s

गाउँमा डोजरले रोजगारी खोसेपछि...

दिनेश सुवेदी

रोल्पा - कोरोना त्राससंगै कर्मथलो छोडेर थाक थलो खोज्न आतुरहरु यति बेला गृह जिल्ला भित्रिरहेका छन्। बिशेष गरि मजदुरी गर्न बाहिर जिल्ला गएकाहरु आफ्नो गाउँ पर्किन हतारोमा देखिएका हुन्। रोल्पाका अति बिपन्नहरु ‘घरगाउँमा डोजरले रोजगारी खोसे पछि’ उपत्यका तीरका ईट्टाभट्टा र पोखरा, बाग्लुङ, रसुवा, पर्बत, सिन्धुपाल्चोक लगायतका जिल्ला तिर मजदुरीका लागि जाने गर्दछन्। 

यतिबेला जनप्रतिनिधिले आफ्नो गाउँमा रोजगारी सृजना गर्न नसक्दा कति मतदाता बाहिर जिल्ला गएका रहेछन् भनेर प्रश्ट देखेका छन्। अबको समय उनिहरुले बाहिर जिल्ला गएका मजदुरको तथ्याङ्क राखेर गाउँमै रोजगारि सृजना गर्ने पर्ने देखिन्छ। दैनिक बिभिन्न नाकाबाट दर्जनौ रोल्पाली भित्रिएपछि उनिहरुलाई क्वारेन्टाइनमा राखिएको छ। स्वयसेवक परिचालन गरेर तथ्याङ्क राख्न सके आउदा दिनमा विकासका काममा सहभागी गराउदै निर्माण सुरु गनुपर्ने स्थानीयहरु बताउँछन्। 

‘अब असामान्य स्थिति सङलीयो भने विकास निर्माणमा स्थानीय जनशक्तिको अधिकतम प्रयोग गर्नुपर्छ। जसले गर्दा दिगो बिकास र जनशक्ती ब्यबस्थापन पनि हुन्छ।’ जलजला बहुमुखी क्याम्पसका उपप्राध्यापक गोकर्ण पुन भन्छन् ‘त्यसो गरेमा एक प्रकारले बेरोजगारीको अन्त्य समेत हुन्छ। यो समयमा स्थानिय सरकारले रोजगारी तर्फ ध्यान दिनै पर्छ। रोल्पालीहरु मजदुरीका लागि नै बाहिर जिल्ला जाने गर्छन्। पसिना नै बगाउनु छ भने आफ्नै जिल्लामा रोजगारी दिनुको बिकल्प छैन।’ 

‘सयौको संख्यामा घर आएका मजदुरहरुलाई जिल्लामै ब्यबस्थापन गरेर दीर्घकालीन योजना निर्माण गर्दै आगामी दिनमा अगाडि बढ्नुको बिकल्प देखिैन।’ रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले भने ‘हामीले हिजो मात्रै कार्यपालिका बैठक बसेर जिल्ला भित्रिएका रोल्पाली मजदुरहरुलाई बिभिन्न आयोजनामा परिचालन गनुपर्ने बिषयमा छलफल गरेका छौ।’ उनका अनुसार जिल्लामा सबैले रोजगारीका लागि १२÷१५ हजार रोल्पालीलाई यतै काम लगाएर आत्म निर्भर र स्वरोजगार बनाउनु पर्छ। 

ठूलो संख्यामा मजदुरहरु जिल्ला भित्रिएको दृष्य देखेका रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी पनि अब जिल्ला मै रोजगारी सृजना गर्ने गरी योजना ल्याउनु पर्ने बताउछन्। केसिले भने ‘विकास निर्माण र कृर्षिमा मानब शक्तिको अधिकतम प्रयोग गर्दै आगामी योजना संचालन गर्नु पर्ने छ। अब घर आएकाहरु विदेश र मजदुरीका लागि बाहिर जिल्ला जानु नपर्ने गरी योजना सुरु हुन्छ।’ 

