s

घर आउन नपाएपछि भारतीय क्वारेन्टाइनमै किरिया

दिलबहादुर छत्याल

 

धनगढी  - मजदुरी गर्न भारतको उत्तराखण्ड गएका दार्चुला शैल्यशिखर नगरपालिका– १ का वासुदेव भट्ट लकडाउनका कारण सीमावारि आउन नपाएपछि दुई सातादेखि बलुवाकोटस्थित क्वारेन्टाइनमा छन्। कोरोना जोखिमबाट जोगिन नेपाल र भारत दुवैले लकडाउन गरेका छन्। दुवै देशले सीमाबाट हुने आवातजावत पनि बन्द गरेका छन्। यसै कारण भट्टलगायत नेपाली भारतीय भूमिमै रोकिन बाध्य भएका हुन्।

क्वारेन्टाइनको बसाइ सकेर घर आउने दिनको पर्खाइमा रहेकै बेला भट्टले आमालाई गुमाएका छन्। नेपाल आउन नपाएपछि उनी आमाको अन्त्येष्टिमा सहभागी हुन पाएनन्। घरमा आमा गोमतीको मृत्यु भएको खबर उनले मंगलबार पाए। उनी मंगलबारदेखि नै भारतीय क्वारेन्टाइनमा आमाको किरियामा बसेका छन्।

‘मेरा लागी दशा आएछ, आफ्नै भूमिमा जान नपाउँदा आमाको दाहासंस्कार पनि गर्न पाइनँ’, उनले  नागरिकसँगको टेलिफोन सम्पर्कमा भने, ‘भारतीय प्रहरीले जान दिन्छौं भनेका छन् तर  आफ्नै देशबाट अनुमति नपाउँदा रोकिएको छु।’

आमाको मृत्युको खबर पाएपछि मर्माहत उनले पौडेरै भए पनि महाकाली नदी पार गरेर घर आउने सोच बनाएका थिए। तर नेपाली पक्षको अनुमति नपाउँदा भारतीय पक्षले छाड्न नमानेकाले क्वारेन्टाइनमै किरिया बस्न बाध्य भएको उनले बताए। आमाको मृत्यु भएपछि घर आएर किरिया गर्ने वातावरण बनाइदिन दार्चुलाका नेतालगायतलाई आफूले हारगुहार गरे पनि सुनुवाइ नभएको उनले बताए।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुँवरले भट्टलाई परेको समस्याबारे जानकारी पाएपछि उनलाई घर ल्याउने वातावरण बनाउन पहल भइरहेको बताए। कुँवरले भारतीय क्वारेन्टाइन क्षेत्रका उपजिल्ला अधिकारीलाई पत्र पठाएर भट्टलाई घर ल्याउने प्रक्रिया सुरु गरेको बताएका छन्। ‘बलुवाकोट क्वारेन्टाइनमा वसेका वासुदेव भट्ट भारतीय पक्षको अनुमति नभएर घर आउन नपाएका हुन्, हामीबाट समस्या होइन। उनलाई घर आउने व्यवस्था मिलाउन मैले भारतीय पक्षलाई पत्र लेखेर पठाएको छु’, उनले भने। क्वारेन्टाइन स्थल नजिकै नेपाल–भारत सीमाक्षेत्रमा रहेको काठको पुलबाट उनलाई नेपाल प्रवेश गराउन सकिने उनको भनाइ छ।

दार्चुला जिल्लाको सीमापारि भारतीय भूमिमा पाँचवटा क्वारेन्टाइनमा करिब एक हजारजना भन्दा बढी नेपाली दुई सातादेखि क्वारेन्टाइनमा छन्। उनीहरुलाई भारतीय पक्षको समन्वयमै क्वारेन्टाइनमा राखेर खाने व्यवस्था पनि गरिएको छ। तर उनीहरुले पेटभर खान नपाएको र कोचाकोच भएर बस्नुपरेको गुनासो गरेका छन्।

Published on: 16 April 2020 | Nagarik

Link

Back to list

;