s

घुम्ने बहानामा काम खोज्दै विदेशी पर्यटक

पर्यटक भिसामा बसेर काम गर्ने सय विदेशी कारबाहीमा

अनेक प्रयोजनमा युरोप, अमेरिका पुगेका धेरै नेपाली स्वदेश फर्कंदैनन् भन्ने आमबुझाइ छ । तर, भ्रमण गर्ने उद्देश्यले नेपाल आएका थुप्रै विदेशी नागरिक आफ्नो देश नफर्कने गरेको पाइएको छ । पर्यटक भिसामा नेपाल आई विभिन्न जागिरमा आबद्ध हुनेमध्ये अमेरिकी नागरिक सबैभन्दा बढी छन् ।

गृह मन्त्रालयले हालै घुम्ने नाममा पर्यटक भिसामा नेपाल आएर जागिरमा आबद्ध भएका एक सयभन्दा धेरै विदेशीलाई कारबाही गरेको छ । सरकारी आयोजना, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा निजी कम्पनीमा कार्यरत विदेशीहरू कारबाहीमा परेका हुन् । यो आर्थिक वर्षमा मात्र एक सयभन्दा धेरै विदेशी कारबाहीमा परेको गृह मन्त्रालयले जनाएको छ । कारबाही पर्नेहरूमा धेरैजसो अमेरिकी नागरिक छन् ।

त्यस्तै, कोरिया, जापान, बेलायत, चीनलगायत देशका नागरिक पनि कारबाहीमा परेका छन् । उनीहरूलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ जरिवाना गराएर पर्यटक भिसालाई वर्किङ भिसामा परिवर्तन गर्न लगाइएको छ ।

विभिन्न परियोजनामा कार्यरत विदेशी नागरिकका फाइल अध्ययन गर्दा धेरैजसो पर्यटक भिसामा बसिरहेको खुलेपछि गृह मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको हो । कतिपयलाई उजुरीका आधारमा कारबाही गरिएको छ । ‘हामीले ५० हजार जरिवानासहित धेरै विदेशीलाई कारबाही गरिसकेका छौँ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘पर्यटक भिसामा बसेर काम गर्नु अध्यागमनसम्बन्धी कसुर हो, त्यहीअनुसार कारबाही भएको छ ।’

कारबाहीमा परेका धेरैजसो गैरसरकारी संस्थामा कार्यरत छन् । आइटीसम्बन्धी कम्पनीमा समेत ठूलो संख्यामा विदेशी कार्यरत रहेको आशंका गरिएको छ । कतिपय भने वर्किङ भिसाका नाममा धर्म परिवर्तनको काममा लागेको उजुरीसमेत पर्ने गरेका छन् । ती उजुरीमाथि समेत मन्त्रालयले छानबिन गरिरहेको छ ।

कडाइपछि भिसा शुल्क छुट दिने निर्णय

गृह मन्त्रालयले कडाइ गर्न थालेपछि विदेशी परियोजनामा काम गर्ने विदेशीहरूले लबिङ गरेर भिसा शुल्क छुट दिने निर्णय गराउन सफल भएका छन् । अर्थ र परराष्ट्र मन्त्रालयका अधिकारीलाई भेटेर उनीहरूले विदेशी कामदारलाई भिसा शुल्क छुट दिने निर्णय गराउन दबाब दिएका थिए । सोहीअनुसार गत सोमबारको मन्त्रिपरिषद् बैठकबाट शुल्क छुट दिने निर्णय भएको छ ।

यसबाट राज्यलाई ठूलो राजस्व नोक्सान हुने गृह मन्त्रालयका कर्मचारी बताउँछन् । अध्यागमन ऐन र नियमावलीमा अनुदानका प्रोजेक्टमा कार्यरत विदेशीलाई भिसा शुल्क छुट दिन सक्ने प्रावधान छ । त्यसका लागि सम्झौतामै भिसा छुट दिनुपर्ने उल्लेख छ ।

