s

घाइते शरीर लिएर कति बस्ने युएई : लम्बियो मुद्दा, बल्झियो घाउ

उमाकान्त पाण्डे

युएईमा दुघर्टनामा परेर घाइते भएका झापाको बिर्तामोडका लोकेश खतिवडा नेपाल फर्कन पाउनु भएको छैन । गम्भिर घाइते लोकशलाई मौसम परिवर्तन हुँदा घाउ दुखेर झनै गाह्रो हुन्छ । सिधा उभिएर हिँड्न सक्नुहुन्न ।सन् २०१४ जुन ८ मा कम्पनीमा काम गर्दा गर्दै लोकेश दुघर्टना पर्नुभएको थियो । उहाँले चलाएको ट्रक अनियन्त्रित हुँदा दुघर्टना भयो । त्यही दुघर्टनामा परेर भारतीय नागरिक गम्भिर घाइत भए । उनको  उपचारको क्रममा निधन भयो । मृतक भारतीय नागरिकका परिवारले हालेको मुद्दाका कारण लोकेश युएईमा नै अल्झिनुभएको हो । 

दुघर्टनापछि लोकेश ४५ दिन अस्पातलमै बस्नुभयो । पछि कम्पनीको क्याम्पमा फर्किनुभयो । दिसापिसाव गर्न बिस्ताराबाट उठेर जान समस्या थियो । 
 
उहाँ मुश्किलले शौचलाय जाने आउने गर्नुहुन्थ्यो । एकपटक उहाँ शौचालयमा नै चिप्लिएर लड्नुभयो । लड्दा भाँच्चिएको खुट्टा र हातको चोट बल्झियो । अस्पतालमा अवैधानिक कामदार भएको भन्दै हातखुट्टामा साङ्लोले बाँधेर राखियो । अप्रेसन भएकै दिन एक जना अरबी र पाकिस्तानीले अस्पतालमै गएर मुचुल्का उठाए । र अरबी भाषामा लेखिएको पत्रमा सहि गर्न लगाए । 
 
त्यो पत्रमा ‘ज्यान जानेको परिवारलाई क्षतिपूर्ति स्वरुप बीमा कम्पनी र लोकेशले गरी चार लाख दिर्हाम (झण्डै एक करोड १५ लाख रुपैयाँ) तिर्नुपर्ने’ लेखिएको रहेछ । त्यही कारणले लोकेश अप्ठेरोमा पर्नुभयो र मुद्दा लम्बियो । अर्कातिर बीमा कम्पनीले रकम बुझाउन ढिला गरेकाले उहाँ नेपाल फर्कन पाउनु भएको छैन । ब्लडमनी वापतको पैसा बीमा कम्पनीले तिर्नुपर्ने फैसला भएपनि अदालतले समयसिमा नतोकिएकाले बीमाले आलटाल गरिरहेको छ । यसबारे आबुधाबीमा रहेको नेपाली दूतावासलाई जानकारी छ । तर अदालतको विषय भएकाले दूतावासले केही भन्न सकेको छैन । 
 
बीमा कम्पनीले पैसा तिर्ने नतिर्ने दूतावासले जानकारी लिएर स्पष्ट पारिदिए हुन्थ्यो भन्ने लोकेशलाई लागेको छ । बीमाले पैसा नतिरे नेपाल फर्कनका लागि अरु उपाय खोज्ने लोकेशको भनाई छ । 
 
आफ्नो मुद्दा अहिले कहाँ कस्तो अवस्थामा छ उहाँलाई थाहा छैन । दूतावासले अदालतमा र बीमा कम्पनीसँग पैसा तिरिदिनका लागि पहल गरिदिए हुन्थ्यो भन्ने अपेक्षा छ लोकेशको  । 
 
