s

घरदैलोमै रेमिट्यान्स भुक्तानी

घनश्याम खडका

यहाँका रेमिट्यान्स कम्पनीले बस्तीमै पुगेर रेमिट्यान्स ‘विप्रेषण’ सेवा दिन थालेका छन् । सञ्चारको सुविधाले गाउँमै सेवा प्रदायक कम्पनी खुलेपछि उनीहरूले घरघरै रकम पुर्‍याउन थालेका हुन् । 

गाउँबाट रेमिट्यान्स रकम लिन सदरमुकाममा झर्नुपर्ने बाध्यता हटेको छ । ‘गाउँमै सहकारी खुलेपछि विदेशबाट पठाएको रकम सोझै गाउँ घरमै पुग्न थालेको छ,’ स्थानीय पुष्कर भण्डारीले भने, ‘कम्पनीका प्रतिनिधिहरू नै झोलामा पैसा बोकेर ग्राहकको घरमा पुग्छन् । मोबाइलबाट कोड नम्बर म्यासेज गरी कम्फर्मेसन गरेपछि कागजी प्रक्रिया पुर्‍याएर दैलोमै भुक्तानी दिने गरिएको छ ।’

सदरमुकाम बाहिरका ताकम, दरबाङ, बाबियाचौर र उत्तरको भुरुङ–तातोपानीमा खुलेका सहकारी र विकास बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीसँगको सहकार्यमा रकम घरदैलोमै पुर्‍याउन थालेका हुन् । वित्तीय संस्था नपुगेका बस्तीमा तोकिएका व्यक्तिले प्रतिलाखको तीन सय रुपैयाँ पारिश्रमिक लिएर घरमै रकम पुर्‍याउने गरेका छन् । ‘सुरुमा १० हजार रुपैयाँ लिन पनि सदरमुकाम बेनी पुग्नुपथ्र्यो । गाडी भाडा, खाना खर्चमै १२–१५ सय रुपैयाँ सकिन्थ्यो,’ पश्चिम दुर्गम मुनाका रसलाल मगरले भने, ‘बाटोमा पनि लुटिने डर पनि उस्तै तर हिजोआज घरमै पैसा आउँछ ।’ 

खाडी मुलुकबाट मात्र म्याग्दीमा मासिक करिब ६ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स रकम भित्रने गरेको रेमिट्यान्स कारोबारी वित्तीय संस्थाहरूको तथ्यांक रहेको छ । जिल्लामा रेमिट्यान्स कारोबार गर्ने सबै सहकारी संस्थाले सदरमुकामका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको खाताबाट कारोबार गर्छन् । त्यसबाहेक आईएमई, प्रभु, फाइनान्स, माछापुच्छ्रे, बैंक अफ काठमाडौं लुम्बिनी, सिटिजन बैंकबाट रेमिट्यान्स कारोबार गर्ने गरेका छन् । 

‘टीटीमार्फत हामीकहाँ आउने रकमको मात्र हिसाब राख्न सकिएको छ, ग्राहकको खातामा सोझै आउने रकमका हिसाब राख्न सकिन्न,’ नेपाल बैंकका प्रबन्धक सूर्य बरालले भने, ‘खाडीबाहेक कोरिया, इराक गएकाले सोझै आफन्तको खातामा रकम जम्मा गर्छन् । भारतीय र बेलायती पूर्वलाहुरेको पेन्सनको पनि तथ्यांक छैन ।’

Published on: 21 February 2017 | Kantipur

Back to list

;