s

घर फर्किन खोज्नेले टिकट पाएनन्

Hom Karki

चाडपर्वको अवसरलाई मौका छोपेर खाडीबाट बिदामा घर जाने नेपाली कामदारलाई हवाई टिकट पाउन हम्मे परेको छ ।

घर जाने कामदारको चापको आधारमा खाडीमा उड्ने विमानले हवाई टिकट उपलब्ध गराउन नसक्दा टिकटको अभाव हुन थालेको हो । विमानहरूले फुल सिट राखेर टिकटहरू बिक्री गरिसकेको ट्राभल एजेन्सीहरूले जनाएका छन् ।

'दसैंका लागि भनेर बिदा मिलाएर घर जान खोजेको थिएँ, टिकट नपाएर तनाव भइरहेको छ,' नेपाल एयरलाइन्सको काउन्टरमा भेटिएका रूपन्द्रेहीका अनील कुँवरले भने, 'घरबाट जसरी पनि आउन भनिरहेका छन्, यता टिकट छैन ।'

'दसैं अघिसम्मको सबै टिकट बिक्री भइसकेको छ,' दोहास्थित नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर विजय शाहले कान्तिपुरलाई भने, 'अब आउने सेवाग्राहीलाई दसैंअघि टिकट उपलब्ध गराउन सकिने अवस्था छैन ।'  

यसबेला टिकटको अभाव हुने भनेर घर जाने समय निश्चित भइसकेकाहरूले पहिले नै खरिद गर्नेलाई मात्रै राहत भएको छ । त्यसरी निश्चित हुनेले दुई महिनाअघि नै टिकट बुकिङ गरेर लिएका हुन् ।  यो ्रबेला सबै विमान कम्पनीले उच्च भाडादर लिएका छन् । त्यस्तो भाडादर २२ सय रियालसम्म लिएको छ ।

ट्राभल एजेन्सीहरूका अनुसारमा सबै एयरलाइन्सको सिस्टममा अधिकांश जहाजको सिट फुल भइसकेको छ । सबैभन्दा बढी कामदार रहेको कतारमा नेपाल एयरलाइन्सले दसैंको चापलाई मध्यनजर गरी थप दुई उडान थपेको छ । सातामा दुई उडान भर्दै आएको उसले अक्टोबर १२ देखि दुई उडान भर्ने भएको शाहले बताए ।

ओभरसिज ट्राभल एजेन्सीमा कार्यरत विनोद भट्टराईले सिस्टममा नेपालमा जाने सबै जहाज भरिएको देखाउन थालेको बताए । 'हामीमा टिकटका लागि धेरैको फोन आउने गरेको छ,' उनले भने, 'सिट नभएपछि फर्काउन थालेका छौं ।'

यो पटक दसैंतिहार मुस्लिमको इद र पर्यटकीय सिजन एकैपटक भएकाले झन् टिकटको अभाव भएको उनले बताए । सिजन भएकाले हवाई भाडादर पनि निकै महँगो परेको छ । कतारबाट कतार एयरवेजले दैनिक चार उडान भर्ने गरेको छ । नेपाल उड्ने कतार एयरवेजले पश्चिमी मुलुकबाट आएका नेपाली र पर्यटकलाई पहिलो रोजाइमा पारेको छ । त्यसपछि मात्रै कतारमा कार्यरत कामदारको पालो आउने भएको छ । 'कतार विमानस्थल पश्चिमको हव भयो,' भट्टराईले भने, 'जसले गर्दा टिकट पाउन झन् मुस्किल भएको छ ।'

यूएईबाट फ्लाई दुबई, इत्तिहात, राक एयरवेजले दैनिक एक र एयर अरेबियाले दुई उडान भर्ने गरेका छन् । यो साउदी, इराक र अफगानिस्तानमा काम गर्ने नेपालीको ट्रान्जिट हो । त्यस्तै, ओमन र बहराइनले एक एक उडान भर्छ । ओमन कुवेतमा काम गर्ने नेपालीको ट्रान्जिट हो ।

'खाडीका सबै मुलुकमा नेपालीको चाप निकै छ । त्यो चापलाई थेग्न सक्ने विमान छैन,' एनआरएनका गल्फ संयोजक नरेन्द्र भाटले भने, 'चाडपर्वमा घर जान चाहने धेरै नेपाली घर जानबाट वञ्चित भएका छन् ।'

Published on: October 2012 | Kantipur

Back to list

;