s

घरेलु कामदार तस्करीको खतरामा

कुवेतले विगत चार वर्षदेखि  इथियोपियाबाट घरेलुकामदार ल्याउन लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । फिलिपिन्सले कुवेतमा घरेलु कामदार पठाउन पूर्णत प्रतिबन्ध लगाएपछि उसले इथोपियामाथिको प्रतिवन्ध फुकुवा गरेको हो ।
 
कुवेतमा फिलिपिनो महिला कामदारको हत्या भएको प्रमाणित भएपछि फिलिपिन्सले कुवेतमा यसै हप्ताको शुरुदेखि घरेलु कामदार पठाउन पूर्णतः प्रतिबन्ध लगाएको हो । फिलिपिन्स हाउसमेड हत्याको घटनापछि कुवेत र फिलिपिन्सबीच कुटनीतिक तनाव उत्पन्न भएका थियो । कुवेतले घरेलु कामदारको सुरक्षाको प्रत्याभूत गर्ने सम्झौतामा हस्ताक्षर गर्न तयार भएको बताउँदै आएको छ । तर, फिलिपिन्सले महिलालाई घरेलु काममा कुवेत पठाउन तयार नभएपछि कुवेत घरेलु कामदारको आन्तरिक अभाव पूर्ति गर्न इथियोपियातर्फ लागेको हो ।  कुवेतमा घरेलु कामदारका लागि फिलिपिन्ससंगै नेपाली महिला कामदार पनि रुचाइने गरेका छन् ।
 
फिलिपिन्सबाट कुवेतमा घरेलु कामदार नगए नेपालबाट अवैध रुपमा घरेलु कामदार कुवेत पु¥याउने क्रम तीव्र हुने विश्लेषण गरिएको छ । नेपालले  खाडी अन्तरगतका मुलुकसंग श्रम सम्झौता नभएको भन्दै त्यहाँ घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ । तरपनि भारतीय बाटो हुँदै नेपाली  महिला त्यहाँ पु¥याइने गरिएका छन् । पछिल्ला दिनमा मानव तस्करी तीव्र बनेको छ । वैधानिक रुपमा जाने मार्ग बन्द भए अवैध बाटोबाट जोखिमपूर्ण रुपमा जाने संख्यामा बृद्धि हुने भन्दै अधिकारकर्मीहरुले वैधानिकरुपमा जाने व्यवस्था गर्न माग गरिरहेका छन् । नेपाल सरकारले श्रम सम्झौता गरेपछि  मात्र घरेलु महिला कामदारको श्रम स्वीकृति खुला गर्ने बताएको छ  । तर श्रम सम्झौताको कुनै गृहकार्य हुन सकेको छैन । यसले अवैध रुपमा कामदार पु¥याउनेहरुलाई फाइदा नै हुने गरेको कतिपयको विश्लेषण छ ।
 
भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ । सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकोमा २०१७ मा ६ सय ७ किशोरीको उद्धार गरिएको तथ्य भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले सार्वजनिक गरेको छ ।  तस्करीमा परेका नेपाली किशोरी दिल्ली, मुम्बई, कोलकातालगायत सहरका वेश्यालयमा भारु ५० हजारसम्ममा बेचिने गरेको एसएसबीको रिपोर्टलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले  केही दिन अघिको समाचारमा लेखेको छ ।
 
भारतमा हुने अधिकांश बालबालिका तथा महिला तस्करीको मुख्य स्रोत नेपाल नै बनेको छ । एसएसबीले जनाएअनुसार तस्करीमा परेका उनीहरूलाई वेश्यावृत्ति, घरेलु काम तथा अन्य प्रकारका शोषणयुक्त श्रममा जबर्जस्ती लगाइने गरेको छ । ती मध्ये केही खाडी पु¥याइने गरेको पनि अध्ययनको निष्कर्ष छ ।
 
Published on: 6 April 2018 | Madhyanha

Back to list

;