमा पुगिन्। गिट्टी कुट्दै गर्दा दोसल्ला र केहि रकमसहित उनको हात पर्दा फुरुङग भइन् मसिना। उमेरले करिब ६० वर्ष पुगिसकेकी उनले कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले गिट्टी फुटाउदा फुटाउदै दोसल्ला ओढाए। यतिमात्र नभएर नगद एक हजार हातमा थमाइदिँदा भने उनी खुसी देखिन्थिन्।

अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर यहाँको कमलामाई नगरपालिकाले श्रमिक महिलाहरुलाई सम्मान गरेको छ। यहाँको ग्वाङखालाको तिरमा बसेर गिट्टी कुट्दै गरेका झन्डै ५० जना भन्दा बढी महिलाहरुलाई जनही एक हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो। आइतबार अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस भएकाले श्रमिक महिलाहरुको विदाको दिन हो, कमलामाई नगरपालिकाका प्रमुख मेयर खड्गबहादुर खत्रीले भने, त्यसैले एक दिन गिट्टी फुटाउदा गर्न सकिने आम्दानी बराबरको एक हजार रुपैयाँ नगद दिएका हौ। उनले नगद बुझेपछि एक दिन आराम गर्न गिट्टी कुट्ने श्रमिक महिलाहरुलाई अनुरोध गरिएको बताए।

सोही खोलाकै तिरमा बसेर वर्षौदेखि गिट्टी फुटाएर जिविका धान्दै आएकी सर्मिला घर्ति पनि मेयरले गिट्टीको थुप्रोमै पुगेर दोसल्ला ओढाउदा खुसी देखिइन्। हामीले श्रम गरेकै स्थानमा आएर सम्मान पाएको यो पहिलो पटक हो, मुस्कुराउदै आफ्नो दोसल्ला समाल्दै भनिन्, विगतका वर्षमा चाउचाउ बाड्ने सारी बाड्ने काम चाहि गरिएको थियो, यो वर्ष नगदसहित दोसल्ला पाएका छौ।

नगरपालिकाले दिवसका अवसरमा वर्षौदेखि गिट्टी कुटेर जिविको चलाउदै आएका महिलाहरुलाई सम्मान गरेको हो। श्रमिकका छोराछोरीले पढ्न नसकेर वा स्कुल भर्ना भएर पनि ड्रेस झोला किताब जस्ता समस्याका कारण पढ्न नसकेका श्रमिकका बालबालिकालाई पनि नगरपालिकाले पढाउने व्यवस्था मिलाउने छ, नगरप्रमुख खत्रीले श्रमिक महिलाहरुलाई भने, तपाईहरुको समस्या समाधान गर्न स्थानीय सरकार लागि परेको छ।

दोसल्ला र नगद पैसा दिँदा महिलाहरु खुसी मात्रै देखिएनन्। उनीहरुले एक दिन आएर नगद पैसा दिनुको साटो श्रमिकका लागि निरन्तर बाच्ने आधार बनाइदिन मेयर खत्रीसँग माग गरे। तपाइहरुले दिएको एक हजारले हामी मजदुरको दैनिकी चल्दैन, खहरे खोलामा गिट्टी कुट्दै गरेकी अर्की एक महिलाले भनिन्, हामीलाई रोजगारी दिनुस्, हामी श्रम गर्न तयार छौ। उनले एक महिनासम्म फुटाएको गिट्टीको दाम तीन हजार देखि ३५ सय मात्रै आउने भएकाले रोजगारी दिए दैनिकी गुजारा चलाउन सहज हुने बताइन्।

जवाफमा मेयरले श्रम गरेर खाने व्यवस्था गरिने बताए। सबैलाई नगरपालिका भित्रै रोजगारी दिएर पालनपोषण गर्न सक्ने अवस्था आउदैन, उनले भने, हामी तपाईहरुलाई खेतबारीमा श्रम गर्ने गरि उब्जाउ योग्य जमिनको व्यवस्था मिलाउन सक्छौ।

Published on: 8 March 2020 | Nagarik

Link

Back to list

;