s

घर फर्किनेसँग नेपाली सुरक्षाकर्मीबाटै रकम असुली

बिष्णुप्रसाद देवकोटा
 
काम गरेर घर फर्किने नेपालीहरुबाट गड्डाचौकी नाकामा पनि नेपाली सुरक्षाकर्मीहरुले रकम असुल्ने गरेको पाईएको छ । नाकामा काम गरेर फर्किनेहरुबाट नेपाली सुरक्षाकर्मीहरुले समेत रकम लिने गरेको पाईएको हो । काम गरेर फर्किनेहरुसंग चेकजाँचको वहानामा नेपाली सुरक्षाकर्मीहरुले समेत रकम लिइरहेको घरफर्किनेहरु बताउँछन् । भन्सारको ब्यारिएल नजिकै एक सशस्त्र प्रहरी जवान र भन्सारकै कर्मचारीले रकम लिएको काठमाण्डौ आरुबारीका श्याम घर्तीले बताए।
 
भारतीय प्रहरीलाई एकसय बुझाए, कष्टमका कर्मचारीले डेढ सय लिए’ उनले भने,‘ भन्सार नजिकै टाङ्गा चालकले नै प्रहरीलाई पैसा दिनुपर्ने छ भन्दै २०-२० रुपैया उठाएर डियुटीमा खटिएको सशस्त्र प्रहरी र भन्सारको कर्मचारीलाई दियो’ । ‘भारतीय क्षेत्रमा त रकम लिन्थे-लिन्थे आफ्नै ठाउँमा समेत पैसा बुझाउनुपर्छ’ उनले भने,‘ दुःख गरेर कमाएको पैसा त्यसै बुझाउनुपर्दा पिडा हुन्छ’ । १० जनासंग २० रुपैया हिसाबले दुईसय रुपैया टाङ्गा चालकले उठाएर सशस्त्र र भन्सारका कर्मचारीलाई बुझाएको हो । ‘यहाँका सुरक्षाकर्मीहरुले समेत रकम लिन छोड्दैनन्’ नाम नबताउने शर्तमा एक युवकले भने,‘ लुकिछिपी मौका हेरर यहाँका सुरक्षाकर्मीहरुले समेत टाङ्गामा चढेर आउने संग रकम लिने गरेका छन्’ ।
 
मुलुककै पश्चिमी नाका गड्डाचौकीमा अहिले दिनहुँ सयौंको संख्यामा नेपाली मजदुरको भीड देखिन्छ । नजिकिदै गरेको नेपालीहरुको महान चाड बडादशैं र तिहार मनाउन घर फर्किनेहरुको अहिले सीमामा लर्को छ । वर्षभरी मजदुरी गरेर परिवारजनसंग चाडपर्व मनाउन आउने उनीहरुलाई बनवासा देखी महेन्द्रनगर पुग्न भने निकै कठिनाई भोग्नुपर्ने वाध्यता रहेको छ । आधा घण्टाको बाटोमा ठाउँ-ठाउँमा हुने चेकिङ र रकम असुलीले उनीहरुलाई हैरानै बनाउने गरेको छ ।
 
भारतीय प्रहरी र कष्टम कर्मचारीलाई मात्रै होइनन् काम गरेर घर फर्किनेहरु आफ्नै भूमिमा पुग्दा समेत नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई रकम बुझाउन वाध्य छन् । भारतको बनवासा देखी महेन्द्रनगरसम्मको १२ किलोमिटरको यात्रा गर्दा ५ ठाउँमा चेकजाँच हुने गर्छ । ‘वर्षभरी मजदुरी गर्नुपर्छ, दशैंतिहार लगायत चाडपर्व मनाउन आउँदा ठाउँ-ठाउँमा पैसा दिनुपर्छ’ भारतको पन्जावबाट फर्किएका प्युठानका जनक सुनारले भने,‘ दुःख गरेर कमाएर ल्याएको पैसा ठाउँ-ठाउँमा बुझाउनुपर्दा नरमाइलो लाग्छ’ ।
 
सुरक्षाकर्मीहरुले समेत रकम असुलेको कुरामा प्रहरीका अधिकारी अनभिज्ञता प्रकट गर्छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई रघुनाथ भण्डारी नाकाका कसैले रकम मागेको गुनासो आए कारबाही हुने बताउँछन् । ‘ डियुटीमा खटिनेलाई कडा निर्देशन दिइएको छ’ उनले भने,‘ कसैले गुनासो गर्न आए डियुटीमा खटिएकालाई कारबाही हुन्छ’ । उनले टाङ्गाले बढि रकम असुलेको पाईए फिर्ता गराउने गरिएको बताए ।
 
गड्डाचौकीस्थित भन्सार तथा राजश्व सुरक्षा गुल्म गड्डाचौकीमा डीएसपी प्रेम पाण्डेय आफ्ना कर्मचारीले रकम मागेको भेटिए कारबाही गरिने बताउँछन् । ‘ वद्मासी हुन्न भनेर भन्न सक्दैन्, छड्के चेकजाँच गरिरहेको हुन्छु’ उनले भने,‘ रकम लिएको सम्बन्धित व्यक्तिले जाहेर अथवा कसैले प्रमाण दिए तत्काल कारबाही गरिन्छ’ । गड्डाचौकी भन्सार कार्यालयले नाकामा सीसी क्यामरा समेत जडान गरेको छ ।
 
Published on: 20 September 2017 | Annapurna Post

Back to list

;