s

घर फिर्तीमा उडान संख्या बाधक

होम कार्की

काठमाडौँ — मलेसिया तथा खाडी मुलुकबाट घर फिर्तीका लागि प्रतीक्षारत नेपाली श्रमिकका लागि हवाई टिकटको व्यवस्थापनभन्दा पनि उडान नहुनु नै प्रमुख समस्याका रूपमा देखिएको छ । सरकारले स्वदेश फर्किने प्रतीक्षामा रहेका श्रमिकको मागका आधारमा उडानको प्रबन्ध गर्न नसक्दा श्रमिकमाथि एकपछि अर्को समस्या थपिँदै गएको छ ।

‘भारत, पाकिस्तान, बंगलादेशका मान्छेलाई भटाभट टिकट मिलिरहेको छ । तेरो देशको टिकट नै मिल्दैन त हामी कसरी पठाऔं भनेर उल्टो हामीलाई कम्पनीले बारम्बार प्रश्न गर्छ,’ संयुक्त अरब इमिरेट्स (यूएई) को रस्लाफान राज्यमा कार्यरत लक्ष्मण राईले टेलिफोनमा कान्तिपुरसँग भने, ‘हामीलाई कम्पनी आफैंले टिकट दिन्छ ।

तर कम्पनीले टिकट नै खरिद गर्न सकिराखेको छैन ।’ टिकट हुने श्रमिकका लागि विमान पठाउँदा सरकारलाई आर्थिक भार नपरे पनि सरकारले उडान थप्न चासो दिएको छैन । जसका कारण टिकट हातमा भएका श्रमिकसमेत विदेशमै अलपत्र छन् । सरकारले विदेशमा अलपत्र नेपाली श्रमिकलाई लक्षित गरी चार चरणसम्म उद्धार उडान गरिसकेको छ । आसन्न पाँचौं चरणसम्म आइपुग्दा फिर्ता हुने यात्रुको संख्या झन् घटाएपछि श्रमिकहरू स्वदेश आउन पाउने दिन अझ पर थकेलिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले उद्धार उडान सुरु गर्दा दैनिक २५ सयसम्म यात्रु ल्याउने निर्णय गरेको थियो । तर उद्धार उडानको पाँचौं चरणमा आइपुग्दा दैनिक ५ सय यात्रु मात्रै विदेशबाट ल्याउने निर्णय भएको छ । अझै प्रमुख गन्तव्य देश यूएईबाट ४४ हजार, कतारबाट १४ हजार, साउदी अरब र मलेसियाबाट १०/१० हजार, कुवेतबाट ५ हजार, ओमानबाट १५ सय र बहराइनबाट २ हजार जना स्वदेश फिर्ने सूचीमा छन् ।

यूएईमा कार्यरत विमलकुमार तामाङले आफैं टिकट खरिद गर्छु भन्दा पनि उडान नभएकाले टिकट पाउन नसकेको गुनासो गरे । ‘सबै ट्राभल एजेन्सीमा डुलिसकें, कसैले टिकट बेच्दैन । पहुँच भएकाले मात्रै टिकट पाइरहेको स्थिति देख्छु । हानथाप देखिन्छ,’ उनले भने, ‘हामीलाई सरकारी टिकट चाहिँदैन, मात्र उडान चाहियो ।’

साउदी अरबमा पनि समस्या उस्तै रहेको श्रमिकहरू बताउँछन् । ‘हामीले टिकट पाउनुअघि यहाँका ट्राभल एजेन्सीले नेपालमा तोकिएको खातामा पैसा पठाउनुपर्छ तर एजेन्सीहरूले यहाँ पैसा लिइरहेको छैन । बैंकमा जम्मा गरेको रसिद लिएर एजेन्सीमा गएपछि मात्रै टिकट पाइन्छ,’ साउदीको राजधानी रियादमा कार्यरत समेश थापाले भने । नेपाल एयरलाइन्सको टिकट लिनका लागि साउदीको अन्य क्षेत्रमा रहेकाहरू पनि रियाद नै आउनुपर्छ । ५ सयदेखि १५ सय किमि टाढाबाट रियाद आइपुगेपछि फर्किने टुंगो हुँदैन । ‘तोकिएको दिनमा उडान हुन्छ भनेर रियाद आयो । यहाँ आएपछि उडान रद्द भइसकेको हुन्छ । होटलमा बस्ने समार्थ्य हुँदैन । यस्तो बेला साथीभाइ वा आफन्त काम गर्ने कम्पनीको क्याम्पमा बास पनि मिल्दैन,’ ताबुकबाट रियाद आइपुगेका राम लिम्बूले भने ।

नेपालमा उडान हुने एयरलाइन्सले दूतावासलाई उडानको समयतालिका निकै ढिलो दिने गर्छ । ‘बुधबार हुने उडानको जानकारी सोमबार साँझ मात्रै आइपुग्यो । बुधबार जाने यात्रुको मंगलबारसम्म टिकट काटिएको थिएन । भन्नेबित्तिकै टिकट काट्न पाइँदैन । टिकट नभईकन साउदीबाट निस्कनका लागि कम्पनीले निष्कासन अनुमति (एक्जिट पेपर) निकाल्दैन । विमानस्थलमा जानका लागि यात्रुसँग आरडीटीको रिपोर्ट हुनुपर्‍यो । होटलको बुकिङ चाहियो । यी तयारीका लागि छोटो समयमा पुग्दैन,’ रियादस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘फेरि त्रिभुवन विमानस्थल ओर्लिएपछि घरसम्म कसरी पुग्ने हो थाहा छैन । श्रमिक अन्योलमा उडिरहेका छन् ।’

