s

घरेलु काममा विदेश जाने महिलाको ताँती

संस्थागत तवरले घरेलु काममा जान झन्डै ३ हजार सम्पर्कमा
 
होम कार्की
 
‘३० हजार रुपैयाँ !,’ आफूले पाउने तलब सुनेपछि गोमाकुमारी वाइबा मन्द मुस्कुराइन् र भनिन्, ‘यो त हामी गरिबका लागि धेरै ठूलो पैसा हो ।’ उनी संयुक्त अरब इमिरेट्स (यूएई) मा घरेलु कामदारका रूपमा जान मकवानपुरको विकट शिखरपुर २ बस्तीपुरबाट काठमाडौं आएकी थिइन् । ‘अर्काको देश जाँदैछु, डर त लाग्छ नि,’ उनले कान्तिपुरसँग भनिन्, ‘मेरो गाउँबाट एक जना दिदी घरकै काममा कुवेत जानुभएको थियो । उहाँले दु:ख पाउनु भएर फर्किनुभयो ।’ 
 
त्यस्तो थाहा पाएर पनि तपाईं किन त्यही काममा जाँदै हुनुहुन्छ त भन्ने प्रश्नमा उनले भनिन्, ‘नगएर के गर्नु ? मलेसिया गएका श्रीमान्ले वास्ता गर्दैनन् । सानी छोरी छ, उसलाई पढाउनुपर्‍यो, खानुपर्‍यो ।’ ५ वर्षकी छोरीलाई माइतीको जिम्मा लगाएर अरबमा हाउसमेडको काम गर्न उनी त्रिभुवन विमानस्थलबाट बिहीबार राति उडिन् । 
 
गोमालाई घरको काम गर्न जानका लागि वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको थियो । सरकारबाटै अनुमति पाएपछि उनी मानव तस्कर गर्ने सञ्जालमा पर्नबाट जोगिइन् । अरू जस्तो अवैध बाटो पछ्याउँदै भारतका विभिन्न सहर र श्रीलंकाका होटलहरूमा गएर बस्नुपरेन । ‘हाम्रै देशको बाटो भएर जान पाउँदा सुरक्षित हुन्छ भनेर म्यानपावरले भनेको छ,’ उनले भनिन्, ‘केही भए जिम्मा लिन्छौं भनेका छन् । तैपनि मनमा डर त लागिहाल्दोरहेछ ।’ 
 
५ वर्षअघि भारत हुँदै कुवेत पुगेकी झापा दमककी २८ वर्षीया ज्ञानु श्रेष्ठको पनि श्रम स्वीकृति भइसकेको छ । उनी भन्दै थिइन्, ‘भारतबाट भन्दा नेपालबाट जान पाउनु मलाई राम्रो लागेको छ । अनेक थरी तनाव त लिनुपरेन ।’ 
 
श्रम मन्त्रालयले घरेलु काममा जानका लागि बनाएको निर्देशिकालाई कार्यान्वयनमा ल्याएको छ । जसमा यूएईस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्न थालेपछि पहिलोचोटि संस्थागत तवरबाट हाउसमेडमा जान खुला भएको हो । त्यसरी म्यानपावरले पठाउन थालेपछि घरको काम गर्न इच्छुक महिलाको सख्या हवातै बढेको छ । शुक्रबार बिहानसम्म स्यारोन म्यानपावरले १ सय २ महिलाको दर्ता गरेको थियो । स्यारोनका सञ्चालक श्याम क्षत्री भन्छन्, ‘उनीहरू सबै ३२ दिनको तालिम लिएर तयारी अवस्थामा बसेका छन् ।’ 
 
वैदेशिक रोजगार विभागले हाउसमेड पठाउन ३२ वटा म्यानपावरलाई अनुमति दिएको छ । विभागमा २५ लाख रुपैयाँ नगद धरौटी राखेपछि ती म्यानपावर सूचीकृत भएका हुन् । घरेलु काममा जानका लागि ती म्यानपावरमा झन्डै ३ हजार जना सम्पर्कमा आइसकेका छन् । घरेलु कामदार सरोकार समाजका महासचिव डीबी तामाङ भन्छन्, ‘तीन सय महिलाले तालिम लिएर बसेका छन् ।’ वैदेशिक रोजगार विभागबाट १ हजार ७५ घरेलु कामदार पठाउन पूर्वस्वीकृति दिइएको छ । जसमा १५ जनाले अन्तिम स्वीकृति पाइसकेका छन् ।
 
