s

घरेलु कामदारले पठाएको १० लाख गायब

होम कार्की

८ अप्रिल २०१३ मा लेबनानबाट फर्कनुअघि सिपापोखरी–३, सिन्धुपाल्चोककी मेनुका श्रेष्ठले १० हजार अमेरिकी डलर (झन्डै १० लाख ७ हजार रुपैयाँ) मनिग्राममार्फत नेपाल पठाइन् । जसमा ४ हजार डलर उनकी बहिनीको थियो । उनी २००७ मा घरेलु कामदारका रूपमा लेबनान गएकी थिइन् । 

उनले घरमा आवश्यक पर्ने पैसा मात्रै पठाएर बाँकी आफैं जम्मा गर्दै राखेकी थिइन् । मनिग्रामकी एजेन्ट रोला आलियाले दिएको नम्बर र रसिद लिएर उनी काठमाडौं आइन् । तर मनिग्रामको कार्यालयमा रकम झिक्न जाँदा नम्बर नमिलेको भन्दै फर्काइदिए ।
 
‘तिमीहरू लेबनान फर्किनु । धेरै रकम भएर होला । लेबनान आएपछि एकमुष्ट भुक्तानी गरिदिन्छु,’ रोलाले मेनुकालाई भनिन् । आफ्नो पैसा गुम्ने डरले उनी पुरानो मालिककै घरमा काम गर्न फर्किइन् । रोलाले अमेरिकामा पैसा ‘ब्लक’ भएको जानकारी दिँदै आठ महिना पर्खन अनुरोध गरिन् ।
 
आठ महिना बित्दा पनि पैसा आएन । ‘लेबनानबाटै रकम भुक्तानी गर्न नमिल्ने भयो । नेपालको बैंक खाता र राहदानीको फोटोकपी दिनू, पैसा नेपालमै पठाइदिने भयो,’ आठ महिनापछि रोलाले अर्को चाल चलिन् । मेनुकाले हिमालयन बैंकको खाता नम्बर र आफ्नो राहदानी बुझाएको केही समयपछि रोलाले एउटा इमेल हातमा थमाइदिइन्, ‘तिम्रो पैसा तिम्रो खातामा जम्मा भयो ।’
 
हिमालयन बैंकका निर्देशक राजेन्द्र बुढाथोकीको नामबाट आएको मेलमा भनिएको थियो, ‘तिम्रो खातामा ९ हजार ९ सय ९९ डलर जम्मा भएको छ । तपाईंको फाइल मैले हेरेको छु । केही भए मलाई सिधै इमेल गर्नुहोला ।’
 
बैंकबाटै रकम जम्मा भएको इमेल पाएपछि उनी ढुक्क भइन् । १२ सेप्टेम्बर २०१५ मा नेपाल पुगेर आफ्नो खाता हेर्दा पैसा थिएन । त्यतिखेर हिमालयन बैंकका म्यानेजर दिवश भट्टराईले ‘तपाईंलाई फसाइएको रहेछ’ भन्दै बैंकको इमेल आधिकारिक नभएको बताए ।
 
मन खिन्न बनाउँदै उनी फेरि लेबनान फर्किइन् । रोलाप्रति आक्रोश पोखिन् । रोलाले एक पैसा पनि नखाने भन्दै पैसा दिलाइछाड्ने आश्वासन दिइन् । ‘अमेरिकाबाट मनिग्राममार्फत चेकमा पैसा आउँदै छ,’ उनले भनिन्, ‘त्यसपछि यो समस्या समाधान हुन्छ ।’ नभन्दै केही महिनापछि एउटा चेक आयो ।
 
‘यो पैसा लेबनानबाट होइन, नेपालबाट झिक्न मिल्छ ।’ रोलाले दिएको मनिग्रामको चेक बोकेर मेनुका २०१७ अगस्ट २१ मा नेपाल आइन् । नेपालको मनिग्रामले त्यो चेक नक्कली भनिदियो ।
 
उनी फेरि लेबनान फर्किइन् । रोलाविरुद्ध मनिग्रामको लेबनानस्थित केन्द्रीय कार्यालयमा उजुरी गरिन् । लेबनान प्रमुख म्यागीले २०१२ देखिकै सिस्टम जाँच गर्दा १० हजार डलर पठाएको कतै नदेखिएको बताइन् । ‘हाम्रो सिस्टममै छैन, यो मनिग्रामबाट पैसा गएको देखिएन,’ म्यागीको जवाफले उनी छाँगाबाट खसेजस्तो भइन् ।
 
लेबनानी मालिकको सहयोगमा रोलाविरुद्ध लेबनानी प्रहरीमा उजुरी हालेकी छन् । आफ्नो मुद्दामा लड्न वकिल राखेकी छन् । ‘हामीजस्तो घरेलु कामदारको पैसा खाइदिए, ६ वर्षदेखि म निकै मानसिक तनावमा गुज्रिनुपर्‍यो,’ उनले भनिन्, ‘अहिले किन उजुरी गरेको भनेर मलाई धम्की दिने गरेका छन् ।’

Published on: 4 June 2018 | Kantipur

Back to list

;