s

घर बनाउन विदेशबाट फर्के युवा

उनी भर्खरै कुवेतबाट काठमाडौं ओर्लेका रहेछन्। खल्तीमा नेपाली एक रुपैयाँ थिएन। अलिअलि चानचुन कुवेती दिनार थियो, त्यो पनि साट्नै भ्याएनन्।

‘दाइ, पैसा साट्न भ्याइएन, एकदमै हतार भयो, त्रिशूली पुगेपछि जसरी पनि दिउँला, अहिलेलाई त्यहाँसम्म लगिदिनू है?' राजधानीको बालाजु, माछापोखरीमा मंगलबार बिहान काठमाडौं–त्रिशूली चल्ने माइक्रोबसका चालकसँग अनुनय गरिरहेका थिए, नुवाकोट, तुप्चेका जीवन (केवल) बखती।

जीवन कुवेतबाट हतारिँदै नेपाल फर्कनु र पैसाधरि साट्न नभ्याउँदै गाउँ हान्निनुको कारण ठम्याउन मुस्किल थिएन।

‘घर भत्केको छ, बनाइदिने कोही छैन, परिवारलाई हेर्ने पनि कोही छैन,' त्रिशूलीसम्मको साँघुरो नागबेली सडकमा माइक्रो हुइँकिँदै जाँदा उनले मनको बह फुकाए, ‘कतिखेर घर पुगौंजस्तो भइरहेको छ।'

अघिल्लो शनिबारको महाभूकम्पले जीवनको घर मात्र भत्काएको छैन, १५ वर्षीय छोरालाई पनि घाइते बनाएको छ। घरको छाना र भित्ता खसेर थिचिएका छोरालाई आमाले निकै कष्टसाथ उद्धार गरेकी हुन्। तीन दिनसम्म त जीवनले खबरै पाएनन्। जब टेलिफोन सम्पर्क भयो, उनले आफूलाई थाम्नै सकेनन्। घर माटो बनेपछि परिवारको कन्तबिजोग भयो भन्ने अनुमान मात्रले उनको जिउमा काँडा उमि्रए। सोचे, गाउँका धेरै युवा वैदेशिक रोजगारनिम्ति बिदेसिएका छन्। भत्केका घर मर्मतसम्भार वा अस्थायी ओतको बन्दोबस्त कसले गरिदिने?

‘जसरी हुन्छ छिटोभन्दा छिटो गाउँ पुगेर आफ्नो र सकेजति घर मर्मत गरी ओत लाग्ने ठाउँसम्म बनाइदिने विचार गरेको छु,' उनले भने।

मनमा अठोट त गरे, तर साथमा पैसा थिएन। कम्पनीसँग माग्दा नियमित बिदाअगावै घर जान अनुमति दिएन। पाकेको तलबसमेत दिन मानेन। ‘धेरै गाह्रो भयो, तर मेरो गाउँ र देशलाई नै आफ्नो खाँचो छ भन्ने लागेपछि म थामिन सकिनँ,' उनले भने, ‘पाकेको तलबको माया मारेर साथीभाइसँग १०–१० दिनार सरसापट गरी उडिहालेँ।'

यो जीवनको परिवार वा तुप्चेगाउँको मात्र व्यथा होइन। केही वर्षयता वैदेशिक रोजगारको बढ्दो चलनसँगै अधिकांश गाउँ युवाविहीन छन्। दिनकै १५ सयभन्दा बढी युवा रोजगारनिम्ति बिदेसिइरहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। स्वदेशमा काम पाउन मुस्किल भएर समृद्ध जीवनको आस गर्दै बिदेसिएका युवा आपतको घडीमा घरपरिवारसँग नहुनुको पीडा खेपिरहेका छन्, सात समुद्रपारि। 

उनीहरू फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालमार्फत आफ्नो दुःख अभिव्यक्त गरिरहेका छन्। परिवारका सदस्यलाई रातदिन टेलिफोन गरेर सन्चोबिसन्चो सोधिरहेका छन्। तर, यस्ता अप्रत्यक्ष कुराकानीबाट उनीहरूको घाउमा मलम लागेको छैन। गाउँमा रहेका परिवारले पनि आफ्ना छोरा वा श्रीमान बिदेसिनुपर्दाको पीडा विपतको घडीमा बढ्ता महसुस गरेको बताएका छन्।

‘हाम्रो त बिजोग थियो, थातथलो नै खोसिएपछि कम्ता बिजोग हुने रहेनछ!' जीवनकी पत्नी मुनाले भनिन्, ‘उहाँ फर्केपछि अलि ढुक्क भएको छ, कम्तीमा भत्केको घर बनाइदिने मान्छे त भयो।'

जीवनको परिवारमा दुई छोरा र श्रीमती छन्। चार वर्ष मलेसिया बसेर उनले केही जग्गा जोडे। ऋण खोजेर १० लाख रुपैयाँमा घर बनाए। घर बनाउँदाको साढे ३ लाख ऋण अझै तिरिसकेका छैनन्। ‘दुई वर्षपछि विदेश नजाने, यतै बस्ने योजना थियो,' उनले भने, ‘अब भूकम्पले फेरि जानुपर्ने अवस्था आयो, म माइनसमा गएँ।'

उनका अनुसार कुवेतमा सँगै कम्पनीमा काम गर्ने ७ सयभन्दा बढी नेपाली छन्। नुवाकोटकै साथी थुप्रै छन्। उनीहरू सबै गाउँ फर्कन चाहन्छन्। पाकेको तलब छाडेर आउने अवस्थामा भने छैनन्। दूतावासले भूकम्प प्रभावित जिल्लाका कामदारलाई घर फर्किने वातावरण बनाइदिन सम्बन्धित कम्पनीसँग आग्रह गरे पनि सुनुवाइ नभएको उनले बताए।

