s

घर फिर्तीमा पुगेकी डोल्मा फेरि जेलमा

हत्या अभियोगमा कुवेतको केन्द्रीय जेलमा आजीवन कारावास भोगिरहेकी डोल्मा शेर्पालाई एकाएक आममाफी दिइयो । नेपाल फर्काउन फिर्ती केन्द्रमा पुर्‍याइयो पनि । तर, 'आवश्यक कागजातबाट पुष्टि नपाउँदा' उनलाई फेरि कारागारमै लगिएको छ । 

चार वर्षअघि फिलिपिनो सहकर्मी हत्या अभियोगमा थुना परेकी डोल्मालाई अदालतले सुरुमा मृत्युदण्ड सुनाएको थियो । पछि पुनर्विचार गर्दै आजीवन कारावासमा झार्‍यो । सजाय छुट हुँदै गएर उनले आममाफी नै पाइन् । २०१२ को जुनमा नेपाल फर्काउने गरी प्रक्रिया अघि बढाइएकी उनलाई फेरि जेलभित्रै राखिएको हो ।

खाडी मुलुकमा हत्या अभियोगमा परेकालाई सामान्यतया आममाफी नहुने भए पनि कुवेतस्थित दूतावासले गत वर्ष 'डोल्मालाई एम्नेस्टी दिन' त्यहाँका अमिरलाई अनुरोधपत्र बुझाएको थियो ।

'डोल्मालाई केन्द्रीय जेलबाट घर फिर्ती केन्द्रमा लगेर फेरि जेल फिर्ता लगिएको थाहा भएको छ,' कुवेतस्थित राजदूत मधुवन पौडेलले कान्तिपुरसँग भने, 'केन्द्रमा डोल्माका सजाय र फैसलाबारे सबै प्रक्रियाको फाइल नरहेको हुनाले फेरि जेल फर्काइएको भन्ने जानकारी आएको छ ।'

एक वर्षअघि कुवेतमा दूतावास खोलिनुअघि कुवेत मामिला साउदी अरबको रियादस्थित दूतावासले हेथ्र्यो । डोल्माबारे सबै कागजात र फाइल रियादमै रहेको राजदूत पौडेलले बताए ।

घर फिर्ती केन्द्रमा डोल्माको स्थिति बुझ्न आइतबार गएका दूतावासका कन्सुलर पुष्प भट्टराईलाई त्यहाँका अधिकारीले 'हैसियत स्पष्ट नभएको' -स्टाटस नट क्लियर) भन्दै उनलाई जेल फिर्ती गरिएको बताएका थिए । भट्टराईले आइतबारै जेलमा गएर डोल्मालाई भेटेका थिए । 'मलाई घर फिर्तीमा लगेर फेरि किन फर्काइयो, थाहा भएन,' डोल्माले भनेकी थिइन् ।

अन्तर्राष्ट्रिय चासो र ध्यानाकर्षणको विषय भएकाले डोल्मा शेर्पाको सजायलाई कुवेती अमिरबाट माफी -(एम्नेस्टी) भएको अनुमान गरिएको छ । 'डोल्माबारे बुझ्न सोमबार विदेश मन्त्रालयमा पत्राचार गर्छौं,' राजदूत पौडेलले भने ।

Published on: 23 May 2011 | Kantipur

Back to list

;