‘दूतावासमा पटक पटक पुगेको छु, सधैं हामीले बुझ्छाैं भन्नुहुन्छ । तर जवाफ आउँदैन’ लोकेशले भन्नुभयो । खल्तीमा पैसा छैन । भोकै बस्नु परेको छ ।दुखेको शरीर लिएर हिंड्न सक्ने अवस्था छैन । लोकेशले भन्नुभयो, ‘शरीर र मनमा पीडा भएपनि परिवारको सम्झना र साथीभाइको सहानुभूतिले बाँचेको छु ।’
 
तनुवा भीसामा ७ वर्ष अगाडि उहाँ युएई आउनु भएको हो । ३ वर्ष काम गरेर उहाँ बिदामा नेपाल जानु भएको थियो । घरबिदामा गएको बेला विवाह गरेर श्रीमतीसित एक महिना पनि सँगै नबस्दै बिदा सकियो । फेरि उही कम्पनीमा उहाँ फर्किनु भएको थियो । 
 
घर फर्किने विषय अन्योल भएकाले लोकेशलाई पिरलो थपिएको छ । धेरै चिन्ता छ बुढी उमेरकी आमाको । युएई आउँदा देखेका आमाका आँसु पुछ्ने आस साँच्नुभएको छ उहाँले । 
 
लोकेशका दुई दाइ परदेशमै हराए । लोकेशका जेठो दाइ दिपेन्द्र कतार र माइलो दाइ टिकाराम मलेसिया जानुभएको थियो । कतार गएका जेठो ९ र मलेसिया गएको माइलो सम्पर्कविहिन भएको ७ वर्ष भइसक्यो । कुन कम्पनीमा गएको भन्ने परिवारलाई थाहा छैन । सोधीखोजी कहाँ गर्ने, कसले सहयोग गर्ला भन्ने पनि लोकेशलाई थाहा छैन ।  ‘कमाएर आमा र परिवारलाई खुसी बनाउँला भनेर आएको, आफ्नो हालत यस्तो छ,’ गहभरी आँशु पार्दै लोकेशले भन्नुभयो, ‘नेपाल जान पाए चटपटे बेचेर भए पनि परिवार खुसी बनाउने थिएँ ।’ 
 
श्रीमानलाई चाँडै घर फर्काइदिन लोकेशकी श्रीमति ममता न्यौपानेले नेपाली दूतावास आबुधाबी, सामाजिक संघसंस्था, राजनीतिक दलका भातृ संगठन सबैतिर निवेदन दिनुभएको छ । ममताले बुढी आमाको स्याहार गरेर बस्नु भएको छ ।
 
स्कुले विद्यार्थीलाई घरैमा ट्युसन पढाएर घरखर्च जुटाउनु हुन्छ । ‘क्षतिपूर्ति सहित न्याय त पाउनु भएन, ज्यान मात्रै भए पनि नेपाल पठाइदिन दूतावासले सहयोग गरोस,’ ममतले उज्यालोसँग भन्नुभयो ।
 
मुद्दा आफैंले हेरेको छु : कार्यवाहक राजदूत 
 
लोकेशको मुद्दा दूतावासका जनसम्पर्क अधिकृत इर्फान आलमले हेरिरहनुभएको थियो। उहाँले नै धेरै पटक अदालत धाएर लोकेशको मुद्दाको अवस्थाको बारेमा जानकारी ल्याउनुभएको हो । अदालतको फैसलापछि बीमा कम्पनीले पैसा तिर्नपर्ने उल्लेख भएपनि समयसिमा नतोकिएकोले दूतावासले आफ्नो प्रयास सुरु गरेको जनाएको छ । 
 
यस मुद्दामा अदालतका उच्च अधिकारीसँग भेट्न समय मागेर पत्राचार गरिसकेको कार्यवाहक राजदूत सागरप्रसाद फुँयालले बताउनुभयो । ‘समय पाएपछि म आफै जान्छु र यो मुद्दा टुंगोमा पुर्‍याउँछु,’ फुँयालले भन्नुभयो । 
 
Published on: 11 March 2018 | Ujyaaloonline

Back to list

;