s

गाउँमै काम पाएपछि छुट्यो कालापहाड यात्रा

जिल्लाको पचालझरना गाउँपालिकाका अधिकांश स्थानीयले गाउँमै काम पाएपछि कालापहाडको यात्रा छुटेको छ । पचालझरना गाउँपालिका–४ जारकोटदेखि राम्नाकोट जोड्ने जारकोट राम्नाकोट जिल्ला सडक निर्माण सुरु भएपछि त्यस क्षेत्रका अधिकांश स्थानीयले काम पाएका छन् । ग्रामीण पहुँच कार्यक्रमको अनुमानित कुल १९ करोड लागतमा निर्माण भइरहेको जारकोट–राम्नाकोट जिल्ला सडकमा १४ वटा सडक निर्माण समूह र २८ वटा विशेष निर्माण समूह गरी ४२ वटा समूहले काम गरिरहेका छन् ।

जारकोट राम्नाकोट जिल्ला सडक आयोजनामा काम गर्ने मष्टामाडु सडक निर्माण समूहकी सदस्य वीरता सेजुवालले यस सडकको काम सुरु भएदेखि पुरुषको कालापहाड र महिलाको मेलापात छुटेको बताइन् । उनले भनिन्, ‘पहिले श्रीमान् कालापहाड भारत गएर पैसा कमाएर ल्याउँथे । अहिले जारको राम्नाकोट सडकमा काम पाएपछि श्रीमान् भारत जान छाडेका छन् । हाम्रो मेलापातको काम पनि छुटेको छ ।’ उनले ३ वर्षदेखि यस सडकमा काम गरेर आफैंले ३ लाखभन्दा बढी आम्दानी गरेको बताइन् । अर्की कामदार डिल्ली सेजुवालले आफ्नो समूहका सबैले बैंकमा खाता खोलेको बताइन् ।

जारकोट राम्नाकोट जिल्ला सडकको ५ दशमलव ९४ किलोमिटर ट्याग ओपन भइसकेको छ । जसमा ५ दशमलव ४५ किलोमिटरमा त गाडी नै गुड्ने भइसकेको छ । ग्रामीण पहुँच कार्यक्रमका जिल्ला संयोजक रमेश खताखोले भने, ‘अब ४ सय ४० मिटर सडकको काम पूरा गर्न बाँकी छ ।’ पुस मसान्तसम्म पूरै सडकमा गाडी गुड्ने उनले बताए । उनले उक्त सडकको कुल १९ करोड ७० लाख लागत रहेकोमा हालसम्म कामदारको हातमा १६ करोड ९५ लाख रुपैयाँ भुक्तानी भइसकेको बताए । पचालझरना गाउँपालिकाभित्रका ८ सय ४४ घरधुरीबाट कामदार आएर काम गरिरहेका छन् । सडक निर्माण सुरु भएको चार वर्षको अवधिमा २ लाख ९५ हजार दिन रोजगारी सिर्जना भएको छ ।

जारकोट राम्नाकोट सडक आयोजना निर्माण साझेदार संस्थाका अध्यक्ष मीनबहादुर बोगटीले बायो इन्जिनियरिङसहितको यो सडक जिल्लाकै नमुना भएको बताए । उनले भिरालो ठाँउ, सुक्खा क्षेत्र भए पनि वातावरणमैत्री सडक निर्माण गरिएको बताए । स्थानीय नागरिकको श्रममा आधारित विकासले गाउँमा नागरिकलाई पनि आम्दानीको ठूलो स्रोत भएको छ ।

Published On: 16 September 2018 | Annapurna post

Back to list

;