s

गिम्दीका युवा पनि विदेशिन थाले

मुलुकका विभिन्न जिल्लाका युवा विदेशिने क्रम बढेको बेला ललितपुरको दुर्गम क्षेत्रको रुपमा चिनिएको गिम्दीमा पनि युवा विदेशिने क्रम बढेको छ ।

शिक्षाको त्यति राम्रो अवसर नपाएका त्यस क्षेत्रका युवाहरु विदेशिन थालेका छन् । कूल चार हजार ५०० जनसङ्ख्या रहेको यस क्षेत्रमा यसै वर्षमात्र करिब २५ जना युवा विदेशिएका गिम्दी गाविसका कर्मचारी सुरेन्द्र थापामगरले बताउनुभयो ।
 
यहाँका बासिन्दाको दैनिक कार्य नै बागमती नदीको किनारामा माछा मार्ने र त्यसैबाट गुजारा चलाउने रहेको भए पनि हाल आएर बागमतीको पानी निकै फोहोर हुन थालेको र माछा पनि पाइन छाडेपछि जीविकोपार्जनका लागि अन्य व्यवसाय वा रोजगारी गर्न थालेको उहाँले बताउनुभयो ।
 
मगर जातिको बाहुल्यता रहेको यस क्षेत्रमा बागमती नदीको किनारामा माछा मारेर आफ्नो जीविकोपार्जन गर्ने परम्परा रहेको थियो । तर हाल आएर भने यहाँका युवा विदेशतिर जान थालेका हुन् ।
 
यस गाउँमा २०÷२५ वर्षका युवा देख्न मुस्किल पर्ने गरेको छ । गरिबी र बेरोजगारीका कारण पनि विदेशिनेहरु बढेको थापामगरको भनाइ छ । पहिले निकै कम एक वा दुई जनामात्र विदेशिएको खबर गाउँमा हुने भए पनि हाल आएर भने बढ्दै गइरहेको उहाँले बताउनुभयो ।
अर्का स्थानीयवासी वीरबहादुर मगरले भन्नुभयो– गाउँका केही पढेलेखेका सहरमा नै रोजगारीमा लागेका छन्, केही भने वैदेशिक रोजगारीमा गएका छन् । पहिले–पहिले वैदेशिक रोजगारीमा जाने भन्ने कुरै थाह थिएन, उनले भने– अहिले आएर भने युवाहरु विदेशिनु मलाई भने राम्रो लागेको छैन ।
 
Published on: 17 March 2013 | Nagarik

Back to list

;