s

घाना पुगेर टुंगियो २८ लाख तिरेर अमेरिका जान हिँडेका उनको यात्रा

दाङका २६ वर्षीय प्रवीणकुमार (नाम परिवर्तन) ले गत वर्ष त्रिचन्द्र क्याम्पसबाट स्नातक अन्तिम वर्षको परीक्षा दिए।

नतिजा आउन महिनौं समय लाग्ने भएकाले उनी फुर्सदमा थिए। फुर्सदमा के काम गर्ने टुंगो थिएन। उनले चिनेजानेका मान्छेसँग जागिरका लागि अनुरोध गरे। आफैं पनि जागिर खोज्दै धेरै ठाउँ भौंतारिए। सीप र अनुभव नभएका कारण उनले जागिर पाउन सकेनन्।

एसएलसी पास भएपछि उनलाई बुवाले काठमाडौं पढ्न पठाएका थिए। बुवा दाङकै एक विद्यालयमा प्रधानाध्यापक छन्। उनकै कमाइले परिवार चलेको थियो।

स्नातक पढुञ्जेल बुवाले पैसा पठाइरहेका थिए। परीक्षा सकिएपछि प्रवीणले काठमाडौंमा अडिने आधार पाएनन्। जति कोशिस गरे पनि जागिर नपाइएपछि के गर्ने भन्ने अन्यौलमै केही महिना बित्यो।

उनलाई काठमाडौंको महँगीमा बस्न-खान मात्रै घरबाट पैसा माग्न मन लागेन। केही गर्दा पनि पार नलाग्ने देखिएपछि बुबाआमाको सल्लाहमा उनी गाउँ फर्किए। गाउँघरमा दुई-चार दिन रमाइलै भयो। तर बिस्तारै आफन्त र नातेदारले उनकाबारे प्रश्न सोध्न थाले।

आफन्तहरूले ‘काठमाडौंबाट हल्लिएर आयो, अब के गर्ने हो, जागिर पनि छैन’ भनेको सुन्दा उनको मन दुख्थ्यो।

त्यति बेला उनको गाउँमा अवैध बाटो हुँदै अमेरिका जान सकिने हल्ला खुब चलेको थियो। गाउँकै केही मानिसहरू त्यसरी अमेरिका पुगेका पनि रहेछन्। गैरकानुनी बाटो भएकाले सुरूमा उनले यसबारे खासै चासो राखेनन्।

गत असार पहिलो साता काका पर्ने एक छिमेकी उनको घर आए। अवैध बाटो भएर अमेरिका जान सकिने र मनग्य कमाइ हुने कुरा सुनाए।

Ncell
उनले आफ्ना छोरालाई पनि त्यसरी नै अमेरिका पठाएको रहेछन्। अमेरिका पुर्‍याउने एजेन्टसमेत चिनेको उनले सुनाए। जाने हो भने आफूले एजेन्टसँग कुरा राखिदिने पनि भने।

सुरूमा प्रवीणको परिवार छिमेकीको कुरामा हच्किएको थियो। तर उनका छोरा नै त्यसरी अमेरिका पुगेर अहिले राम्रो कमाइ गरिरहेको कुराले प्रवीण पनि लोभिए। अवैध बाटो भए पनि अमेरिका जानेबारे परिवारमा छलफल भयो।

छिमेकी काकाले एजेन्टसँग भेटाइदिए। ती एजेन्ट काकाका भिनाजु नाता पर्ने रहेछन्। छिमेकी काकाले आफ्नो छोरालाई पनि उनैमार्फत् अमेरिका पठाएको बताए।

एजेन्टले तीन महिनामा अमेरिका पुर्‍याउने तर २८ लाख रूपैयाँ लाग्ने बताए। प्रवीणका बुवालाई २८ लाख जोहो गर्नु सजिलो थिएन। छोरा अमेरिका पुगेपछि एक वर्षमै ऋण तिर्न सक्ने सोचेर बुवाले घरजग्गा धितो राखेर ऋण लिए। चिनेजानेकासँग ऋण पनि लिए।

पैसाको जोहो भएपछि उनी अमेरिका जाने निश्चित भयो।

अमेरिका पुगेर एकाध वर्षमा आफू र परिवारको आर्थिक हैसियत बदल्ने सपना बोकेर गत साउन ३ गते उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जाने जहाज चढे।

