s

घुमन्ते कामदारका कारण बन्द हुन थाले फर्निचर

रुपन्देही — घुमन्ते मजदुर घरघरमै पुगेर फर्निचर निर्माणका काम गर्न थालेपछि रूपन्देहीमा सञ्चालित फर्निचर उद्योग धमाधम बन्द हुन थालेका छन् । नेपाली फर्निचर उद्योग दर्ता भएर सञ्चालन भए पनि भारतीय घुमन्ते मजदुर करको दायरामा नआएपछि नेपाली उद्योग र त्यसमा कार्यरत कामदार प्रभावित भएका हुन् ।

भारतीय घुमन्ते कामदार करको दायरामा नभएको, कानुनी हैसियत प्राप्त नगरेको र घरमै पुगेर सस्तोमै फर्निचर निर्माण गर्ने गरेका छन् । त्यसले स्थानीय तह र सरकारलाई राजस्व बुझाएर कानुनी वैधानिकता पूरा गरेका उद्योग संकटमा परेका हुन् । भारतीय मजदुरकै कारण उद्योग चल्न छाडेपछि रूपन्देहीका एक सयभन्दा बढी फर्निचर उद्योग बन्द भएका छन् । सञ्चालनमा रहेका उद्योगले पनि ६० प्रतिशतसम्म मजदुर कटौती गरिरहेका छन् । रूपन्देहीका फर्निचर उद्योगी एवं व्यवसायीहरूका अनुसार पछिल्लो २ वर्षमा रूपन्देहीमा मात्र एक सय बढी उद्योग बन्द भएका छन् भने एक हजारभन्दा बढी मजदुर बेरोजगार बनेका छन् ।

निर्माणाधीन घर, व्यावसायिक संस्था र ठूला होटलमा भारतीय घुमन्ते कामदार निर्माणस्थलमै पुगेर काम गर्छन् । स्थानीय तहले सूचना जारी गरेर कानुनी दायरामा आएर मात्र काम गर्न निर्देशन दिने गरे पनि अनुगमन नगर्दा उद्योगी संकटमा परेका हुन् । त्यस्ता कामदारले राज्यलाई कर दिनु नपर्ने भएपछि स्थानीय तह र उद्योगीहरूले तोकेको शुल्कभन्दा कम दरमा निर्माणका काम गर्दै आएका छन् । त्यसले उपभोक्तालाई सस्तो परे पनि राज्यले दैनिक लाखौं राजस्व गुमाउने गरेको बुटवल फर्निचर उद्योग संघ रूपन्देहीका महासचिव अशोक कुँवरले बताए ।

व्यवसाय दर्ता नगरेका र रेकर्डमा नभएका मजदुर, उद्योग र व्यवसायको अनुगमन गर्ने जिम्मेवारी अहिले स्थानीय सरकारलाई छ । तर, स्थानीय सरकारले नै चासो नदिँदा फर्निचर उद्योग धराशायी बन्दै गएको उनको गुनासो छ । ‘विदेशी कामदार साइकल चढेर आउँछन्, १०/१२ जनाको समूह बनाएर घरघरमा पुगेर काम गर्छन्, साँझ भारतमै फर्किन्छन्,’ उनले भने, ‘त्यसरी आउने मजदुर/मिस्त्रीले नेपाल सरकारलाई न कर तिर्छन्, न सेवा शुल्क आउँछ, न कुनै रेकर्ड हुन्छ, तर, पैसा सबै भारत पुग्छ ।’

पछिल्ला २ वर्षमा यस्तो क्रमले तीव्रता पाएपछि जिल्लाभरका दर्ता भएर रोजगारीसहित सञ्चालनमा रहेका फर्निचर उद्योग धमाधम बन्द हुन थालेको उनले बताए । त्यसरी घरमै पुगेर काम गर्ने भारतीय आगन्तुक कामदारले प्रतिस्क्वायर फिट ३ सय रुपैयाँसम्ममा काम गर्ने गरेका छन् । रूपन्देहीका उद्योगमा आबद्ध कामदारले घरमै पुगेर काम गर्दा प्रतिस्क्वायर फिट ३ सय ५० देखि ४ सय रुपैयाँसम्म लिने गरेका छन् । उद्योगीहरूले भने नेपाली कामदार र नेपाली उद्योगले नेपालमै उत्पादित प्लाइउड प्रयोग गर्ने गरेका कारण फर्निचार बलियो र धेरै वर्ष टिकाउ हुने तर भारतीय कामदारले भारतमा काठको धूलो प्रयोग गरेर उत्पादन भएको ‘कम्प्रेसर बोर्ड’ बाट फर्निचर उत्पादन गर्ने गरेकाले केही सस्तो पर्ने गरेको महासचिव कुँवरले जनाए ।

