s

घोषणा होइन, उद्धार पहिला

इजरायलमा पछिल्ला समयमा जुन खालका हिंसात्मक घटना घटिरहेका छन्। यसले सबै नेपालीलाई असाध्यै चिन्तित तुल्याएको छ। इजरायल नेपालको एउटा असल मित्रराष्ट्र हो। दक्षिण एसियामा नेपाल पहिलो देश थियो, जसले इजरायललाई कूटनीतिक मान्यता प्रदान गरेको थियो।

नेपालको विकासमा इजरायलको निरन्तर साथ र सहयोग रहँदै आएको छ। यसरी नेपालको एउटा असल मित्र राष्ट्रमाथि पछिल्लो समय भइरहेका हिंसात्मक घटनाहरू र यस देशमा सयौं निर्दोष नागरिकको ज्यान जाने र सयौंलाई बन्धक बनाइने, निहत्था मानिसलाई हत्या गर्ने सिर्जना जुन भयो, यो असाध्यै दुःखद् छ। हामी यस्तो हिंसात्मक घटनाको निन्दा र भत्र्सना गर्दछौं।

इजरायलमा भएको घटनामा नेपालले असाध्यै ठूलो पीडा व्यहोर्नु पर्‍यो। त्यहाँ ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका विद्यार्थी हिजोमात्र उक्त घटनामा पर्नुभयो। कति घाइते हुनुभयो, कति बन्धक बनाइनु भयो। र त्यसमध्ये १० जना प्रतिभावान् विद्यार्थीलाई हामीले गुमाउनु परेको छ। यो असाध्यै पीडादायक अवस्था हो। यो दुःखद् क्षणमा म सबै दिवंगतप्रति श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु, उहाँहरूका शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु। जो घाइते हुनुहुन्छ, उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु।

यस्तो अवस्थामा नेपाल सरकारले यो घटनामा आफ्नो सम्पूर्ण सामथ्र्य र कूटनीतिक कौशल प्रयोग गरेर नेपालीको सुरक्षाको निम्ति पहल गर्नुपर्छ। अलिकति अलमलमा परेको देख्छु अहिले नेपाल सरकार। घटना घटेको यति लामो समय बितिसक्दा पनि न हाम्रा प्रधानमन्त्री र इजरायलका प्रधानमन्त्रीबीच कुनै संवाद भएको सुन्न पाइएको छ न कुनै न परराष्ट्रमन्त्रीले नै आफ्ना समकक्षीसँग कुनै संवाद गर्नु भएको छ। न त्यहाँ राजदूतले कुनै उच्च पदाधिकारीहरूसँग सम्पर्क गरेको देखिएको छ। इजरायल आफैं अप्ठ्यारोमा छ, उहाँहरू स्वयं संकटमा हुनुहुन्छ यतिबेला। तर यति हुँदाहुँदै पनि नेपाल एउटा असल मित्रराष्ट्र हुनुको नाताले नेपाल सरकारले त्यहाँको सरकारसँग प्रत्यक्ष संवाद गरेर नेपालीको सुरक्षा र उनीहरूको सुरक्षित स्वदेश फिर्ती र अप्ठ्यारोमा परेकाहरूलाई उद्धार गर्ने वातावरण मिलाउनु पथ्र्यो।

परराष्ट्रमन्त्रीले प्रयास गर्ने हो। जति भएको छ त्यसले विद्यार्थीलाई एउटा भरोसा दिलाएको होला। तर यतिबेला यस्तो परिस्थितिमा त्यो पर्याप्त छैन। बरु इजरायल सरकारलाई सहानुभूति दिने, यो दुःखको बेलामा नेपाल साथमा छ भनेर सान्त्वना दिने र नेपालीको सुरक्षाका लागि गम्भीर र सक्रिय पहलकदमी गर्नुपर्ने अवस्था छ। अहिले झन्डै ६ हजारको हाराहारीमा नेपाली इजरायलमा होलान्। कोही अध्ययनरत होलान्, कोही कार्यरत होलान्। इजरायलले सम्पूर्ण युद्धको घोषणा गरेको छ, हमासको विरुद्ध। त्यहाँका प्रधानमन्त्रीले भनेका छन्, ‘हामी युद्धमा छौं। अस्तिको दिनको इजरायलमा घटेको घटना हाम्रा लागि सन् २००१ मा अमेरिकामा घटेको सेप्टेम्बर ११ को जत्तिकै हो। हामी यसमा संलग्न समूहलाई निमिट्यान्न पार्छौं। युद्धको घोषणा गर्छौं।’