अन्य प्रोजेक्टमा कार्यरतलाई पनि आवश्यकअनुसार अर्थ मन्त्रालयले यससम्बन्धी प्रस्ताव गरेमा निर्णय गर्न सक्ने प्रावधान भएकाले त्यसैको दुरुपयोग भएको छ । सरकारले कूटनीतिज्ञ, औपचारिक भ्रमणमा आउने र सरकारले निर्णय गरेका व्यक्तिलाई भिसा निःशुल्क दिने गरेको छ । पर्यटक बढाउने उद्देश्यले चिनियाँ नागरिकलाई समेत भिसा निःशुल्क गरिएको छ ।

पर्यटक भिसामा करिब पाँच सय विदेशी नेपालमा, अनुगमन बढाउने गृहको तयारी

विदेशी आबद्ध कम्पनीहरूमा अनुगमनपछि कारबाही गर्ने गृह मन्त्रालयको तयारी छ । पर्यटक भिसामा करिब पाँच सय विदेशी नेपालका विभिन्न क्षेत्रमा काम गरिरहेको मन्त्रालयले अनुमान गरेको छ । कतिपय उजुरीमाथि छानबिन गर्न मन्त्रालयले अध्यागमन विभागलाई निर्देशनसमेत दिइसकेको छ । वर्किङ भिसा लिने प्रक्रिया लामो र बढी शुल्क लाग्ने भएकाले उनीहरूले भिसाको दुरुपयोग गर्दै आएका हुन् ।

वर्किङ भिसाका लागि प्रतिमहिना ७५ अमेरिकी डलर तिर्नुपर्छ । तर, पर्यटक भिसामा सुरुको १५ दिन ३०, त्यसपछि एक महिना थप गर्न ५० तथा ९० दिनका लागि एक सय २८ डलर तिरे पुग्छ । अध्यागमन नियमावली ०५१ को दफा २० मा पर्यटक र परिवारको सदस्यको हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न नपाउने उल्लेख छ ।

विदेशी खेलाडीले पर्यटक भिसामा क्रिकेट र फुटबल खेल्न नपाउने

एभरेस्ट प्रिमियर लिग (इपिएल) मा चर्चित विदेशी खेलाडी भित्र्याउन सम्झौता भइसकेको छ । तर, उनीहरूलाई पर्यटक भिसामा लिएर क्रिकेट खेलाउन लागिएको छ । पर्यटक भिसामा आएर पैसा कमाउने गरी खेल्न नपाउने अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक पौडेल भन्छन्, ‘पर्यटक भिसामा बसेर कसैले आय–आर्जनको काम गर्न पाउँदैनन्, त्यसका लागि वर्किङ भिसा नै लिनुपर्ने हुन्छ ।’

इपिएलमा विश्वका चर्चित क्रिकेटरहरू क्रिस गेल, ड्याने स्मिथ, उपल थरंगा तथा मोहम्मद सेहजादसँग सम्झौता भइसकेको छ । उनीहरूलाई भित्र्याउने कम्पनीले वर्किङ भिसाका लागि प्रक्रिया अघि बढाउनुपर्ने विभागका अधिकारीहरू बताउँछन् ।

त्यस्तै, नेपाल आएर खेल्ने विदेशी खेलाडीले कर पनि तिर्ने गरेका छैनन् । इपिएल खेल्न आउने खेलाडीलाई महँगो रकममा ल्याउन लागिएको बताइएको छ । हाल जारी ए डिभिजन फुटबल लिगमा पनि ठूलो संख्यामा विदेशी खेलाडी छन् । उनीहरूमध्ये धेरैजना वर्किङ भिसामा बसेर खेलिरहेका छन् । यसअघि उनीहरू पर्यटक भिसामा बसेर फुटबल खेल्ने गर्थे ।

कारबाही भएको छ : ईश्वरराज पौडेल, महानिर्देशक, अध्यागमन विभाग

हामीले ५० हजार जरिवानासहित धेरै विदेशीलाई कारबाही गरिसकेका छौँ । पर्यटक भिसामा बसेर काम गर्नु अध्यागमनसम्बन्धी कसुर हो, त्यहीअनुसार कारबाही भएको छ ।

Published on: 9 February 2020 | Naya Patrika

Link

Back to list

;