अत्याधिक देखिए बालमजदुर

मजदुरीका लागि घर छोडेर जानेमा उमेर पुगेका मात्र नभएर ठूलो संख्यामा बालबालिका पनि जाने गर्दछन्। देशमा गरिएको लकडाउनपछि रोल्पा भित्रिनेमा ईट्टाभट्टा गएका बालबालिकाको संख्या पनि ठूलो देखिएको छ। बिभिन्न नाकाबाट जिल्ला भित्रिएका उनिहरु मलिन र थकित देखिन्थे। गाडी चढेको १८ घण्टा देखि २० घण्टा लगाएर रोल्पा पुगेका मजदुरहरु चाउचाउ र चिउराको भरमा छाक टारेको बताए। 

रोल्पा नगरपालिका १० साउनेपानीका १४ वर्षिय यज्ञबहादुर महरा दशै तिहार मानेर ईट्टा बोक्न काठमाण्डौ ईट्टाभट्टा गएका थिए। अहिले त्यहा अलपत्रमा परेका उनी मंगलबार बसमा रोल्पा फर्किए। ४ कक्षासम्म पढेका उनी छिमेकिहरुसंग नाईकेले देखाएको बाटोबाट ईट्टाभट्टा पुगेका हुन्। ‘म जस्ता धेरै गएका थियौ।’ महराले भने ‘म घरमा बुवा आमालाई सोधेर गएको हु। कोहि भागेर पनि जान्छन्। गरिब छौ त्यसैले पैसा कमाउन ईट्टा बोक्छौ।’ 

बाटोमा कसैले सोध्दा अरु कामले गएको भन्नु भनेर नाईकेले सिकाएका हुन्छन्। हरेक वर्ष विद्यालय छोडेर ईट्टाभट्टा पुग्ने बिद्यार्र्थीहरुको कसैले खोजि नीति गर्ने गर्दैन। भर्ना अभियानताका स्कुल पुग्ने धेरै बालबालिका बार्षिक परीक्षामा सहभागी हुदैनन्। चरम गरीबी छल्न मजदुरीका लागि बाहिर हानिनेहरु यतिबेला घर सम्झेर आएका हुन्। जिल्लामा हुने बिकास निर्माणमा स्थानीय सहभागिता नभएपछि बाहिरिनुको बिकल्प छैन। 

रोल्पा नगरपालिका ९ होमाका १४ बर्षिय लक्ष्मण बुढामगर, राजेश बुढामगर र दिपेन्द्र बुढामगर पनि मंगलवार रोल्पा आईपुगेका छन्। ललितपुरको ईट्टाभट्टामा मजदुरी गर्ने बालबालिका सबै अभाबका कारण त्यहा पुगेको बताउँछन्। ‘नाईकेले लगेर गएका हौ। ईट्टा बोकेर कमाएको पैसा सकियो। बल्ल बल्ल रोल्पा आयौ।’ लक्ष्मणले भने ‘घरमा पनि समस्या छ। हामी उता गयौ भने यता बा आमालाई पनि खर्च टार्न सजिलो हुन्छ।’ 

यो बेला अब बालबालिकालाई विद्यालय भर्नाको समय हो। उनिहरुलाई शिक्षाका लागि सबैले चासोका साथ हेर्नु पर्ने देखिन्छ। ‘मजदुरीका लगि बाहिरी जिल्ला गएका बालबालिकालाई बिद्यालयको पहुचसम्म ल्याउनका लागि थप योजना बनाउनु पर्ने देखिएको छ।’ रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले भने ‘होलरी नाकाबाट दैनिक भित्रिने दर्जनौ मध्य बालबालिकाको संख्या ठूलो छ। यो समयमा कोरोना रोकथाम, नियन्त्रण संगै उनीहरुलाई ब्यबस्थापन कसरी गर्ने भन्ने बारेमा हामीले चासो दिनु पर्नेछ।’ 

रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसीले पनि अबका दिनमा बालबालिकालाई बिद्यालय पठाउने र टिकाउने बिषयमा थप चासो दिने भन्दै उनिहरुलाई बाल श्रममा पठाउनबाट रोक्ने कार्यक्रमहरु संचालन गरिने बताए,

Published on: 22 April 2020 | Nagarik

Link

Back to list

;