s

घर फर्किने दिन युएईमै अस्ताइन् सुकमाया

युएईको सारजामा कार्यरत चितवन आँपटारीकी सुकमाया टमाटा बुधवार काम सकेर किनमेल गर्न बजार निस्किइन् ।साथीहरुसँग नजिकैको बजारमा दैनिक उपभोग्य सामान लिन गएकी उनी त्यहीँ अचानक बेहोस भएर लडिन् । साथीहरुले उठाएर उनलाई कोठासम्म ल्याए । कोठा ल्याउने क्रममा लिफ्टमा पुनः अचेत बनेपछि साथीहरुले नै अजमानस्थित खलिफा अस्पताल पुर्‍याए ।

सुकमायाको उपचारमा चिकित्सकले सक्दो प्रयास गरे । तर डिसेम्बर ५ तारिख बिहान चिकित्सकले उनलाई मृत घोषणा गरे ।

चिकित्सकका अनुसार अस्पताल ल्याउँदै गर्दा उनलाई बचाउन सकिने आशा न्यून थियो । मुटुमा गम्भीर समस्याले थलिएकी सुकमायाको हृदयाघातका कारण मृत्यु भएको चिकित्सकको भनाइ छ ।

युएईमै कार्यरत उनका भाइ कमल टमाटाले बिहीवार साँझ खबर पाए । बिहीवार बिहान नेपाल जान तयार भएकी दिदी भम्भीर अवस्थामा अस्पतालमा भएको खबरले नि:शब्द थिए ।

छिमेकी दाइ मनोज विकको साथमा उनी अस्पतालमा पुगे । बिहीवार साँझ घर पुग्ने तयारीमा रहेकी दिदीलाई कफिनमा देख्ने साहस कमलसँग थिएन।

आँखा भरी आँसु पार्दै कमलले सुनाए, ‘घर गएर उपचार गराउने भनेको थियो । तर हामीलाई छोडेर जानुभयो । अब दिदीको कहिल्यै उपचार नहुने भयो।’

२३ वर्षीया सुकमायाको घरमा श्रीमान र ४ वर्षकी छोरी छिन् । श्रीमान नेपालमै प्लम्बरको काम गर्छन् । २ वर्षअघि उनी रोजगारीका लागि युएई आएकी थिइन् ।

सारजास्थित एक विद्यालयमा हाउसकिपिङ्गको काम गर्थिन् । एक महिनाअघि मात्र घर गएर आएकी थिइन्।

तिहारमा भाइलाई यतै टीका लगाइदिएकी उनले मुटुमा केही समस्या भएको बताएकी थिइन् । भाइ कमलका अनुसार यहीँ आएर जाँच गर्दा मुटुमा समस्या रहेको र चाँडै उपचार गराउन चिकित्सकले सुझाएका थिए

युएईमा उपचार गर्दा धेरै खर्च लाग्ने भएकाले सुकमाया डिसेम्बर ५ तारिख (बिहीवार) नेपाल फर्कने तय भएकाे थियाे । तर त्यही दिन नै सुकमाया कहिल्यै नफर्कने गरी युएईमै अस्ताइन् ।

पोस्टमार्टमपछि उनको शव अहिले अजमानस्थित खलिफा अस्पतालमा राखिएको छ । उनले पाउने सेवासुविधा कार्यरत कम्पनीले उपलब्ध गराउने जनाएको छ ।

आवश्यक कागजात पूरा गरेर शव नेपाल फर्काउन दूतावाससँग समन्वय भइरहेको उनका भाइ कमलले जानकारी दिए ।

Published on: 9 December 2019 | Onlinekhabar

Link

Back to list

;