s

घलेद्वारा एनआरएन अध्यक्षमा उम्मेदवारी घोषणा

तीन महिनापछि हुन लागेको गैरआवासीय नेपाली संघ -एनआरएन) को निर्वाचनमा शेष घलेले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । घलेले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 'म संघको एक सफल अगुवा बन्न सक्छु कि सक्दिनँ त्यो भविष्यले बताउने छ,' उनले भने, 'त्यसैले गैरआवासीय नेपाली संघका सम्पूर्ण सदस्यहरूको एकता, सहभागिता र समावेशिताका लागि पूर्ण इमान र निष्ठाबाट निर्देशित भई अन्तर्राष्ट्रिय समितिको अध्यक्षका लागि म उम्मेदवारी घोषणा गर्दछु ।' उनले जीवनभर इमान्दार र पूर्ण निष्ठावान् व्यक्ति बन्ने प्रयत्न गरिरहेको बताउँदै आगामी दिनमा पनि त्यस्तै रहने प्रणसमेत गरे ।

लमजुङको धनपोखरी गाविसमा जन्मिएका घले अस्ट्रेलियाका २ सय जना घनढ्यमध्ये १ सय ६६ स्थानमा छन । उनी लामो समयदेखि अस्टे्रलिया बस्ने गैरआवासीय नेपाली हुन् । उनले संघले तीन वटा कामलाई प्राथमिकता दिई जिम्मेवारी पूरा गर्ने कार्यसूची सार्वजनिक गर्दै आफूले पूरा गर्ने दाबी गरेका छन् । 'गैरआवासीय नेपाली अभियानलाई सुदृढ र संस्थागत गर्न गैरआवासीय नेपाली संघको दर्ता, सुरक्षित आप्रवास, वैदेशिक रोजगारीको सुदृढीकरण र नेपालमा ज्ञान एवं पुँजीको लगानीका लागि विदेशमा रहेका नेपालीको क्षमता प्रयोग गर्न नेपाली नागरिकताको निरन्तरता अर्थात दोहोरो नागरिकताको आवश्यकता हाम्रो संस्थालाई अघि बढाउने कार्यसूचीका रूपमा पहिचान गरेको छु,' उनले भने, 'यी तीनै वटा कार्य मेरा सर्वोच्च प्राथमिकतामा हुने छन् । यसको अर्थ सम्बोधन गर्नुपर्ने अरू विषय छैनन् भन्नेचाहिँ होइन ।'

२३ वर्षअघि बिदेसिएका घलेले विभिन्न मुलुकको शैक्षिक, घरजग्गा र होटल क्षेत्रमा लगानी गरेका छन् । उनले नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको ख्याति कमाएको शेराटन होटलसँगको संयुक्त लगानीमा काठमाडौंमा पाँचतारे होटल खोल्ने तयारी गरेका छन् । ७ अर्बभन्दा बढी लगानीमा उनले आगामी पाँच वर्षभित्र १३ रोपनी जग्गामा २ सय २५ कोठा भएको होटल घलेले खोल्न लागेका हुन् ।

'संघको अध्यक्षमा निर्वाचित भएँ भने आर्थिक लगानीका लागि उपयुक्त नदेखिएका क्ष्ाेत्रमा अरू खालका लगानीलाई प्रवर्द्धन गर्न मेरो भरिसक्य प्रयत्न रहने छ ।

सहयोगको अत्यन्तै आवश्यकता रहेको वर्गलाई परोपकारी सहयोग उपलब्ध गराउन एउटा कोषको स्थापना गरिने छ,' उनले भने, 'नेपालको दिगो आर्थिक विकासका लागि म सक्रिय रूपमा लगानीलाई प्रोत्साहन गर्ने छु । वैदेशिक लगानीअन्तर्गत गैरआवासिय नेपालीहरूलाई नेपालमा लगानी गर्न आकषिर्त गर्ने गरी वातावरण निर्माणका लागि नेपाल सरकारलाई निरन्तर घच्घच्याउने छु ।'

Published on: 9 August 2013 | Kantipur

Back to list

;