s

घरेलु उद्यममा रोजगारी बढ्दै

प्रताप रानामगर

भिमाद–२ रघुकी २१ वर्षीया विन्दु थापा जनज्योति क्याम्पसमा स्नातक तहको व्यवस्थापन चौथो वर्षमा अध्ययनरत छिन् । बिहान कलेज जान्छिन् । दिउँसो पढाइ खर्चको जोहो गर्न घरेलु उद्योगमा जागिर गर्छिन् । स्थानीय महिलाले सञ्चालन गरेको अचार उद्योगमा उनी चार वर्षदेखि काम गर्दै पढाइखर्चको जोहो गरिरहेकी हुन् ।

‘बिहान कलेज जान्छु,’ थापाले भनिन्, ‘दिउँसो घरेलु उद्योगमा काम गर्छु ।’ अचार उद्योगमा रोजगारी पाउँदा पढाइखर्च र खानबस्नका लागि घरबाट खर्च ल्याउनु नपर्ने उनले बताइन् । मासिक पाउने ८ हजार तलबले खर्च मजाले धानिएको छ । ‘अचार बनाउने काम सजिलो छ,’ उनले भनिन् ।

उद्योगमा काम गर्ने भीममाया, शनि, तयासरा, पनिसा, धुर्पा थापा र अस्मिता श्रेष्ठ यसअघि फुसर्दिला थिए । घरायसी धन्दाबाहेक आयआर्जनमा लागेका थिएनन् । उद्योग सञ्चालन भएपछि भने उनीहरूले रोजगारी पाएका छन् । उनीहरू सबै अचार बनाउने काम गर्छन् । ‘घरमा बस्दा समय बिताउन समस्या थियो,’ शनि थापाले भनिन्, ‘सबै दिदीबहिनी फुर्सदिला थिए । अहिले कामले दिनमा पनि फुर्सद छैन ।’

दिदीबहिनी मिलेर गाउँबाट ल्याएका तरकारी केलाउन, काट्न र बनाउन व्यस्त भइने उनले बताइन् । जंगलबाट ल्याएका तामा, निहुरो, सिप्लीगान, काभ्रोमुना, कोइराला, करेलाजस्ता तरकारीजन्य वस्तुलाई प्रशोधन गरेर अचार बनाउने गरिएको छ ।

धनु अचार उद्योगका सञ्चालक धनमाया रानाले उद्योगमा २२ महिलाले रोजगारी पाएको बताइन् । तीमध्ये सातजनाले उद्योगभित्रै बसेर काम गर्छन् । अन्यले कच्चा पदार्थ संकलन गर्छन् । ‘फुसर्दिला महिलालाई रोजगारी दिन अचार उद्योग सञ्चालन गरेका हौं,’ उनले भनिन्, ‘गाउँका फुसर्दिला महिलालाइ रोजगारी दिन सफल भएकामा खुसी लागेको छ ।’

अर्कोतर्फ जंगलमा खेर गएका निहुरो, तामाजस्ता कच्चा पदार्थ आम्दानीको स्रोत भएको उनले बताइन् ।महिलाहरूले त्यसै खेर गइरहेको सिप्लीगान, निहुरो टिपेर उद्योगमा ल्याउँछन् । उनीहरूले सिजनमा निहुरो सिप्लीगान टिपेर दसदेखि १५ हजार रुपैयाँसम्म कमाउँछन् । त्यसबाहेक निजी जग्गामा उत्पादित तामा, अकबरे,करेला, कोइरालो, आँपजस्ता मौसमीतरकारी तथा फलफूल पनि उद्योगमा राम्रो खपत हुन्छ ।

उद्योग सञ्चालनले गाउँका महिला जागिरला भएका छन् । बाँझो बारीमा व्यावसायिक तरकारी खेतीमा लागेका छन् । उद्योगमा अकबरे खुसार्नीको माग बढेपछि व्यावसायिक खेतीमा लागेको भिमाद–१ किहुँकी इन्दिरा सिग्देलले बताइन् । ‘अचार उद्योगबाट माग आउँछ,’ उनले भनिन्, ‘उत्पादन नबिक्ला भन्ने छैन ।’

उनले सातामै खुर्सानी बेचेर १२ हजार रुपैयाँ औसतमा कमाउँछिन् । उद्योगमा उत्पादन भएका अचारको बजारमा माग बढिरहेको सञ्चालक धनमायाले बताइन् । प्रशोधन गरेका अचार प्रतिकेजी २५० देखि ९ सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।

तनहुँ, कास्की र स्याङजालगायतजिल्लामा प्रशोधित अचारको माग बढी रहेको उनले बताइन् । उद्योगबाट उत्पादन बिक्री गरेर मासिक डेढ लाख आम्दानी भइरहेको उनको भनाइ छ । १५ लाख रुपैयाँको लागतमा २०७२ देखि उद्योग सञ्चालनमा आएको थियो ।

Published on: 29 July 2019 | Kantipur

Back to list

;