s

घर हिँडेका मजदुरलाई माथिको आदेश भन्दै राजमार्गमै रोकियो

हरिहरसिंह राठौर

धादिङ — भक्तपुर र बूढानीलकण्ठमा घर निर्माण गर्ने मजदुरहरू पृथ्वी राजमार्गमा अलपत्र परेका छन् । बिहीबार बिहान ३ बजे उपत्यकाबाट पैदल बर्दिया राजापुर जान हिँडेका ६ महिलासहित ४० जनाको समूह कलंकीबाट नारायणगढ जाने ट्रकमा चढेका थिए । बिहानै गल्छी पुग्‍नासाथ प्रहरीले ट्रकलाई काठमाडौं फर्काएको थियो ।

चितवन र धादिङको सीमा पुलमा बसेर विरोध गर्दै पश्चिम नेपाल जान हिँडेका पैदल यात्रु ।

ट्रकमा चढेका मजदुर भने नौबिसे खानीखोलामा ओर्लिएका थिए। ट्रकमा रहेको रावल चौधरीको समूह २० किलोमिटर हिँडेर गल्छी नपुग्दै भल्टारमा हेटौंडा जाने ना. ६ ख. १६३४ नम्बरको ट्रकँसग नारायणगढसम्मको २० हजार भाडा तिर्ने सहमति भयो।

गल्छीसम्म पैदल आउने अनि प्रहरी बिट कटेपछि ट्रकमा चढ्ने सहमति भएको थियो। उनीहरू करिब २ किलोमिटर हिँडेर गल्छीबजार कटे। तर, ट्रकको अत्तोपत्तो थिएन। चालकले मोबाइल स्वीचअफ गरेर भागे। हिँडेरै बर्दिया जान लागेको उक्त समूहलाई प्रहरीले लाठी प्रहारसमेत गरेको थियो। उनीहरू भागेर मासटार आएर बिसाए।

लकडाउन लम्बिएपछि यतिखेर पृथ्वीराजमार्ग पोका पन्तुरा बोकेर घर जान हिँडेका यात्रुले भरिएको छ। विभिन्‍न उमेर समूहका भारी बोकेकाहरू पश्चिम नेपाल जान हिँडेका छन्। पैदलयात्रुलाई पानी, खाजा र खानाको भने व्यवस्था गरिएको छ। प्रहरी रहेका ठाउँमा भने दुर्व्यवहार भएको उनीहरू बताउछन्। थांक्रे महादेवबेँसीस्थित शिक्षक रामचन्द्र रुपाखेती भन्छन्, 'हामीले स्थानीयस्तरमा सहयोग जुटाएर अशक्त तथा भोकले हिँडन नसक्नेहरूलाई बोलाएर खाना र खाजा दिएर पठाएका छौं।'

यसरी पैदल यात्रा गरिरहेकामा उपत्यकाका र नुवाकोट, धादिङका ईट्टा उद्योगमा काम गर्ने मजदुर छन्। भूकम्प पछि पुनर्निर्माणको काममा वाग्मती प्रदेश आएका पश्‍चिम नेपालका हजारौं मजदुर यतिखेर घरजान लर्को लागेका हुन्। 

पैदलयात्रुलाई गन्तव्यमा जान दिनेबारे चितवन र धादिङबीच विवाद 

काठमाडौं हुँदै पृथ्वीराजमार्गमा आएका हजारौं पैदल यात्रुलाई चितवन जिल्लाले सिमानामा रोक्दा विवाद चर्किन थालेको छ। 

हरेक दिन चितवन प्रहरीले पैदलयात्रु रोक्‍ने र पैदलयात्रुले विरोध स्वरुप नाराबाजी गर्दै काठमाडौं लैजान लागेका खाद्यान्‍ने रोक्‍ने क्रम जारी छ। चितवन जिल्लाले धादिङ सीमा मौवा खोलामै पैदल यात्रु र ट्रक चढेर आएका यात्रु रोकेपछि बिहीबार दिनभर तनाव भयो। 

