s

घर फर्किरहेका दुई नेपाली भारतमा लुटिए

भारतमा काम गरेर घर फर्किरहेका दुईजना नेपाली भारतमा लुटिएका छन् । नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटिएका उनीहरूलाई नेपाल प्रहरीले त्रिनगर सीमा नाकाबाट उद्दार गरेको छ । कैलालीको गोदावरी नगरपालिका–७, लालपुरका ३५ वर्षीय गोपाल भाट र सोही नगरपालिकाको वडा नम्बर १२, ओलानीका ३८ वर्षीय नवराज जोशीलाई लुटपाट गरिएको प्रहरीले जनाएको छ ।

दुवैजना त्रिनगर नाकास्थित मोहना पुलमा बुधबार बिहान नशालु पदार्थले लट्ठिएको अवस्थामा भेटिएपछि उद्धार गरेर उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार दुवैजना अलग–अलग बसमा लुटिएका हुन् ।

भारतको चेन्नईमा काम गरेर फर्किरहेका जोशीको साथमा रहेको आठ हजार रुपैयाँ भारु र केही सामान लुटिएको प्रहरीले जनाएको छ । उपचारपछि जोशीले बरेलीबाट पलियातर्फ आउँदै गर्दा एउटै बसमा यात्रा गरिरहेका अछाम घर बताउने एक व्यक्तिले बिस्कुट खान दिएको प्रहरीलाई बताएका छन् ।

बिस्कुटमा नशालु पदार्थ मिलाएर लुटपाट गरिएको हुन सक्ने प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । सीमाको पुलमा लट्ठिएको अवस्थामा भेटिएका जोशीको साथमा एउटा मोबाइलबाहेक अरू केही नरहेको प्रहरीले जनाएको छ ।

यस्तै, भारतको हरियाणामा काम गरेर फर्किरहेका भाटले आफूसँग रहेको २० हजार रुपैयाँ भारु लुटिएको बताएका छन् । भारतको मथुराबाट गौरीफन्टा नाका आउनेक्रममा बझाङ घर बताउने एकजना नेपालीसँग चिनजान भएको र उनले चिसो पेय पदार्थ खान दिएको भाटले बताएका छन् । मोहना पुलमै भेटिएका भाटको साथमा केही पनि सामान नरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

नेपाली नै संलग्न रहेको प्रहरीको अनुमान

दुईजना नेपाली लुटिएको थाहा पाएपछि भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरेर नेपाल प्रहरीको टोली सीमावर्ती भारतीय गौरीफन्टासम्म पुगेको थियो । तर, लुटपाटमा संलग्नको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लुटपाटमा नेपाली नागरिकको पनि संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । दुवैजना उपचारपछि बुधबार नै घर फर्केका छन् ।

भारतमा काम गरेर घर फर्कनेक्रममा नेपाली लुटिने गरेका घटना बारम्बार दोहोरिने गरेका छन् । यात्राका क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा खाने, नेपाली भनेपछि अर्को व्यक्तिलाई विश्वास गरिहाल्ने प्रवृत्तिले लुटपाटका घटना हुने गरेका छन् । यात्राका क्रममा सावधानी नअपनाउँदा भारतमा नेपालीमाथि लुटपाटका घटना बारम्बार दोहोरिने गरेको प्रहरी नायब उपरीक्षक बस्नेतको भनाइ छ । भारतबाट काम गरेर फर्किनेक्रममा गौरीफन्टा र गड्डाचौकी नाकामा नेपाली कामदार लुटिँदै आएका छन् । प्रायः भारतीय भूमिमै घटना हुने गरेकाले लुटपाटमा संलग्न भने पक्राउ पर्दैनन् । सीमानाकामा खटिएका भारतीय सुरक्षाकर्मी र भन्सारका कर्माचारीबाट पनि घर फर्कने नेपालीमाथि लुटपाट र दुव्र्यवहार हुने गरेको छ ।

Published on: 14 November 2019 | Nayapatrika

Link

Back to list

;