इजरायली प्रधानमन्त्रीको यो उद्घोषको तात्पर्य चाहिँ युद्ध अझै लामो समयसम्म लम्बिने देखिन्छ। यस्तो स्थितिभित्र तत्काल अप्ठ्यारोमा परेका नेपालीको मात्रै प्रश्न र सबाल होइन, बाँकी नेपालीको पनि सुरक्षाको अवस्था हाम्रा लागि एकदमै गम्भीर हो। यस्तो बेला सरकारले उच्च कूटनीतिक पहल गर्नु आवश्यक छ। मेरो आग्रह छ कि जतिसक्दो चाँडो नेपालका प्रधानमन्त्रीले इजरायलका प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गर्नुहोस्। उहाँहरूलाई परेको दुःखमा सहानुभूति प्रकट गर्नुहोस्। ऐक्यबद्धता जाहेर गर्नुहोस् उहाँहरूको पीडामा। नेपालीको सुरक्षा, सकुशल उद्धार र स्वदेश फिर्ताका लागि आवश्यक सहयोगका लागि समन्वय गर्न जरुरी छ। संकटको बेलामा जुन ढंगको कूटनीतिक कौशल र तत्परता आवश्यक थियो, त्यो चाहिँ हुन नसकेको अनुभूति सबैले गरेका छन्।

यस्तो बेलामा यसका अतिरिक्त अन्य मित्रराष्ट्रसँग पनि समन्वय गरेर त्यहाँ रहेका नेपालीलाई उद्धार गर्नु जरुरी छ। भारत र अरू देशका नागरिक पनि त्यहाँ फसेका छन्। त्यो स्थितिभित्र सम्बन्धित सबैसँग समन्वय भयो भने सुरक्षा, उद्धार र स्वदेश फिर्ता सहज र सम्भव हुन सक्छ। प्रतिकूल परिस्थितिका बाबजुद पनि भारत र अन्य देशले स्थलमार्ग प्रयोग गरेरै भए पनि आफ्ना नागरिकको उद्धार गरिरहेको देखिन्छ। यस सन्दर्भलाई हेर्दा नेपाल सरकारको भने त्यो तत्परता देखिएन।

कतिपय कुरामा अहिले घोषणा नगर्दा पनि हुने विषयजस्तो राहत कसरी कति दिने र क्षतिपूर्ति कसरी उपलब्ध गराउने जस्ता कुरा मृतकको शव नेपाल ल्याएपछि र अरूहरूको उद्धार गरेपछि गर्दा पनि हुने विषय हुन्। यसले यति ठूलो धनजनको क्षति हुँदासमेत सरकारले अलि हल्का हुने काम गरेको देखाउँछ। राहतका कुराले मुख्य विषयलाई ओझेलमा पार्न खोजेको देखिन्छ।

खासमा यस्तो बेला नेपाल सरकारको यी विषय प्राथमिकताका होइनन्। प्राथमिकता त यतिबेला युद्धरत क्षेत्रबाट नेपालीको उद्धार, सुरक्षा र सकुशल फिर्ता नै हुन्। यसमा प्रभावकारी समन्वय आवश्यक छ। सरकार प्रभावकारी देखिन सकिएन। यसबीच जे भयो तर अबको समयको भरपूर उपयोग गरी नेपाल सरकारले इजरायलमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गरी स्वदेश फिर्ता ल्याओस्। यसैमा सबैको भलाइ पनि छ। सरकार चाहिने भनेकै यस्तै बेला हो।

Published on: 10 October 2023 | Annapurna Post

Link

Back to list

;