भिसा अवधि गुज्रिँदा जरिवाना

घर फिर्न प्रतीक्षामा रहेका तर आफैं टिकटको व्यवस्थापन गर्न नसक्ने श्रमिकको संख्या असाध्यै थोरै रहेको दूतावासहरू बताउँछन् । उडान अभावमा समयमै स्वदेश फर्किन नपाउँदा भिसाको अवधि गुज्रिएर श्रमिकहरू अनालेखबद्ध (गैरकानुनी) हुन थालेका छन् । त्यस्ता श्रमिकलाई यूएईले दैनिक जरिवानासमेत लिन थालेको छ । फलेक्स कम्पनीमा कार्यरत २५ जना नेपाली श्रमिकलाई प्रतिव्यक्ति १२ सय दिराम (झन्डै ३६ हजार रुपैयाँ) का दरले जरिवाना लागेको छ ।

स्वदेश फिर्न विमानस्थल पुगेका उनीहरूले जरिवाना रकम बुझाउन नसकेपछि क्याम्पमै फिर्ता हुनुपरेको थियो । कम्पनीले ‘तिमीहरूको देशले विमान नपठाउँदा जरिवाना लगेकाले आफैं जिम्मेवारी लिनुपर्ने’ भन्दै दबाब दिइरहेको उनीहरूको भनाइ छ । ‘उनीहरूको जरिवाना अब कसले तिर्छ ? श्रमिकले त सक्तैन,’ यूएई प्रवासी नेपाली एकता समाजका महासचिव टीकाराम नेपालीले भने, ‘यसको जिम्मेवारी हाम्रै सरकारले लिनुपर्छ । श्रमिकलाई खानाको प्रबन्ध छैन । समयमा आवश्यक उडानको प्रबन्ध नहुँदा श्रमिक एकपछि अर्को मारमा परिरहेका छन् ।’

घर फिर्ती प्रक्रियामा संलग्न संयन्त्रहरूबीच समन्वयको अभाव हुँदा श्रमिकहरूले सास्ती भोग्नुपरिरहेको छ । होटल र क्वारेन्टाइनको व्यवस्थापनको नेतृत्व गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पीसीआर नेगेटिभ रिपोर्ट लिएर आएका सिधै होम क्वारेन्टाइनमा बस्न पाउने बताएका थिए । तर, पीसीआर नेगेटिभ रिपोर्ट बोकेर आएकालाई समेत होल्डिङ सेन्टरबाट होटल पठाइएको छ । ‘दुबईबाट सोमबार राति काठमाडौं आइपुगेको हुँ । मसँग पीसीआर नेगेटिभ रिपोर्ट छ तर घर जान दिइएन । होटलमा आएर बसेको छु,’ भक्तपुरकी पार्वती तामाङले भनिन्, ‘प्रस्ट जवाफ दिने कोही छैन ।’

दूतावासहरूको बुझाइमा श्रमिकले पाइला–पाइलामा भोगिरहेको समस्या दैनिक उडान भएमा विस्तारै हल हुँदै जानेछ । १० हजारभन्दा बढी नेपाली कार्यरत कम्पनीले समेत चार्टर उडान माग गर्दा स्वीकृति पाएको छैन । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले दैनिक उडान निकै जरुरत रहेको बताए । ‘करार अवधि समाप्त भएका श्रमिक ५०/६० हजार नाघिसके । अब यी श्रमिकको रोजगारी निरन्तर हुन्छ कि हुन्न भन्ने विषय श्रमिक र रोजगारदाताबीचको आपसी छलफलले तय गर्छ । स्वदेश फिर्ने भए टिकट कम्पनीले नै दिनुपर्ने बाध्यकारी नियम छ,’ उनले भने, ‘तर हामीसँग उनीहरूलाई पठाउने आवश्यक उडान अनुमति नै छैन । अहिलेको मुख्य समस्या भनेकै उडानको अभाव हो, टिकटको होइन ।’

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले उडानसम्बन्धी अस्थिर नीतिले घर फिर्ती प्रक्रियामा समस्या बढेको बताए । ‘सीमित मात्रै उडान हुन्छ । जानेको ठूलो संख्या छ । जानेहरूले टिकट खर्चको जोहो गर्न सक्छन् तर टिकट छैन,’ उनले भने, ‘टाढा–टाढाबाट क्वालालम्पुर आउँछन् । घर जाने भनेर पकेट खर्च मात्रै राखेर आफूसँग भएको सबै पैसा घर पठाइसकेका हुन्छन् । बिना सूचना उडान रद्द हुन्छ । अनि विमानस्थलमा जाने यात्रु लगेज लिएर दूतावास आउने स्थिति छ । दूतावासले अर्को उडान नभएसम्म खुवाएर राख्नुपरेको छ । यी सबै अस्थिर निर्णयको परिणाम हो । यस्तो निर्णय लिने बेला दूतावाससँग सरसल्लाह नै गरिँदैन ।’

Published on: 26 August 2020 | Kantipur

Link

Back to list

;