s

घरेलु श्रमिक छिटो पठाउन कतारको आग्रह

होम कार्की 

काठमाडौँ — कतारले घरेलु श्रमिकलाई सम्बोधन हुने गरी कानुन बनाएको भन्दै नेपाललाई छिटो पठाउन अनुरोध गरेको छ । तीन वर्षपछि शुक्रबार काठमाडौंमा भएको नेपाल र कतारको उच्चस्तरीय श्रम अधिकारीहरूको संयुक्त बैठकमा कतारले घरेलु श्रमिक पठाउनुपर्ने एकमात्रै एजेन्डा राखेको हो । बैठकले घरेलु श्रमिक पठाउनका लागि अध्ययन गर्न एउटा कार्यदल बनाउन सहमति गरेको छ ।

नेपालले घरेलु श्रमिक पठाएमा अन्य क्षेत्रमा नेपालीलाई थप प्राथमिकता दिनेसमेत कतारले जनाएको छ । घरेलु श्रमिकलाई समेत सम्बोधन हुने गरी २०२२ भित्र नै नयाँ श्रम सम्झौता गर्न कतार तयार भएको हो । ‘घर र कृषि क्षेत्रमा नेपालीलाई खोल्नुपर्नेबाहेक अन्य एजेन्डा कतारको थिएन,’ बैठकमा सहभागी एक अधिकारीले कान्तिपुरलाई भने, ‘बाँकी समय नेपालले नै राखेको प्रस्तावमा छलफल भयो ।’ 

कतारका श्रम सचिव मोहम्मद हसान अल–ओबाइलीले श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, संयुक्त बैठक र संसदीय समितिसँग भएको छुट्टाछुट्टै बैठकमा पनि घरेलु श्रमिकको सुरक्षाका लागि कतार प्रतिबद्ध भएको भन्दै विश्वास गर्न आग्रह गरेका थिए । ‘घरेलु श्रमिकलाई समेटेर श्रम कानुनलाई बलियो बनाएका छौं । यसमा नेपालले शंका गर्नुपर्दैन । सुरक्षाको प्रत्याभूति गर्न हामी प्रतिबद्ध छौं,’ उनले भने,‘बरु केही समयमा नेपालले अनुगमन गर्न सक्छ ।’

बैठकपछि कतारी टोलीले संसद्को उद्योग र वाणिज्य श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवलाई पनि भेटेर कतारले पछिल्लो समयमा सुधार गरिरहेकोबारे जानकारी गराएको थियो । ‘घरेलु श्रमिकको हितमा गरिरहेको काम हेरेर मात्रै थप निर्णय गर्न सकिनेछ,’ श्रीवास्तवले ओबाइलीसमक्ष भने,‘संसदीय समितिले घरेलु श्रमिक खोल्न ७ वटा विषयमा सम्बोधन हुने गरी श्रम सम्झौता गर्न नेपाल सरकारलाई निर्देशन दिएका छौं ।’

ओबाइलीले नेपालको संसदीय समितिले दिएको निर्देशनलाई कतारले पूर्णरूपमा सम्बोधन गरी कानुन जारी गरिसकेको जानकारी दिएका थिए । ‘हामी छिटोभन्दा छिटो संसदीय समितिलाई स्वागत गर्न तयार छौं,’ ओबाइलीले भने । 

संयुक्त बैठकमा भने नेपालले राखेको सबै प्रस्तावलाई कतारले स्वीकार गरेको छ । श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार २००५ को श्रम सम्झौताका कतिपय पक्षमा समसामयिक सुधार गरी नयाँ सम्झौता गर्न कतार तयार भएको छ । ‘कतारमा जान सक्ने जनशक्तिलाई आवश्यक सीपयुक्त तालिम दिई क्षमतायुक्त बनाउन नेपालले प्रस्ताव गरेअनुरूप ७ वटै प्रदेशमा तालिम केन्द्र स्थापनामा सहयोग गर्ने सहमति भएको छ,’ उनले भने,‘कतारमा आफ्नो महत्त्वपूर्ण समय बिताएर घर फर्कने नेपालीका लागि नेपालमा पुनः स्थापनाको कार्यक्रम नेपालको प्रस्तावबमोजिम कतार सरकारको सहयोगमा मिलाउने सहमति भएको छ ।’

Published on: 6 December 2021 | Kantipur

Link

Back to list

;