s

घूस लिएर श्रम स्वीकृति

अजित तिवारी

श्रम स्वीकृतिका लागि अतिरिक्त रकम (घूस) असुल्ने श्रम कार्यालय, जनकपुरका कर्मचारी र दुई बिचौलिया (दलाल) लाई प्रहरीले पक्राउ गरेको छ ।

श्रम कार्यालयमा बिचौलिया हाबी भएको र कर्मचारीकै मिलोमतोमा सेवाग्राहीसँग घूस लिने गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले विशेष टोली खटाएपछि उनीहरू पक्राउ परेका हुन् ।
 
सादा पोसाकमा श्रम कार्यालयको निगरानी गरिरहेको टोलीले बिचौलिया मार्फत घूसकोलेनदेन भइरहेको र सेवाग्राहीले अनावश्यक दुःख पाएको प्रमाण फेला पारेपछि तीनजनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले बिचौलिया रामभगत यादव र अजयकुमार साहलाई पक्राउगरेपछि उनीहरूकै बयानका आधारमा श्रम कार्यालयका कम्प्युटर अपरेटर सरोज यादवलाई आइतबार नियन्त्रणमा लिएको छ ।
 
धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले पक्राउ परेका बिचौलियाले कम्प्युटर अपरेटर यादवमार्फत काम गराउने गरेको बयान दिएपछि उनलाई पनि नियन्त्रणमा लिइएको बताए । ‘पक्राउ परेका दुवै बिचौलियालाई म्याद थपेर अनुसन्धान अगाडि बढाइएको छ,’ निमित्ति प्रजिअ अर्यालले कान्तिपुरसँग भने, ‘श्रमका कर्मचारी यादव बिदामा रहेकाले उनलाई आइतबार पक्राउ गरिएको हो । उनीसित पनि सोधपुछ भइरहेको छ ।’
 
काठमाडौंमा बाक्लो भीड र झन्झटिलो प्रक्रियाले श्रम स्वीकृतिका लागि कयौं दिन पर्खिनुपर्ने भएपछि सरकारले हरेक प्रदेशमा पुस महिनादेखि श्रम कार्यालय सञ्चालनमा ल्याएको थियो । ‘श्रम कार्यालय सञ्चालनमा आएदेखि नै विकृति बढेको गुनासो र उजुरी हामीसम्म आउन थाल्यो,’ अर्यालले भने, ‘सुरुसुरुमा दुईपटकसम्म श्रम कार्यालयमै पुगेर कार्यालय व्यवस्थित र बिचौलियाको चलखेल रोक्न भनियो, सुनुवाइ भने भएन । गुनासो झन् बढेपछि सादा पोसाकमा सुराकी खटायौं । बद्मासी देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको छ ।’
 
पक्राउ परेका यादव र साहले श्रम स्वीकृतिका लागि कम्प्युटर अपरेटर सरोजसँग सेटिङ मिलाएको खुलेको छ । छिटो श्रम स्वीकृति बनाइदिनका लागि सेवाग्राहीसँग बिचौलियाले ३ हजार रुपैयाँ अतिरिक्त असुल्ने गर्थे । निमित्त प्रजिअ अर्यालका अनुसार यी दुवै बिचौलियाले श्रम कार्यालयका कम्प्युटर अपरेटर सरोजमार्फत काम गराउँथे । सेवाग्राहीसँग असुलेको अतिरिक्त रकम बाँडफाँट गर्थे ।
 
जनकपुरमा श्रम कार्यालय स्थापना भएदेखि नै सेवाग्राहीले दुःख पाइरहेका छन् । विभिन्न बहाना बनाउँदै श्रम कार्यालयका कर्मचारी सेवाग्राहीलाई बिचौलियासम्म धकेल्छन् । बत्ती नभएको, बत्ती हुँदा सर्भर डाउन, इन्टरनेट ठीक हुँदा कम्प्युटरले काम गरेनलगायतका बहाना बनाउँदै श्रम कार्यालयका कर्मचारी सेवाग्राहीलाई दुःख दिइरहेको गुनासो आएपछि चैतको दोस्रो साता प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कार्यालयको छड्के निरीक्षणसमेत गरेका थिए ।
 
सेवाग्राहीले मन्त्री यादवसित असन्तुष्टि पोखेका थिए । बिचौलिया हाबी रहेको र कर्मचारीले जानीजानी काममा ढिलाइ गरिरहेको सेवाग्राहीको गुनासो थियो । जनकपुरको सहरी इलाकाभन्दा करिब तीन किलोमिटर बाहिर सुनसान ठाउँमा श्रम कार्यालय राखिएको छ । पार्टी प्यालेसको भवन भाडामा लिएर सञ्चालन गरिएको श्रम कार्यालय पहिलोपटक पुग्न सेवाग्राहीलाई निकै सोधीखोजी गर्नुपर्ने बाध्यता छ ।
 
Published on: 8 April 2019 | Kantipur

Back to list

;