जहाँको सास्ती सरकारले देख्दैन

लामो समयको लकडाउनका कारण घर हिँडेका विभिन्‍न जिल्लाका १ सय भन्दा बढी मजदुर धादिङ र चितवनको सिमाना मौवा खोलामा अलपत्र परेकाथिए। काठमाडौंबाट घर हिडेँका मजदुरलाई मौवाखोलामा चितवन प्रहरीले रोकेको हो।

बाँकेको राप्ती सोनारी गाउँपालिका- ४ का दिलबहादुर चौधरीले आफुहरू घर बनाउने काम गर्दै आएको र लकडाउनपछि काम बन्द हुनुका साथै खानपिनको समस्या भएपछि घर जान काठमाडौंबाट हिँडेको बताए। काठमाडौंमा मजदुरी गर्ने मजदुर बस्‍न र खानको सकस भएपछि कोही हिँडेर त कोही ट्रकमा चढेर लुकिछिपी गन्तव्यतिर जान लागेका हुन्।

मौवाखोलाका स्थानीयले पैदलयात्री मजदुरलाई चितवन प्रशासनले रोकेकोमा विरोध गर्दै चितवनबाट धादिङ प्रवेश गर्ने कुनै पनि सवारी साधन प्रवेश गर्न नदिएपछि स्थानीय र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो।

पैदलयात्री मजदुरलाई अलपत्र पार्न नहुने बताउँदै चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले पैदल यात्रीलाई रोक्‍न नहुने बताइन। काठमाडौंमा नै नरोकी बीच बाटोमा पुगेपछि रोक्‍नु ठीक नहुने उनको भनाइ थियो। 

धादिङको बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले मजदुरलाई बसबाट ओराल्दा स्थानीय जनतामा त्रास उत्पन्‍न भएको बताए।

प्रहरीसँग झडप भएपछि दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र स्थानीय तहका प्रमुखसमेतको उपस्थितिमा मौवाखोलामा बैठक बसेको थियो।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले चितवन जल्ला भएर पैदलयात्रु तथा ढुवानी साधनमा यात्रु बोक्‍न नदिने निर्देशन जारी गरेपछि प्रहरीले थप कडाइ गरेको थियो। बिहीबार पैदलयात्रुमाथि प्रहरीले रौकामा लाठी प्रहार गर्नुका साथै लछारपछार गरेको थियो। प्रहरीले बलप्रयोग गरेपछि पैदल यात्रुले मौवा खोला सिमाना पुलमा बसेर काठमाडौं जाने खाद्यान्‍न बोकेका सवारी साधन रोकेका थिए। त्यसपछि दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी उक्त पुलमा पुगेका थिए। 

प्रमुख जिल्ला अधिकारी असमान तामाङ र चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईबीचको वार्तापछि सवारी साधनमा चढेर आएकालाईजान दिने अलिखित सहमति भएको थियो। तर उक्त सहमति कार्यान्वयन भएन। 

धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र प्रहरी प्रमुख रवीन्द्र रेग्मीले काठमाडौं जिल्लाले नरोकेका पैदल यात्रुलाई जिल्लामा दुःख दिनुको साटो गन्तव्यमा जान दिनुपर्ने सुझाव दिएका थिए। चितवनका प्रमुख जिल्ला अधिकारी भट्टराईले भने माथिको आदेश प्राप्त नभएसम्म एक जिल्लाबाट अको जिल्ला प्रवेशमा रोक लगाउनु पर्ने अडान राखेका थिए।

रोकिएका मजदुर तथा पैदल यात्रुलाई बेनीघाट गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले खाजाको व्यवस्था गरिएको बताए। ईच्छाकमना गाउँपालिका अध्यक्ष गुरुङले पैदल यात्रुबारे संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय लिनुपर्ने सुझाव दिए। 

दुवै जिल्लाका सरकारी प्रतिनिधी बीच दिनभर छलफल भएपनि पैदलयात्रु पठाउने बारे निर्णय भएन। त्यसपछि पैदल यात्रु जबरजस्ती आफ्नो गन्तव्यमा हिँडेका थिए। पश्चिम नेपाल जाने पैदलयात्रु नारायणगढ बजार हुँदै नगएर दासढुंगा पसल तरेर गैडाकोट निस्कने गरेका छन्।

Published on: 17 April 2020 | Kantipur

Link

Back to list

;