s

घरेलु कामदारलाई पुन: श्रम स्वीकृति दिने विषयमा सांसदबीच मत भिन्नता

होम कार्की

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले घरेलु कामदारलाई पुन:श्रम स्वीकृति दिने विषयमा विस्तृत अवधारणा पेस  गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

श्रमले घरेलु कामदारलाई पुन:श्रम स्वीकृति दिन गरेको प्रस्तावमाथि समितिले यस्तो निर्देशन दिएको हो। श्रमले घरेलु कामदारले पुन:श्रम स्वीकृति नपाउँदा लाखौँ कामदारले घर आउन नपाएको भन्दै समितिलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न प्रस्ताव राखेको थियो।
 
२०७३ चैत २० देखि घरेलु कामदारलाई पुन श्रम स्वीकृति दिने कार्य रोकिएको छ। बिदामा घर आउँदा पुन: श्रम स्वीकृति नपाउने भएपछि खाडीमा कार्यरत घरेलु कामदार स्वदेश नफिरेको श्रममन्त्री गोकर्ण विष्टले बताए।
 
‘संसदीय समितिको निर्देशनको कारण पुन: श्रम स्वीकृति रोकिएको हो। यो विषय निकै संवेदनशील भयो। आफ्नो बुवाआमा, पतिपत्नीको मृत्युमा काजक्रिया गर्न समेत आउनबाट वञ्चित भएका छन्,’ विष्टले बैठकमा भने,‘यो विषयलाई तत्काल समाधान गरिदिन समिति समक्ष अनुरोध गर्दछु।’
 
श्रम मन्त्रालय आफू सुरक्षित भएका रोजगारदातासँग पुन: काम गर्न इच्छुक घरेलु कामदारलाई रोक्न नहुने पक्षमा छ। राम्रो तलब र रोजगारदाताको घरमा पुन: जानका लागि झन्डै एक हजार घरेलु कामदारले वैदेशिक रोजगार विभागमा निवेदन दिएको श्रम सचिव महेशप्रसाद दाहालले बताए। ती कामदार बिदामा फर्केका थिए।
 
बैठकमा घरेलु कामदार खोल्नुपर्ने विषयमा मत भिन्नता भएको छ। समितिका सभापति विमल श्रीवास्तावले विस्तृत बुझ्नको लागि सांसदहरूलाई स्थलगत अध्ययनमा पठाउने र परराष्ट्र, श्रम सहितको मन्त्रालयसँग पुन: छलफल गर्ने निर्देशन दिएको छ।
 
Published: 25 December 2018 | Kantipur

Back to list

;