s

गाउँमै रोजगारीले अडिए युवा

राजेन्द्र मानन्धर
  
दुई दशकअघिसम्म मकैबारी गाविसको मुख्य खेती मकै र कोदो थियो। विकल्पको रूपमा दाउरा लगेर चरिकोटमा बेच्नु या ज्याला मजदुरी गर्नु थियो। अधिकांशको जीवनयापन के खाऊँ, के लाउँm भन्नेमै केन्द्रित थियो। दु:खका भुमरीबीचमा थालिएको तरकारी खेतीले अहिले गाउँका करिब ५० परिवारको जीवन सानदार ढंगले चलेको छ। 
 
जताततै विदेशमा श्रम गर्न जाने लहर चलिरहेका बेला मकैबारी गाउँका युवाले भने गाउँ छाडेका छैनन्। विदेश गएकाहरू फर्किएर व्यावसायिक तरकारी खेतीमा जुटेका छन्। ‘यहाँका कुनै पनि युवा विदेशमा छैनन्’, गाउँका अगुवा कृषक शेरबहादुर तमाङले भने।
 
युवाले  बाबुबाजेले गर्दै आएको परम्परागत मकैखेती प्रणाली त्यागेर व्यावसायिक तरकारी खेती सुरु गरेका छन्। नयाँ ढंगले जमिन उपयोग गर्दा अपत्यारिलो आम्दानी भएको थाहा पाएर विदेश होमिएका सबै युवा गाउँ फर्किएर कृषिमा रम्न थालेका हुन्। जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत रामदुलाल साहका अनुसार छोटो समयमा मकैबारी जिल्लाकै उत्कृष्ट व्यावसायिक तरकारी खेती हुने गाउँमा दरिएको छ।
 
यस वर्ष रायोको साग मात्र बेचेर ३ लाख कमाइ गरेको चन्द्र तमाङले सुनाए। विदेशमा श्रम गर्न गएका ५ जना पेमा, ज्ञानु, विजय, रामबहादुर तमाङ र रामजी राउत गाउँमा फस्टाएको ‘तरकारी खेती क्रान्ति’ मा सामेल भएका छन्। करिब ५० परिवार आबद्ध मकैबारी ताजा तरकारी उत्पादक किसान समूहभित्रको आम्दानीको हिसाब गर्दै युवा कृषक कृष्ण तामाङ थप्छन्, ‘केही लाख बैंक खातामा छ, छोराछोरी चरिकोट वा राजधानीका स्कुलमा पढ्छन्। केहीले बेलायत पढ्न पठाएका छन्। अधिकांशका घरमा मोटरसाइकल छन्। आवश्यक ठानिने टीभी, राम्रा फोन र अन्य सामग्रीहरूको व्यवस्था छ।’
 
विदेशबाट हन्डर खाएर फर्किएका पेमा तमाङले तरकारी खेतीका अतिरिक्त बंगुर र कुखुरा पनि पालन गरेका छन्। उनले भने, ‘पहिला मजदुरी गर्न बिदेसिएँ, अहिले गाउँकै कमाइले छोरी बेलायतमा पढाउँदै छु।’
 
Published on: 18 September 2016 | Kantipur

Back to list

;