s

घरेलु हिंसा र वैदेशिक रोजगारले सम्बन्धविच्छेद र बहुविवाह बढ्दै

अनु आचार्य

 

रसुवाको उत्तरगया गाउँपालिकाकी ३० वर्षीया मेनका तामाङ (नाम परिवर्तित) ले ०७१ सालमा मन पराएर आइत तामाङ (नाम परिवर्तित)सँग विवाह गरिन् । विवाह गरेको सुरुका दिनहरू राम्रैसँग चल्दै गए । समय बित्दै जाँदा श्रीमानले मादकपदार्थ सेवन गरी दैनिकजसो कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिन थाले । बाहिर अरूलाई भने परिवारको इज्जत जान्छ भन्दै उनी सहेर बसिन् । 

विवाह गरेको दुई वर्षपछि उनलाई थाहै नदिई श्रीमान् घर छोडेर हिँडे । श्रीमान् फर्केर आउलान् भन्दाभन्दै चार वर्ष बित्यो । घरपरिवारबाट अपहेलित भइन् ।  एकातिर श्रीमानले वास्ता नगर्ने, अर्कोतिर परिवारबाट मानसिक हिंसामा परिरहेपछि नाता–सम्बन्धमा बस्नुभन्दा विच्छेद गर्नु नै उपयुक्त ठानी रसुवा अदालतमा सम्बन्धिवच्छेदको मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन माग गरिन् । 

उनी भन्छिन्, ‘एउटी छोरी छे, दैनिकी गुजारा चलाउन समस्या भयो, परिवारबाट पनि हेला भयो, तनाव मात्र दिनुहुन्थ्यो, श्रीमानले पनि वास्ता नगरी अलग हुनुभयो, यस्तो सम्बन्धमा बस्नुभन्दा नबस्नु उचित ठानी सम्बन्धविच्छेद गरेँ ।’ 

उनी मात्र होइन, राजेश थापा क्षेत्री (नाम परिवर्तित)ले पनि अनु केसी (नाम परिवर्तित)सँग सामाजिक परम्पराअनुसार मागी विवाह गरे । एक छोरी भएसँगै परिवारमा आर्थिक अवस्था कमजोर भएपछि सल्लाहमा वैदेशिक रोजगारीका लागि विदेश गए । विदेश गएको केही वर्ष श्रीमतीसँग राम्रै सम्बन्ध थियो । बीचमा विदेश आउने–जाने पनि गरे । समय बित्दै गयो । श्रीमती फोनमा बोल्न नरुचाउने गर्न थालिन्र । दुवैबीच कुराकानी हुन छोड्यो । ०७७ सालमा विदेशबाट आएपछि छोरीसहित श्रीमती नभएपछि सम्पर्क गर्न थाले । माइतीमा रहेको जानकारी पाएलगत्तै लिन गए । तर, आउन मानिनन् । श्रीमानलाई सहयोग गर्नुपर्नेमा सँगै नबस्ने, दायित्व पूरा नगर्ने भएसँगै सम्बन्ध कायम राख्नुभन्दा विच्छेद गर्नु उपयुक्त हुने भन्दै जिल्ला अदालत रसुवामा ऐन कानुनअनुसार सम्बन्धविच्छेद गरे । 

यी दुई व्यक्ति त उदाहरण पात्र मात्र हुन् । सँगै जिउने कसम खाएर साइनो जोडेका जोडीबीच आपसमा समझदारी हुन नसक्दा क्षणभरमै त्यस्तो साइनो पराइमा परिणत हुने गर्छ । एउटै रथका दुई पांग्रा भनिएका पति–पत्नीबीच बेमेल भएपछि पछिल्लो समय रसुवामा सम्बन्धविच्छेद गर्नेको संख्या बर्सेनि बढ्दै गएको छ । रसुवा जिल्ला अदालतको पछिल्लो १० वर्षको तथ्यांक हेर्ने हो भने सम्बन्धविच्छेद गर्नेको संख्या बढेको पाइन्छ । रसुवा जिल्ला अदालतका स्रेस्तेदार मुना अधिकारीका अनुसार ०७०/७१ देखि हालसम्म दुई सय २६ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । जसमध्ये २१ वटा मुद्दा पुरुषले दर्ता गरेको र दुई सय ५ वटा महिलाले दर्ता गरेको मुद्दा रहेका छन् । 