श्रम मन्त्रालयले घरेलु कामदार पठाउने निर्देशिका कार्यान्वयन गर्न खाडीस्थित नेपाली दूतावासमा पत्राचार गरे पनि यूएईस्थित दूतावासले मात्रै कार्यान्वयनमा ल्याएको हो । कुवेत, कतार, बहराइन, ओमन र साउदीले दुई सरकारबीच श्रम सम्झौता हुनुपर्ने अडानमा छन् । 
 
यूएई हाउसमेड तस्करी गर्नेहरूको मुख्य ट्रान्जिट हो । यूएईस्थित नेपाली दूतावासकै आफ्नै तर्क छ, ‘खुला रूपमा छोडेर महिलालाई तस्करीमा पर्न दिनुभन्दा संस्थागत रूपमा खुला गरेर तस्करीलाई नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ ।’ दूतावासले यूएईको कानुनअनुसार दर्ता भएका १० वटा म्यानपावरलाई नेपालबाट घरेलु कामदार ल्याउन अनुमति दिएको छ । ती म्यानपावरले १० हजार अमेरिकी डलर दूतावासको खातामा धरौटी राखेका छन् । यूएईका म्यानपावरलाई नेपालका म्यानपावरले हाउसमेड पठाउँछन् । दूतावासमा स्पोन्सरले हाउसमेड ल्याउन एक हजार डलर धरौटी राख्ने गरेको छ । ‘उनीहरूले तोकिएको बाहेक अर्को घरमा पठाउन मिल्दैन,’ दूतावासका प्रवक्ता कृष्ण अर्यालले भने, ‘कोही समस्यामा परे तुरुन्तै उद्धार गरी रोकिएको तलब दिने दायित्व म्यानपावरको हुन्छ । समस्या समाधान गरेन भने काम रोकिनुका साथै धरौटीबाट तलब कट्टा गर्नेछौं ।’ 
 
हाउसमेड पठाउने म्यानपावरहरूको संगठन घरेलु कामदार सरोकार समाजका महासचिव तामाङ भन्छन्, ‘महिलाहरूलाई जति रोक्न खोजे त्यति तस्करीमा पर्छन् । दिनमै दुई सय तस्करी भइरहेको तथ्यांक हामीसँग छ । हामीले संस्थागत रूपमा पठाएर उनीहरूको सुरक्षाको जिम्मेवारी लिन आँट गरेका छौं ।’ 
 
‘दु:ख नगरी सुख पाइन्न’
 
खजुरा २, नेपालगन्जकी २९ वर्षीया अजिता विकले रेडियो, टेलिभिजनमा घरेलु कामदारले पाएको मानसिक, शारीरिक यातनाका साथै श्रम शोषण हुने गरेको समाचार नसुनेकी होइनन् । उनले घरेलु कामदारसम्बन्धी लिएको एक महिने तालिममा पनि यस्तो जोखिमबारे थाहा पाइन् । तैपनि उनी यसलाई ‘आ–आफ्नो नसिब’ भनेर पन्छाइदिन्छिन् । ‘दु:ख नगरी सुख कहाँ पाइन्छ र ?’ उनले भनिन्, ‘यो सबै आ–आफ्नो नसिबको कुरो हो । सधैं कति अभावको जिन्दगी जिउनु ।’ यही अभावसँग जुध्न उनले खाडी उड्नेबारे श्रीमान्सँग सल्लाह गर्न चाहिनन् । काठमाडौं आएपछि मात्रै श्रीमान्लाई फोन गरेर आफू विदेश जान लागेको जानकारी दिइन् । 
 
‘श्रीमान् ग्रिलको काम गर्नुहुन्छ । महिनाको १२/१३ हजार रुपैयाँले के हुन्छ ?,’ उनले भनिन्, ‘दुई वटा बच्चाहरू छन् । पढाउन लेखाउनै पर्‍यो । यसका लागि मैले देशमै विकल्प देखिनँ । जे पर्छ त्यो टर्छ भनेर हिँडदै छु ।’ 
 
घरेलु काममा जान उमेरको प्रतिबन्ध छ । २४ वर्षभन्दा मुनिका महिला जान पाउँदैनन् । नयाँ लटमा जानेहरू अधिकांश विवाहित र खाडीबाट फर्केका अनुभवीहरू छन् । सात वर्ष साउदीमा घरकै काम गरेर फर्केकी कोराक ८, चितवनकी टीकामाया तामाङ भन्छिन्, ‘अरबी भाषा आउने भएपछि घरजस्तै लाग्छ । त्यतिकै पिट्न कोही आउने होइन । काम जानेपछि गाली किन गर्छन् र ? साउदीजस्तै राम्रो परिवार भए ५ वर्ष फर्किन्न ।’
 
Published on: 13 November 2016 | Kantipur

Back to list

;