‘पासपोर्ट नदिए दूतावासमा उजुरी गर्छु भनेपछि बल्ल मैले अनुमति पाएँ,' उनले भने, ‘अरू साथीहरूको पनि यस्तै हाल छ, उनीहरूको मन यहाँ छ, तर कम्पनीले बिदा र तलब नदिएकाले घर फर्कन पाइरहेका छैनन्।'

सदरमुकामसँगै जोडिएको उनको गाउँ तुप्चे भूकम्पबाट सबैैभन्दा बढी प्रभावित छ। एक–दुईबाहेक कुनै घर सग्ला छैनन्। सबभन्दा ठूलो कुरा, गाउँमा ती घर बनाइदिने पनि कोही छैनन्। ‘हाम्रो गाउँको मात्र कुरा होइन, देशका युवाजति जम्मै बिदेसिएका छन्, धेरै गाउँमा महिला, केटाकेटी र बूढाबूढी मात्र छन्, यति ठूलो विपतमा उनीहरूलाई एक्लो छाड्नु हामी सबै हुतिहारा हुनु हो,' जीवनको भनाइ छ।

उनले त्रिशूली बसपार्कमा ओर्लनेबित्तिकैनजिकै एक परिचितको पसलबाट ५ हजार रुपैयाँ सापट लिएका थिए। र, त्यसैबाट माइक्रोभाडा तिरेका थिए।

त्रिशूली बसपार्कमै भेटिएका कल्याणपुर, देउडीका भरत आलेमगर पनि जीवनकै अवस्थाबाट गुज्रेर गाउँ फर्केका हुन्। घर भत्केर परिवारको बिजोग भएको खबर पाएपछि उनी पनि पाकेको तलब माया मारेर आएका छन्। घर भत्किए पनि परिवारका सबै सकुशल रहेकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘भूकम्प गएको दिनदेखि गाउँमा बिजुली छैन, मोबाइलसमेत चार्ज गर्ने ठाउँ नभएपछि सम्पर्कविच्छेदको अवस्था छ, यस्तोमा आफू मात्र कसरी विदेश बसिरहुँ भनेर फर्किएँ।'

घर बनाउँदा लिएको ऋण तिर्न उनी डेढ वर्षअघि साउदी अरबको कन्स्ट्रक्सन कम्पनीमा काम गर्न गएका थिए। ‘साउदीको मरुभूमिमा बगाएको रगत–पसिना सबै भत्कियो,' डेढ वर्षअघि साउदी गएका भरतले भने, ‘विदेश जाँदा र घर बनाउँदा लिएको ऋण बल्लतल्ल निखनेको थिएँ, अब नयाँ बनाउन फेरि ऋण लिनुपर्ने अवस्था आयो।'

उता, सामरीका तेजबहादुर मगर सोमबार मात्र युएईबाट घर फर्केका छन्। उनलाई भने त्यहाँको भारतीय कम्पनीले १५ दिनको बिदा दिएको रहेछ। त्यस अवधिमा नेपाल बसेको पनि तलब पाउने सुविधा उनलाई छ। ‘६ महिनाभित्र गए पनि जागिर जाँदैन भनेको छ,' उनले भने, ‘यही सुविधा सबै कम्पनीले दिएका छैनन्।'

यो अवधिमा आफ्नो र गाउँमा आफूले सकेजति घरको मर्मतसम्भारमा सहयोग पुर्याँउने योजना रहेको भरत र तेजबहादुरले सुनाए।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला पनि गाउँ युवाविहीन अवस्थामा रहेकाले उद्धार तथा राहत वितरणमा समस्या भोग्नुपरेको बताउँछन्। भूकम्पले भग्नावशेष घर पुनःनिर्माणको चरणमा पनि यसले थप समस्या पार्नसक्ने उनको भनाइ छ।

‘सबैभन्दा खट्किएको अवस्था उद्धारमा देखियो। पहिले कोही विपत्तिमा पर्दा बोकेरै भए पनि अस्पताल लैजाने काम हुन्थ्यो। अहिले भूकम्पमा घाइतेलाई अस्पताल ल्याउन पनि हेलिकप्टर पठाउनुपर्ने अवस्था आयो। दुई दिन, तीन दिनसम्म हेलिकप्टर पर्खिने काम भएको छ,' उनले भने, ‘यो सबै युवा बिदेसिँदाको नतिजा हो।'

यति हुँदाहुँदै विपतको घडीमा कतिपय युवा स्वस्फूर्त गाउँ फर्किनु सकारात्मक रहेको उनले बताए।

त्रिशूली बसपार्कमा पसल चलाउँदै आएका राजेन्द्र अमात्यले पनि वैदेशिक रोजगारमा गएकाहरू केही दिनयता भूकम्पका कारण घर फर्किने क्रम बढेको बताए। उनका अनुसार यही भेगमा मात्र ५०–६० जना फर्केका छन्। दिनदिनै यो संख्या बढ्दैछ। नुवाकोटको पश्चिम क्षेत्र, उत्तरपूर्वी धादिङ र रसुवा जानेहरू त्रिशूलीको बाटो प्रयोग गर्छन्।

गाउँ सम्झेर घर फर्केकाहरूले यसपालि हवाई भाडा पनि बढी तिर्नुपरेको छ। अरू बेला कुवेतबाट ४५ दिनारसम्ममा काठमाडौं आइपुगिनेमा यसपालि १ सय २० दिनारसम्म तिर्नुपरेको जीवनले बताए।

Published on: 6 May 2015 | Nagarik

Back to list

;