काठमाडौंमा ती एजेन्टले कुन-कुन देश हुँदै जाने र बीच-बीचमा को को लिन आउँछन् भन्ने विवरण दिएका थिए। काठमाडौंमा एजेन्टले भनेअनुसार दुबई एयरपोर्टमा एक व्यक्ति उनलाई लिन आए। उनले प्रवीणकुमारलाई एउटा घरमा पुर्‍याए।

त्यहाँ उनको आफूजस्तै १८ जना नेपालीसँग भेट भयो। उनीहरू पनि अवैध बाटो भएर अमेरिका जाने क्रममा दुबई आइपुगेका रहेछन्। त्यहाँ उनीहरूका लागि खाने र बस्ने व्यवस्था गरिएको रहेछ।

तीन महिनामा अमेरिका पुर्‍याउँछु भनेका दलालले विभिन्न बहाना बनाएर दुई महिनासम्म दुबईमै राखे।

प्रवीणका अनुसार दुई महिनापछि उनीसहित ८ जनालाई अमेरिका लैजाने भनेर अफ्रिकी मुलुक गाम्बिया पुर्‍याइयो। गाम्बिया पुर्‍याउँदा एजेन्टले कहिले बस, कहिले डुङ्गा त कहिले रातभर जंगलको बाटो हिँडाएको थियो।

‘देशैपिच्छे फरक-फरक एजेन्ट हुन्थ्यो। एउटा देश पार भएपछि एजेन्टले अर्कैको जिम्मा लगाउँथ्यो। देश फेरिएपछि अघिल्लो एजेन्टहरू क्रमशः सम्पर्कविहीन हुँदै जान्थे,ʼ उनले भने।

गाम्बिया पुग्दासम्म नेपालका एजेन्ट पनि सम्पर्कविहीन भइसकेका थिए।

गाम्बियाबाट प्रवीणसँगै अर्का एक नेपाली युवक पैदलमार्ग हुँदै अर्को अफ्रिकी मुलुक घाना पुर्‍याइए। घानाका एजेन्टलाई जिम्मा लगाएपछि गाम्बियाका एजेन्ट सम्पर्कविहीन भए।

कठिन यात्रा पार गरेर घाना पुग्दासम्म प्रवीणले अमेरिका सपना मारेका थिएनन्। बीच-बीचमा परिवारसँग कुराकानी पनि भएकै थियो।

घानामा भने उनले नसोचेको भयो। त्यहाँका एजेन्टले प्रवीण र अर्का नेपाली युवकको मोबाइल र पासपोर्ट खोसे। उनीहरूलाई तीन महिनासम्म अँध्यारो कोठामा थुनेर राखे। कुटपिट गरे। शारीरिक र मानसिक यातना दिए।

‘भोक लागेको बेला खाना त परको कुरा तिर्खा लागेका बेला पानीसम्म दिँदैनथे,ʼ उनले भने, ‘अब आमाबाबुको अनुहार देख्न पाउँदिनँ भन्ने लागिसकेको थियो।ʼ

आफूहरूलाई छाडिदिन उनीहरूले ती एजेन्टसँग हजारौंपटक बिन्ती गरे । तर, एजेन्टको मन पग्लिएन।

तीन महिनासम्म अँध्यारो कोठामा भात न पानी गरेर राखिएपछि त्यहाँका एजेन्टले पैसा दिए नेपाल फर्काउन सहयोग गर्ने बताए। त्यसपछि प्रवीणकुमारलाई नेपालमा परिवारसँग कुरा गर्न दिए।

उनले परिवारलाई सबै बेलिबिस्तार लगाए। बुबाले फेरि ऋण गरेर पैसा पठाइदिए। पैसा दिएपछि आफूहरू बन्धकमुक्त भएको प्रवीणकुमार सुनाउँछन्।

‘पैसा पाएपछि घानाका एजेन्टहरू पनि सम्पर्कविहीन भए, त्यसपछि हामी अलपत्र पर्‍यौं,ʼ उनले भने।

उनले आफ्नो अवस्थाबारे परिवारलाई खबर गरेपछि बुवाले नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोमा निवेदन दिएर छोराको उद्धारका लागि आग्रह गरे।

