s

गिट्ठाका भरमा चिया मजदुर

अर्जुन राजवंशी

चिया बगानमा ४० दिनदेखि मजदुर आन्दोलन छ । ऐन र नियमावलीअनुसार सुविधा माग गर्दै आफैंले थालेको अनिश्चितकालीन आन्दोलनका कारण बगान र कारखानामा कार्यरत श्रमिक भने समस्यामा पर्न थालेका छन् । 

आन्दोलन टुंगिने कुनै संकेत नदेखिँदा श्रमिकलाई छाक टार्नै मुस्किल पर्न थालेको छ । 'काम गरेको पैसाले किनेको चामल सबै सकियो । अहिले एक छाक भात र एक छाक गिट्ठा खाएर बसिरहेका छौं,' श्रमिक विप्ता मुण्डाले भने । तीन छोराछोरीसहित पाँच जनाको परिवार चिया बगानकै कमाइमा आश्रति छ । बगानमा काम गर्ने श्रमिकलाई अन्यत्र काम पाउन मुस्किल हुन्छ । 'अरूतिर हामीलाई कामै दिँदैनन्,' उनले थपे, 'हप्ता थापेर घर चलाउनेलाई ४० दिनसम्म कामै नगरी खानलाई कुन आम्दानीले पुग्छ र ?'
 
कात्तिक उरावको परिवार पनि अभाव टार्न एक छाक गिट्ठा खाइरहेको छ । उराव र उनकी श्रीमती भद्रपुर नगरपालिका ७ स्थित बुधकरण चिया बगानका श्रमिक हुन् । बगान ४० दिनदेखि बन्द छ । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनको घरमा यतिबेला खानलाई चामल छैन । 'चामल सकिएर पेटभरि खाना खान पाएका छैनौं, छोरीहरूको भर्ना कसरी गर्ने,' उनले भने ।
 
उरावका ४ जना छोरी छन् । सबै स्कुल जान्छन् । बोर्डिङ स्कुलमा नयाँ भर्ना लगभग बन्द भइसकेको छ । स्कुलबाट उनलाई मौखिक र लिखित रूपमा नयाँ भर्नाको शुल्क बुझाउन ताकेता आइरहेको छ । चिया श्रमिक श्रम ऐन ०७४, श्रम नियमावली ०७५ र सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयनको माग गर्दै चैत १७ देखि उनीहरूले आन्दोलन थालेका हुन् ।
 
बुधकरण चिया बगान नजिकैको कागली जंगलमा उसिनेर खान मिल्ने गिट्ठा पाइन्छ । चिया श्रमिक पछिल्लो १० दिनयता नियमित एक छाक 'गिट्ठा' खाएर पेट भरिरहेका छन् । 'नखाएर उपाय छैन, भात मात्रै खान चामलपनि छैन,' कंग्रेस बानियाँले भने, 'धन्न जंगल नजिकै छ र गिट्ठा खान पाइरहेका छौं ।' सरकारले गत साउनदेखिलागू हुने गरी श्रम ऐन राजपत्रमा प्रकाशित गरेको थियो ।
 
चिया उद्योगीले भने ऐन कार्यान्वयनमा अटेरी गर्दै आएका छन् । सरकारले ऐन कार्यान्वयनमा दबाब सिर्जना गर्न सकेको छैन । उक्त ऐन ९ महिनासम्म कार्यान्वयनमा नआएपछि श्रमिक अनिश्चितकालीन हडतालमा उत्रिएका हुन् । शान्तिपूर्ण आन्दोलन गर्दै आएका श्रमिकको घरमा भने भोकमरीको समस्या देखिन थालेको छ । 'अब धेरै दिनसम्म काम नगरी बस्न सक्ने अवस्था छैन,' दमकस्थित हिमालय महालक्ष्मी टी गार्डेनकी श्रमिक मीरा गजमेरले भनिन् ।
 
जसोतसो गुजारा
 
जसमिता खडियाँको ६ जनाको परिवार छ । दुई छोरा अपांगता भएका छन् । दुई छोराछोरी क्याम्पस पढ्छन् । ३९ दिनसम्म आफूले नियमित काम गर्ने बगानमा काम नखुलेपछि बुधबार उनी अलि परको साना किसानको चिया बगानमा काम गर्न गएकी थिइन् । 'एक दिन मात्र काम भयो,' उनले भनिन्, 'त्यही एक दिन कमाइको पैसाले आज -बिहीबार) तेल भुटन किनेर ल्याएँ ।' लखन हेमरमको ५ जनाको परिवार छ ।
 
बगानमा काम बन्द रहेकाले उनी ८ किलोमिटर टाढा भद्रपुर बजार गएर घर बनाउने काम गर्न थालेका छन् । 'मिस्त्री काम पनि सधैं पाइँदैन, साथीभाइको सहयोगमा काम गरेर जसोतसो खर्च चलाइरहेको छु,' उनले भने । मिस्त्री काममा जानुअघि ७ हजार ५ सय रुपैयाँमा एउटा खसी बेचेर घर खर्च चलाएको उनले सुनाए । खर्च अभावमा कक्षा २ मा अध्ययनरत कान्छी छोरीलाई नयाँ भर्ना गर्न नसकेको उनले बताए ।
 
सांगि्रला चिया बगानकी श्रमिक कमला माझीले गाउँमा ज्यालामजदुरी गरेर खर्च धानिरहेकी छन् । 'छिट्टै काम खुल्छ जस्तो लागेको थियो, काम गरेको पैसाले १५ दिनजति बसेर खान पुग्यो,' उनले भनिन्, 'अहिले छोराछोरीलाई दुई छाक खाना खुवाउन धौधौ परिरहेको छ ।' दमकको हिमालय महालक्ष्मी टी गार्डेनकी पूणिर्मा बराइलीले लामो बन्द भएकाले सधैं बाँकी खाने पसलले उधारो दिन छोडेको बताइन् । बजार नजिकै भएकाले लेबर काम गरेर खर्च जुटाइरहेको सुनाइन् ।
 
ट्रेड युनियन महासंघ (जिफन्ट) का प्रदेश १ उपाध्यक्ष सन्तकुमार राईका अनुसार जिल्लामा करिब ३० हजार चिया श्रमिक छन् । उनीहरूमध्ये ९० प्रतिशत कमाएको दिन खाने छन् । 'एक सातासम्म काम गर्छन्, शुक्रबार हप्ता थापेपछि शनिबार हप्ताभरि पुग्ने गरी सौदा गर्छन्,' राईले भने, 'काम नगरी खान पुग्ने हैसियत कुनै श्रमिकको छैन ।'
 
अधिकांश श्रमिक भूमिहीन, सुकुम्बासी, अति विपन्न र सीमान्तकृत समुदायका छन् । उनीहरूले बगानबाहेक अन्य सीप सिकेका छैनन् ।
 
Published on: 10 May 2019 | Kantipur

Back to list

;