s

घर खर्च टार्न भारत गएका उतै बिलाउँछन्

कालीकोट, साउन २१ गते । खाँडाचक्र नगरपालिका–१ का प्रकाश ताम्राकार घर खर्चको जोहो गर्न भारत जाने आउने गर्नुहुन्थ्यो। घरमा असारे काम सकेर दशैँ खर्च जुटाउन श्रीमती तथा बालबच्चाको शरीर ढाक्ने रकम जोह गर्न प्रकाश भारतको उत्तराखण्ड पुग्नुभएको हो।

घर बनाउँदा लागेको ऋण तिर्नका लागि २०७९ साल भदौ ३ गते भारत पसे पनि राम्रो कमाइ नभएकाले उहाँलाई एक पटक पनि घर फर्किने मन भएन। प्रकाशका साला बहादुरे विश्वकर्मा भन्नुहुन्छ, “अति मेहनती, मिलनसार, राम्रो बोली, कसैसँग पनि मनमुटाव नगर्ने मान्छेलाई कालले पनि छिटो लिने रहेछ।”

साउन १८ गते राति भारतको उत्तराखण्ड राज्यको केदारनाथ पैदल मार्गको पहिलो बिन्दु गौरीकुण्डमा आएको पहिरोले होटल बगाउँदा मान्मका तीन जनाको ज्यान गएको बताइएको छ। सो पहिरोमा परी १४ जना नेपाली र छ जना भारतीय नागरिकसहित २० जना बेपत्ता भएका छन्। सोही घटनामा उहाँहरूले पनि ज्यान गुमाउनुभएको आफन्तले बताएका छन्। निकै भावुक हुँदै बहादुरेले आफ्ना दुई भान्जाभान्जी र दिदीलाई अब जिउन गाह्रो हुने बताउनुभयो। प्रकाशसँगै वडा नं २ का देवी विश्वकर्मा र टेक विश्वकर्माको पनि पहिरोमा परेर ज्यान गएको बताइएको छ।

पहिरोले होटल बगाएपछि नदी किनारमा प्रकाशसहितका तीनै जनाको शव भेटिएको परिवारका सदस्यले बताएका छन्। खाँडाचक्र नगरपालिका वडा नं १ का वडाध्यक्ष धर्मराज ताम्राकारले नेपालमा केही रोजगारी नभएकाले घर खर्च जुटाउन भारत पुगेकाहरू पैसा जोह गरेर फर्किन नपाएको दुःखान्त घटना सुनाउनुभयो।

उक्त पहिरोमा कालीकोटका तीन जनाको मृत्यु भएको छ भने अन्यको विवरण आउन बाँकी छ। जुम्लाका एकै परिवारका सात जना पनि सोही पहिरोमा बेपत्ता भएको समाचार सार्वजनिक गएको छ तर शव भने नभेटिएकाले यकिन हुन भने बाँकी रहेको छ।

आर्थिक विपन्नता र गरिबीसँगै कर्णालीबाट कामको खोजीमा भारतको उत्तरी पहाडी तथा दुर्गम क्षेत्रमा मजदुरी गर्नेहरू धन कमाउने र घर खर्च टार्ने आशामा उतै ज्यान गुमाउने गरेका छन्। वडाध्यक्ष ताम्राकारले भन्नुभयो, “घर खर्च टार्न भारत गएका कतिपय नेपाली उतै बिलाउँछन्।”

Published on: 7 August 2023 | Gorkhapatra 

Link

Back to list

;