अदालतमा आर्थिक वर्ष ०७०/७१ मा १२ वटा, ०७१/७२ मा १२ वटा, ०७२/७३ मा १२ वटा, ०७३/७४ मा १४ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । त्यसैगरी देवानी संहिता ऐन, २०७४ अर्थात् नयाँ मुलुकी संहिता कार्यान्वयनपश्चात् आर्थिक वर्ष ०७४/७५ मा २७ वटा, ०७५/७६ मा ४१ वटा, ०७६/७७ मा ३२ वटा, ०७७/७८ मा ३६ वटा, ०७८/७९ को साउनदेखि फागुनसम्म ४० वटा सम्बन्धविच्छेदका मुद्दा रसुवा अदालतमा दर्ता भएका छन् । 

मुलुकी संहिता लागू भएसँगै सम्बन्धविच्छेदका लागि सीधै अदालत पुग्ने पुरुषको संख्या बढेको रसुवा जिल्ला अदालतले जनाएको छ । मुलुकी ऐनले पुरुषले सम्बन्धविच्छेद गर्न चाहेमा पहिले स्थानीय निकायमा निवेदन दिनुपर्ने र त्यहाँ मिलापत्र नभएमा मात्र अदालत जानुपर्ने प्रावधान रहेकोमा मुलुकी देवानी संहिताले महिला र पुरुष दुवैले सम्बन्धविच्छेदका लागि सीधै अदालत जान पाउने अधिकार दिएको छ । प्रेमविवाह गर्ने, मागी र सामाजिक विवाह गरेका महिला र पुरुष  सम्बन्धविच्छेदका लागि अदालतसम्म पुगेको पाइएको छ । 

सम्बन्धविच्छेदको मुद्दा बोकेर पक्ष अदालत आउनेबित्तिकै फैसला हुँदैन । वादीले गरेको मागअनुसार अर्को पक्षलाई म्याद तामेल गर्ने, प्रतिउत्तर बुझ्नेलगायतका प्रक्रिया हुन्छन् । रसुवा जिल्ला अदालतका अनुसार पछिल्लो १० वर्षमा एक सय २८ वटा सम्बन्धविच्छेदका मुद्दाको मिलापत्र भएको छ । ६० वटाको दाबी पुगेको, सातवटाको दाबी नपुगेको र ३१ वटा डिसमिस भएको जनाइएको छ । 

त्यसैगरी जिल्लामा बहुविवाहका मुद्दा पनि बढ्दै गएको पाइएको छ । रसुवा जिल्ला अदालतमा आर्थिक वर्ष ०७१/७२ मा एक, ०७२/७३ मा एक, ०७३/७४ मा दुईवटा वहुविवाहका मुद्दा दर्ता भएका छन् । त्यसैगरी देवानी संहिता ऐन, २०७४ अर्थात् नयाँ मुलुकी संहिता कार्यान्वयनपश्चात् ०७४/७५ मा तीन, ०७५/७६ मा पाँच, ०७६/७७ मा चार र ०७७/७८ मा एउटा बहुविवाहको मुद्दा दर्ता भएको जनाइएको छ । 

हिंसा नै मुख्य कारण

रसुवा जिल्ला अदालतमा सम्बन्धविच्छेद र बहुविवाहको मुद्दा लिएर जाने महिला तथा पुरुषहरू करिब २० वर्षदेखि ४० वर्ष उमेर समूहका रहेको पाइएको छ । उनीहरूले करिब दुई वर्षदेखि तीन दशकसम्म सँगै समय बिताएको पाइएको छ । रसुवा जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालका अनुसार घरेलु हिंसा, मानसिक तनाव, अनावश्यक शंका, कुटपिट गर्नेलगायतको समस्या देखाउँदै महिलाहरू सम्बन्धविच्छेदका लागि अदालतमा आउने गरेको पाइएको छ । 

पुरुषहरू भने आफूखुसी हिँड्ने, जिम्मेवारी नलिने, दायित्व पूरा नगर्नेलगायतको समस्या देखाउँदै सम्बन्धविच्छेदका लागि अदालतमा आउने गरेका छन् । घरेलु हिंसा, वैैदेशिक रोजगार सम्बन्धविच्छेदको प्रमुख कारण रहेको उनले बताए ।त्यसैगरी स्तरवृद्धि हुँदै जानु, श्रीमान् विदेश श्रीमती नेपाल वा श्रीमती विदेश श्रीमान् नेपालमा हुँदा अन्य व्यक्तिसँग आकर्षित हुनु, सामाजिक सञ्जालको दुरुपयोगलगायतका कारण बहुविवाह बढ्दै गएको पाइएको उनले बताए । अधिकांशमा चेतनाको कमी, कानुनी ज्ञानको कमी रहेको पाइएकोसमेत उनले बताए ।

Published on: 31 March 2022 | Nayapatrika

Link

Back to list

;