कम्प्रेसर बोर्ड तयारी अवस्थामा रहने भएकाले फर्निचरको आकारअनुसार काटेर फिट गर्न मिल्छ । तर, प्लाइउडबाट निर्माण हुने सामग्रीलाई फर्निसिङ गर्नुपर्ने पनि भएकाले केही महँगो पर्ने गरेको उनको भनाइ छ । ‘प्लाइउड प्रयोग गर्दा केही बढी समय लाग्छ,’ उनले भने, ‘तर, भारतीय मजदुरले त्यही कम्प्रेसर बोर्ड प्रयोग गर्ने र त्यसले छिटो तयार हुने गरेकाले सस्तो पनि लिने गर्छन् ।’

दुई वर्षअघिसम्म रूपन्देहीमा फर्निचर उत्पादन गर्नेमात्र ३ सयभन्दा बढी उद्योग थिए । १ सय ८० उद्योग बुटवल फर्निचर उद्योग संघमा दर्ता थिए । अहिले संघमा दर्ता भएकामध्ये झन्डै ३० उद्योग बन्द छन् । पछिल्लो तीन वर्षमा संघमा आबद्ध ५० बढी उद्योग र जिल्लाभरिमा १ सय बढी उद्योग बन्द भएको बुटवल फर्निचर उद्योग संघ तिलोत्तमा शाखाका संयोजक लील कार्कीले जनाए । त्यसबाट झन्डै १ हजार नेपाली मजदुरले रोजगारी गुमाएका छन् ।

‘फर्निचर उद्योग त्यसमा कार्यरत मजदुरले धेरैजसो सामान नेपाली प्रयोग गर्छन्,’ उनले भने, ‘तर भारतीयले भारतीय कम्प्रेसर बोर्ड प्रयोग गर्ने गरेकाले नेपाली पैसा मजदुरको ज्यालासँगै सामानको पनि बाहिरिन्छ ।’ उनका अनुसार प्लाइउड नेपालमै उत्पादन हुन्छ । त्यसमा प्रयोग हुने काठ, फेबिकोल, फर्माइका पनि नेपाली उत्पादन हो । कामदार पनि नेपाली हुँदा धेरैजसो नेपाली सामान र नेपाली जनशक्तिबाटै चल्ने उद्योगमा फर्निचर उद्योग मात्र हो ।

रूपन्देहीमा खुलेका फर्निचर उद्योगले वार्षिक ५ करोडसम्मको कारोबार गर्ने गरेका छन् । भारतीय सीमाबाट नजिक रहेकाले पनि भारतीय घुमन्ते मजदुर साइकलमा सजिलै आउने र काम सकेर साँझ नै घर फर्किन सक्ने भएकाले घुमन्ते कामदार बढेको तिलोत्तमाकै फर्निचर व्यवसायी एवं सहमिल सञ्चालक विनोद न्यौपानेको भनाइ छ । ‘स्थानीय सरकारले अनुगमन गरेर त्यस्ता मजदुरलाई नियन्त्रण गर्नुपर्छ,’ उनले भने, ‘समयमै नियन्त्रण नभए सबै नेपाली फर्निचर उद्योग बन्द नै गर्नुपर्ने अवस्था आउन सक्छ ।’ रूपन्देहीका उद्योगमा निर्माण हुने फर्निचरका सामग्री लुम्बिनी प्रदेशभरि र काठमाडौंसम्म पुग्ने उनले बताए ।

तिलोत्तमा नगरपालिका–९ प्रेमनगरमा रहेको शुभलक्ष्मी फर्निचर उद्योगमा अघिल्लो वर्षसम्म २६ जनासम्म मजदुरले काम गर्थे । गत वर्ष त्यो घटेर १४ मा झरेको थियो । यस वर्षबाट उद्योगले ६ जना मात्र मजदुर राखेर काम गरिरहेको छ । भारतीय मजदुर निर्माणाधीन प्रत्येक घर, पसल, होटल र उद्योगमै पुगेर काम गर्न थालेपछि अहिले फर्निचर उद्योग चल्नै छाडेको सञ्चालक विष्णु भण्डारीको भनाइ छ ।

‘कुनै बेला मैले २५/२६ जना मजदुर राखेर वार्षिक एक करोडसम्मको कारोबार गर्थें,’ उनले भने, ‘अहिले व्यापार घटेर ४० लाख पनि हुन छाड्यो, मजदुर पनि घटाएर ६ जना मात्र राखेको छु ।’ औद्योगिक क्षेत्रका रूपमा चिनिएको क्षेत्रमै वर्षमा तीन सय उद्योग बन्द हुँदा त्यसले आर्थिक चलायमान र रोजगारीको क्षेत्रमा ठूलो असर पारेको रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले जनाए ।

Published on: 25 August 2023 | Kantipur

Link

Back to list

;