s

घाइते श्रमिकलाई क्षतिपूर्ति नदिने सञ्चालकलाई पक्राउ गर्न पत्राचार

कार्यस्थलमा घाइतेभएका कामदारलाई क्षतिपूर्ति दिन अटेर गर्ने सञ्चालकलाई पक्राउ गर्न श्रम तथा रोजगार कार्यालय विराटनगरले जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्राचार गरेको छ  । विराटनगर–३ स्थित काठ चिर्ने आरा मिलमा काम गर्दा हात छिनेर घाइते भएका मजदुर बंटु शाहलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिन श्रम कार्यालयले कम्पनी सञ्चालक सुधीर यादवलाई आदेश दिएको थियो ।

तर, सञ्चालक यादवले विभिन्न बहाना देखाएर अटेर गर्दै आएका थिए । उनले अस्पताल भर्ना भएको झुटो जानकारी पठाएर श्रम कार्यालयले तोकेको पेसीमा क्षतिपूर्ति दिन आलटाल गर्दै आएका थिए । पटक–पटक ताकेता गर्दा पनि अटेर गरेपछि सञ्चालक यादवलाई पक्राउ गरेर क्षतिपूर्ति भराउनका लागि प्रशासन कार्यालय मोरङमा पत्राचार गरेको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए ।

‘सञ्चालक साहले क्षतिपूर्ति दिन अझै आलटाल गरे श्रम ऐन २०७४ र नियमावली २०७५ अनुसार सञ्चालकको चल–अचल सम्पत्ति रोक्का गर्ने र पीडितलाई बिगोअनुसारको क्षतिपूर्ति दिलाई दोब्बर जरिबाना असुलउपर गर्न हामी बाध्य हुनेछौँ,’ वरिष्ठ अधिकृत सञ्जेलले भने । तोकिएको दुई लाख रुपैयाँ क्षतिपूर्ति दिन अटेर गर्ने सञ्चालक सुधीर यादवलाई पक्राउ गर्न रोजगार कार्यालय विराटनगरले जिल्ला प्रशासन मोरङलाई पत्राचार गरेको हो ।

श्रम तथा रोजगार कार्यालय विराटनगरले हाल श्रम ऐन कार्यान्वयन गराउन माग गर्दै उजुरी गर्न आउने कामदार कर्मचारीको मुद्दामा विशेष चासो दिएर आदेश र फैसला गर्न थालेको छ ।

Published on: 5 December 2018 | Nyapatrika

Back to list

;