सूचनापश्चात् २०८० वैशाख दोस्रो साता प्रवीणसहित अर्का युवकलाई घानाबाट उद्धार गरी नेपाल ल्याइएको मानव बेचबिखन ब्युरोका प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठ बताउँछन्।

दस महिना कठिन परिस्थिति भोगेर प्रवीण नेपाल फर्किएका छन्। अमेरिका जान भनेर लागेको लाखौं ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोल्न थालेको उनी बताउँछन्।

‘मसँग यतिबेला पछुतोबाहेक केही छैन, यसरी कोही पनि जान नहुने रहेछ,ʼ उनले भने।

उनलाई अमेरिका पुर्‍याउने लोभ देखाएर २८ लाख रूपैयाँ लिने छिमेकी काकाका भिनाजु फरार छन्। उनको खोजी भइरहेको एसएसपी श्रेष्ठ बताउँछन्।

प्रवीण प्रतिनिधि पात्र हुन्। अमेरिका, युरोप पुग्ने लोभमा ठगिएकाहरूको संख्या दैनिक बढ्दो रहेको एसएसपी श्रेष्ठ बताउँछन्। केही त ज्युँदो छन् कि छैनन् भन्नेसम्म परिवारले थाहा नपाउने उनले बताए।

एसएसपी श्रेष्ठका अनुसार प्रवीणजस्तै दाङका अन्य सात युवा अमेरिका पुर्‍याइदिन्छु भनेर घानामा बन्धक बनाएर राखेको सूचना हालसालै प्राप्त भएको छ।

त्यसैगरी इथियोपियामा सयौंको सख्यामा नेपाली युवक अलपत्र परेको खबर पनि ब्युरोले पाएको छ। उनीहरूलाई उद्धार गर्नेबारे ब्युरोले काम गरिरहेको एसएसपी श्रेष्ठ बताउँछन्।

‘यसरी तस्करी बाटोबाट अमेरिका जानेमा रूकुम र दाङका युवा धेरै देखिन्छ,ʼएसएसपी श्रेष्ठले भने।

उनका अनुसार अवैध रूपमा अमेरिका जान पहिलो बाटो भारत-इथियोपिया-ब्राजिल-कोलोम्बिया-पानामा-कोस्टारिका-निकाराग्वा-होन्डुरस-ग्वाटेमाला-मेक्सिको हुँदै अमेरिका पुग्छन्। धेरैजसो भारतबाट दक्षिण अफ्रिकी देश हुँदै दक्षिण अमेरिका पुगेर मेक्सिको हुँदै अमेरिका पुग्ने उनले बताए।

‘भारत, रूस, ब्राजिल, दुबई जहाँबाट गए पनि दक्षिण अमेरिकासम्म प्लेन तथा बसमा जान्छन्। त्यहाँबाट जंगलको बाटो हिँड्ने, डुगां चढ्नेदेखि हिउँको बाटो हिडेर जाने गरेको पाइएको छ,ʼ एसएसपी श्रेष्ठले भने।

बाटोमा हिँड्दा पक्राउ पर्ने, बिरामी हुने, हिमपातमा परी मृत्यु हुने, समुन्द्रमा डुंगा पल्टिने, जंगलमा खान नपाएर मृत्यु भएका घटना ब्युरोमा आएका एसएसपी श्रेष्ठ बताउँछन्।

यसरी अवैध बाटो भएर कति नेपाली गएका छन् भन्ने तथ्यांक ब्युरोसँग पनि छैन। अवैध तरिकाले जाँदा अलपत्र परेपछि उद्धार गरिएको तथ्यांक भने प्रहरीसँग छ।

ब्युरोले आर्थिक वर्ष २०७५/०७६ देखि अहिलेसम्म अमेरिका जान भनेर हिँडेका ४ सय ९१ जनालाई उद्धार गरेको छ। त्यस्तै अवैध रूपमा मानव तस्करी गरेको आरोपमा ०७६ यता २ सय १० मुद्दा दर्ता भएको ब्युरोको तथ्यांकमा उल्लेख छ।

Published on: 11 May 2023 | Setopati

Link

Back to list

;