s

घर छन्, खाली छन्

भवानी खड्का

‍दोलखा : कालिञ्चोक गाउँपालिका–४ हिलेपानीको घिमिरे टोलमा ३६ घर छन्। तर, २२ घर खाली छन्। यी त उदाहरण मात्रै हुन्। धेरैजसो गाउँमा बसोबास गर्नेको संख्या घट्दो छ। कतिपय गाउँमा ताल्चा लगाएका घर मात्र भेटिन्छन्।

घिमिरे टोलका अधिकांश बासिन्दा थातथलो छोडेर सहरतिर बसाइँ गएकाले घरहरू खाली रहेको स्थानीयवासीको भनाइ छ। उनीहरू टोलका धेरै व्यक्ति २०–२५ वर्ष अघिदेखि नै गाउँ छाडेर गएका हुन्। स्थानीयवासी सीता सुवेदीले भनिन्, ‘भूकम्पपछि भत्किएका घर पुनर्निर्माण गर्न आए पनि बस्न भने आएका छैनन्।’

खाली घरका अधिकांश परिवार काठमाडौंमै स्थायी रूपमा बसोबास रहेको र देवालीमा भने गाउँ फर्कने गरेको स्थानीयवासी बताउँछन्। ६० को दशकसम्म घिमिरे टोलका अधिकांश घरमा परिवार रहने गरेको तर पानीको समस्याका कारण गाउँबाट विस्थापित बन्नु परेको सुवेदीको भनाइ छ।

घिमिरे टोलमा भूकम्पपछि बनेका दुई कोठे अधिकांश घरमा ताला लागेका छन्। ‘सुनसान घरहरू देख्दा र पानीको अभाव झेल्नुपर्दा हामीलाई पनि विरक्त लाग्ने गर्छ’, अर्का स्थानीयवासी राजकुमार कार्कीले भने, ‘तर जाने ठाउँ कतै नभएकाले गाउँमै बसेका छौं।’

यो टोलमा विगतदेखिनै केही उब्जनी नहुने र पानीको सधैं समस्या खेप्नुपर्ने भएकैले बसाइँ सर्न बाध्य हुने गरेको स्थानीयवासी बताउँछन्। ‘पानीको अभावका कारण जमिनै सुक्खा छ। गहत, झुसेतील र फापरबाहेक अरू चिज उत्पादन नै हुँदैन’, सुवेदीले भनिन्। पिउने पानी र अन्य घरधन्दाका लागि ठूलो पँधेरो पुगेर पानी ल्याउँदा एक घण्टै बित्ने उनको भनाइ छ।

अन्य कृषि उत्पादनमा मेहेनत गरे पनि युग अनुसार त्यसको आम्दानिले मात्र नपुग्ने भएपछि पनि छिमेकी बसाई सरेर गएको स्थानीयवासी बताउँछन्। कालिञ्चोक गाउँपालिका–४ का वडा अध्यक्ष दीपक खुलाल वडा कार्यालय र प्रदेश सरकारको बजेटले कालिञ्चोक गाउँपालिकाको मिरेक्पाखोला र जुगेपानीमा ट्याङ्की निर्माण भएकाले आर्थिक वर्ष ०८०-८१ भित्र एक सय २७ घर धुरीलाई खानेपानीको व्यवस्थापन गरिने बताउँछन् ।

Published on: 27 April 2023 | Annapurna Post

Link

Back to list

;