s

गाउँमै रेमिटेन्स

भगीरथ अवस्थी 

जिल्लाको दशरथचन्द नगरपालिका २ देहिमाडौंकी भुवनेश्वरी नाथलाई आजभोलि विदेशबाट श्रीमानले पठाएको पैसा सजिलै प्राप्त हुँदा निकै खुसी लागेको छ। देहिमाडौंमा रहेको निंगलासैनी बचत तथा ऋण सहकारी संस्थाले विदेशबाट पठाएको पैसा सहजै उपलब्ध गराउन थालेपछि उनलाई सजिलो भएको हो।

वैदेशिक रोजगारीका सिलसिलामा साउदीमा रहेका श्रीमानले पठाएको पैसा सहकारीबाटै पाउन थालेपछि सजिलो भएको उनले बताइन्। उनले भनिन्, ‘पहिला विदेशबाट पठाएको रकम झिक्न सदरमुकामसम्म पुग्न झन्झट लाग्ने गर्थ्यो। अहिले गाउँकै सहकारीबाट पैसा पाउन सकिन्छ। यसले निकै सजिलो भएको छ।’
 
जिल्लाको पाटन नगरपालिका ९ ककस्यालीकी जानकी भट्टले रोजगारीका लागि भारतको दिल्लीमा रहेका श्रीमानले पठाएको पैसा सहकारीमार्फत नै प्राप्त गरिन्। उनले भनिन्, ‘ श्रीमानले पठाएको पैसा ल्याउन सदरमुकामसम्म पुग्न गाह्रो हुन्थ्यो। कागजपत्र जुटाउनमै समस्या हुन्थ्यो। गाउँनजिकै रहेको सिद्धेश्वर बचत तथा ऋण सहकारीमार्फत विदेशबाट पठाएको पैसा पाइन थालेपछि खुसी लागेको छ।’
 
पाटन नगरपालिका खोड्पेकी तुलसी विष्टलाई श्रीमानले पठाएको पैसा ल्याउन एक जना मानिस साथमा लिएर सदरमुकाम झर्नुपथ्र्यो। तर सहकारीले नै विदेशबाट आएको रेमिटेन्स गाउँमै दिन थालेपछि सजिलो भएको उनले बताइन्। उनले भनिन्, ‘ श्रीमानले पठाएको पैसा ल्याउन खर्च पनि धेरै हुन्थ्यो। सदरमुकाम पुग्नुपथ्र्यो कि त डडेल्लधुरा जानु पथ्र्यो। अहिले गाउँमै विदेशबाट पठाएको पैसा पाइन थालेपछि खुसी लागेको छ।’
 
डिलासैनी ४ की धनमति लुहारलाई पनि भारतमा रोजगारी गरिरहेका श्रीमानले पठाएको पैसा सहकारीमै प्राप्त हुन थालेपछि खुसी लागेको छ। ‘घर खर्च चाहिएमा श्रीमानलाई फोन गर्छु। रेमिटेन्समार्फत पैसा पठाउनुहुन्छ। उहाँले पठाएको पैसा सहकारीमै पाइन्छ। घर आउने बेला पनि गोजीमा पैसा बोक्नुभन्दा रेमिटेन्समार्फत पठाउन भनेकी छु। यसले पुँजी पनि सुरक्षित हुन्छ। आउने बेला बाटोमा पनि सजिलो हुन्छ।’
 
बैतडीका तीनवटा र दार्चुलाको एउटा सहकारीले ग्रामीण क्षेत्रमा रेमिटेन्स सेवा सुचारु गरेपछि स्थानीयलाई सजिलो भएको हो। ‘हामीले सहकारीमार्फत रेमिटेन्स सेवा सुरु गरेपछि गाउँलेलाई पनि सहज भएको छ। सेवा सुरु गरेको ६ महिनामै हामीले २८ लाखभन्दा बढी रेमिटेन्स भिœयाइसकेका छौं।’ सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष हरिश विष्टले भने, ‘सहकारी भनेका ग्रामीण क्षेत्रका बैंक हुन्। हामीले यो सेवा सुरु गरेपछि स्थानीयबासीलाई निकै सजिलो भएको छ।’
 
‘खास गरेर भारतमा रोजगारी गर्ने घर फर्किंदा सीमामै लुटिन्थे। तर अहिले उनीहरू समेत घर फर्किनुभन्दा पहिला नै सहकारीमार्फत घरमै पैसा पठाउँछन्। यसले उनीहरूको रकम सुरक्षित भएको छ’, अध्यक्ष विष्टले भने, ‘हामीले सेयर सदस्यको रेमिटेन्सबाट आएको पैसा व्यवसायमूलक काममा लगाउनसमेत प्रेरित गरिरहेका छौं।’
 
बैतडी र दार्चुलाका ग्रामीण क्षेत्रका सहकारीमार्फत रेमिटेन्स सेवा सुचारु गर्न अक्सफाम नेपाल, रुडेस बैतडी र प्रभु म्यानेजमेन्टले सहयोग गरेको हो। ‘हामीले ग्रामीण क्षेत्रका सहकारीमा रेमिटेन्स सेवा सुरु गर्न कम्प्युटर, प्रिन्टर, इन्टरनेट जडानमा सहयोग गरेका छौं। यसले ग्रामीण क्षेत्रमा रहेका नागरिकको पुँजी सुरक्षित भएको छ।’ रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोसीले भने, ‘विदेशबाट रेमिटेन्समार्फत पठाएको पैसा व्यवसायमूलक काममा लगाउन हामीले उत्पे्ररित गर्ने गरेका छौं। सहकारीका सेयर सदस्यलाई उनीहरूका आफन्तले पठाएको पैसाको सही सदुपयोगबारे हामीले पैरवीसमेत गरिरहेका छौं।’
 
Published on: 5 February 2018 | Annapurna Post

Back to list

;